News Summary
Generated by OK AI. Editorially reviewed.- नारायणी नदीको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा नेपाल–भारत सीमा मानिएको सिमलको रुख बगाएको छ।
- सुस्ता बचाउन सरकारले थालेको १ सय ३२ मिटर तटबन्ध निर्माणमा भारतीय एसएसबीले अवरोध गर्दा दुई महिनादेखि काम रोकिएको स्थानीयले बताएका छन्।
- सुस्तावासी र गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले स्थायी सीमा स्तम्भ तत्काल राख्न संघीय सरकारसँग माग गरेका छन्।
१८ भदौ,बुटवल । नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नेपाल–भारतको सीमा छुट्याउने सिमलको रुख बगाएको छ ।
सुस्ता गाउँलाई बाढीबाट जोगाउन नारायणी नदीमा सरकारले १ सय ३२ मिटर तटबन्ध निर्माण थालेकामा भारतीय एसएसबीले अवरोध गरेका कारण दुई महिनादेखि काम रोकिँदा सोही क्षेत्रबाट बाढी पसेको स्थानीयले बताएका छन् ।
सुस्ता–५ का वडा सदस्य समेत रहेका सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खानले बुधबार राति आएको बाढीले सीमा स्तम्भ मान्दै आइएको सिमलको रुख बगाएको जानकारी दिए ।
नारायणी नदी पारी थारू टोलमा रहेको यो रुखलाई नेपाल र भारतका जिल्लास्तरका सुरक्षा प्रमुख र स्थानीयको सहभागितामा १८ वर्षअघि २०६५ सालमा सीमा स्तम्भको रूपमा मान्ने सहमति भएको थियो ।
बाढीले यो सिमलको रुख बगाएपछि सुस्तावासीले स्थायी सीमा स्तम्भ तत्काल राख्नुपर्ने माग गरेका छन् ।
सुस्तामा स्थायी सीमा स्तम्भ नहुँदा भारतीय पक्षले पटक-पटक विवाद गर्दै आएकोले स्थायी सीमा स्तम्भ तत्काल राख्नुपर्ने सुस्ता गाउंपालिका अध्यक्ष टेकनारायण उपाध्यायले संघीय सरकारसँग माग गरे ।
‘स्थायी सीमा स्तम्भ नभएकै कारण भारतीय पक्षले पटक पटक नेपाली भूमि अतिक्रमण गर्ने र विवाद निम्त्याउने गरेको छ,’ अध्यक्ष उपाध्यायले भने ।
दुई दिन अघि आएको बाढीका कारण सुस्ताको थारू टोलामा समेत पानी पसेर २० बिघा क्षेत्रफलमा लगाइएको उखु खेतीमा क्षति पुराएको थियो ।
सीमा विवाद रहेको सुस्ता ५ मा २२० घरधुरीका १४ सय ५७ घरपरिवारको बसोबास छ ।
प्रधानमन्त्री बालेन शाहले संसद्को रोष्ट्रमबाट नेपालले भारतको सीमा थुप्रै ठाउँमा मिचेको अभिव्यक्ति दिएपछि सुस्ताको सीमा विवादमा भारतीय पक्षलाई बल पुगेको उपाध्यायले बताए ।
प्रतिक्रिया 4