१८ भदौ, डोटी । जोरायल गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ३३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३३ लाख २८ हजार ६४१ रुपैयाँ सहयोग गर्ने गाउँपालिकाले निर्णय गरेको हो ।
सो रकम गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन कोषबाट दुई लाख ५५ हजार ५५५ रुपैयाँ, गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिको १५ दिन बराबरको सेवा सुविधाबाट हुन आउने दुई लाख ७ हजार ९५२ रुपैयाँ, गाउँपालिकाका अधिकृतस्तरका कर्मचारीले ७ दिन, सहायकस्तरका कर्मचारीले ५ दिन, श्रेणीविहीन कर्मचारीले २ दिनको तलब बराबरको ७ लाख ६० हजार ८४२ रुपैयाँ, शिक्षक तथा विद्यालय कर्मचारीको तलबबाट २१ लाख ४ हजार २९३ रुपैयाँ गरेर जुटाइने गाउँपालिकाले जनाएको छ ।
यसरी कुल ३३ लाख २८ हजार ६४१ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा हुने गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।
प्रतिक्रिया 4