+
+
Shares

रसुवा बाढी : बेपत्ता मामा-भाञ्जा फर्कने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

मनसरोवर यात्रीको गाइडको रूपमा पहिले पनि काम गरेका कारण अनोज घरमा बस्नुभन्दा आमाको उपचार खर्च जुट्ने आशाका साथ मामा सोमनाथसँगै मानसरोवर यात्रामा गएका थिए ।

हरि अधिकारी हरि अधिकारी
२०८३ भदौ १९ गते १८:१२

१९ भदौ, विराटनगर । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा र मेडिकल जाँच उत्तीर्ण गरेका उनी वेटिङ लिस्टमा थिए ।

घरमा क्यान्सरबाट बिरामी आमाको उपचार गर्ने दायित्व उनीमाथि पनि थियो । भिसाको टुङ्गो नभएपछि उनी मामा सोमनाथ कट्टेलसँग मानसरोवर यात्रामा निस्किए ।

सोमनाथ मानसरोवर यात्रा गराउने  ‘सम्राट टुर एन्ड ट्राभल्स’का म्यानेजर हुन् ।

मनसरोवर यात्रीको गाइडको रूपमा पहिले पनि काम गरेका कारण अनोज घरमा बस्नुभन्दा आमाको उपचार खर्च जुट्ने आशाका साथ मामा सोमनाथसँगै मानसरोवर यात्रामा गएका थिए ।

तर, भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि भने दुवै मामा-भाञ्जा बेपत्ता छन् ।

अनोजका सानोबुबा राजन घिमिरेका अनुसार भौतिक शरीर नभेटिए पनि परिवारले जिउँदो भेट्ने आश मारिसकेको छ । शुक्रबार कुशको शव बनाएर अनोजको अन्त्येष्टि गरिएको छ ।

सोधीखोजी गर्दा अनोज सकुशल छन् भन्ने आशा बाँकी नरहेको राजनले बताए । ‘मामा–भाञ्जा सवार गाडीबाट कोही निस्कन पाएनन् रे ! बाढीमा परेको गाडीसमेत भेटिएको छैन,’ उनले भने, ‘पर्खँदा परिवारलाई धेरै पीडा भयो, फर्कने आश मरेपछि कुशको शव बनाएर आज अन्त्येष्टि गर्‍यौं ।’

लक्ष्मीमार्गस्थित केसलिया घाटमा हिन्दू परम्पराअनुसार अनोजको अन्तिम संस्कार गरिएको छ ।

अनोजका मामा सोमनाथको पनि तीन दिनअघि मात्रै विराटनगरमा कुशकै शव बनाएर अन्त्येष्टि गरिएको थियो । मामा–भञ्जा बेपत्ता भएका कारण परिवार नै शोकमा रहेको अनोजका सानोबुबा राजन बताउँछन् ।

उनका अनुसार अनोजका लागि कैलाश–मानसरोवरको यात्रा गाइडको जागिर मात्रै थिएन्, क्यान्सर रोगसँग लडिरहेकी आमा नैनकलाको उपचार खर्च जुटाउने दरिलो विकल्प थियो ।

‘२२ दिनको यात्राबाट राम्रै आम्दानी हुन्छ होला भन्थ्यो । त्यसले आमाको उपचार खर्च पनि ठिकठाक जुट्छ भन्थ्यो । अहिले आफै रहेन,’ राजनले भने ।

अनोजका दाजु निजी स्कुलमा पढाउँछन् । त्यसले आमाको उपचारका लागि पर्याप्त रकम जुट्न कठिन हुन्छ । अनोजको यो अवस्थापछि परिवारमा अब बिरामी आमाको उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता छ ।

भदौ १० गतेको सोही विपद्मा परेर कोशी प्रदेशका १६० जना बेपत्ता छन् । मोरङबाट अनोज र उनका मामा सोमनाथसँगै १८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?