News Summary
Generated by OK AI. Editorially reviewed.- ग्रेटा थनवर्गले भिडियोमार्फत नेपालका पक्षमा अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्याय र क्षतिपूर्तिको माग गरेकी छन्।
- उनले नेपाललाई दिइने सहयोगलाई सहायता वा उदारता नभई जलवायु ऋणका रूपमा बुझ्नुपर्ने बताइन्।
- थनवर्गले नेपालजस्ता देशको आवाज निर्णय प्रक्रियामा सुनिश्चित गर्न र विकसित देशलाई जिम्मेवारी पूरा गर्न आग्रह गरिन्।
१९ भदौ काठमाडौं । विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनवर्गले जलवायु परिवर्तनका कारण विपद्को सामना गरिरहेको उल्लेख गर्दै नेपालका पक्षमा अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग गरेकी छन्।
भिडियोमार्फत अपिल गर्दै थनवर्गले नेपाललाई दिइने सहयोगलाई ‘सहायता’ वा ‘उदारता’का रूपमा नभई जलवायु क्षतिपूर्तिका रूपमा बुझ्नुपर्ने बताएकी छन् ।
उनका अनुसार विकसित मुलुकहरूले जलवायु परिवर्तनबाट सिर्जित क्षतिको जिम्मेवारी लिँदै नेपालजस्ता देशलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ।
‘नेपाललाई दिइनुपर्ने रकम सहायता होइन, जलवायु ऋण हो,’ थनवर्गले भनेकी छन्। जलवायु संकटबाट भएको क्षतिको बदलामा दिइने रकमलाई विकसित देशहरूले आफ्नो इच्छाअनुसार दिने वा नदिने उपहारका रूपमा हेर्न नहुने उनको भनाइ छ।
थनवर्गले अन्तर्राष्ट्रिय जलवायु सम्मेलनहरूमा नेपालजस्ता देशको चर्चा हुने गरे पनि निर्णय प्रक्रियामा उनीहरूको आवाज पर्याप्त रूपमा नसुनिएको बताएकी छन्।
नेपाललाई अरू कसैको प्रस्तुतीकरणमा ‘केस स्टडी’का रूपमा मात्र प्रस्तुत गर्ने होइन, निर्णय हुने ठाउँमै नेपालको आवाज सुनिश्चित गर्न आवश्यक रहेको उनले उल्लेख गरेकी छन् ।
नेपालमा भइरहेको मानवीय क्षति र जनजीविकामा परेको असरलाई बेवास्ता गर्न नहुने भन्दै उनले आफू र विश्वव्यापी जलवायु न्याय आन्दोलन नेपालका जनतासँग उभिने घोषणा गरिन् ।
उनले नेपालका साथै संकटबाट प्रभावित समुदायप्रति पनि ऐक्यबद्धता व्यक्त गरेकी छन्।
थनवर्गले नेपालले जलवायु संकट सिर्जना गर्नमा नगण्य भूमिका खेले पनि त्यसको असर भोग्दै आएको उल्लेख गर्दै विकसित विश्वलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेकी छन्।
‘यो नेपालले विश्वलाई आफूले सिर्जना नगरेको समस्याको सफाइ गरिदिन आग्रह गरेको होइन,’ उनको अपिल छ, ‘नेपालले आफ्नो तर्फबाट ठूलो जिम्मेवारी पूरा गरिसकेको छ र उसले आफूले नबनाएको समस्याको सामना गरिरहेको छ।’
उनले ‘नेपालका लागि न्याय’ माग गर्दै विश्व समुदायलाई जलवायु संकटको जिम्मेवारी र क्षतिपूर्तिको प्रश्नलाई गम्भीरतापूर्वक लिन आह्वान गरेकी छन्।
प्रतिक्रिया 4