२१ भदौ, बैतडी । दार्चुलाको लेकम गाउँपालिका–५ मैखोलीमा जन्मिएकी चन्द्रिका जोशी पेसाले शिक्षक हुन् । तर उनी सुदूरपश्चिमको संस्कृति चिनाउने अभियानमा जुटेकी छिन् ।
उनी सुदूरपश्चिमको मौलिक गौरा पर्वमा गाइने ‘सगुना फाग’ गाउँछिन् र सामाजिक सञ्जालमा पोस्ट गर्छिन् । आफूले सामाजिक सञ्जालमार्फत नै सुदूरपश्चिमको संस्कृति र महत्वसँग जोडिएको सगुना फाग सबैमाझ पुर्याइरहेको उनी बताउँछिन् ।
सगुना फाग भनेको सुदूरपश्चिममा धार्मिक तथा मांगलिक कार्यहरूमा गाइने परम्परागत लोकगीत हो । यसमा धार्मिक भावना र भगवानको स्तुति बढी हुने गरेको छ ।
सुदूरपश्चिममा नयाँ पुस्ताले सिक्न हिच्किचाउने, लाज मान्ने र पुराना पुस्ताले सिकाउने प्रयत्न नगर्दा सुदूरपश्चिमको मांगलिक अवसरमा गाइने सगुना र फागहरू लोप हुने अवस्थामा पुगेका छन् ।
२४ वर्षीया चन्द्रिका विज्ञान विषयकी शिक्षक हुन् । दार्चुलाको लेकममा जन्मिएकी चन्द्रिका अहिले रामेछापको पटनादेवी माविमा पढाउँछिन् ।
भौगोलिक रूपमा सुदूरपश्चिमबाट टाढा भए पनि सामाजिक सञ्जाल फेसबुकमा चन्द्रिका नामक फेसबुक आईडीबाट नियमित सांस्कृतिक सगुना र फाग प्रस्तुत गरिरहेकी छन् ।
चन्द्रिकाले गौरा सुरु हुने दिन पञ्चमीदेखि विसर्जन गरिँदासम्मका छुट्टाछुट्टै अंशहरू प्रस्तुत गर्ने गरेकी छन् ।

पछिल्लो समयमा युवा पुस्ताले सस्कृति बिर्संदै गइरहेको महसुस भएपछि आफू सामाजिक सञ्जालको माध्यमबाट संस्कृति बचाउने अभियान सञ्चालन गरिरहेको चन्द्रिका बताउँछिन् । ‘मैले हजुरआमा र आमाबाट सुदूरपश्चिममा शुभकार्यमा गाइने सबै प्रकारका सगुन र फागहरू सिकेकी हुँ । पछिल्लो समयमा युवापुस्ताले संस्कृति बिर्संदै गएको महसुस गरें । त्यसैले अभियान नै सञ्चालन गरेर सगुना र फागहरू सामाजिक सञ्जालमा नियमित प्रस्तुत गर्ने गर्छु,’ चन्द्रिकाले भनिन् ।
सानै उमेरमा चन्द्रिकाले सगुना फाग सिकेकी थिइन् । हजुरआमा कौशिलादेवी जोशी शुभ कार्यमा गाइने फाग र सगुनामा दखल राख्थिन् । चन्द्रिकाकी आमा अमतादेवीले सगुन फाग लगायतका सांस्कृतिक ज्ञान कौशिलादेवीबाट सिकिन् ।
हजुरआमा र आमाबाटै चन्द्रिकाले सुदूरपश्चिमको मौलिक संस्कृति जोगिएका सगुना फाग गाएर धेरैको मन जितेकी छिन् । उनका बुवा हरिदत्त जोशी पनि ज्योतिषाचार्य थिए । बुवाबाट पनि धेरै जानकारी हासिल गरेको चन्द्रिका सुनाउँछिन् ।
उनले करिब दुई महिनादेखि सामाजिक सञ्जालमा गौरा पर्वमा गाइने सगुन फाग राख्दै आएकी छिन् । सुदूरपश्चिमको मांगलिक कार्यमा गाइने सगुना फाग समेटेर पुस्तक नै लेख्ने तयारी गरेको चन्द्रिका बताउँछिन् ।
सांस्कृतिक अगुवा कलशा महरा चन्द्रिकाले नयाँ पुस्तालाई संस्कृति संरक्षणको बाटोमा अग्रसर हुन प्रेरणा दिइरहेको बताउँछिन् । उनी भन्छिन्, ‘सुदूरको संस्कृतिलाई फराकिलो बनाउन योगदान दिने युवाको रूपमा चन्द्रिकालाई हेरेको छु ।’
प्रतिक्रिया 4