+
+
Shares

महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ : रमेश लेखक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १५:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता रमेश लेखकले महाधिवेशनको प्रक्रिया तत्काल नरोके पार्टी विभाजन हुनबाट कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन्।
  • कञ्चनपुरमा लेखकले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने बताएका छन्।
  • सभापति गगन थापा नेतृत्वले असोज १६-१९ गते १५औँ महाधिवेशन तोकेको छ भने इतर समूहले मंसिरमा गर्नुपर्ने प्रस्ताव गर्दै आएको छ।

२१ भदौ, कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन्। कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए।

उनले विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले अहिलेको समस्या सिर्जना भएको दाबी गरे। विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने उनको भनाइ छ।

लेखकले पार्टी सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको भन्दै १४ औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको बताए। त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने चिन्ता भए आफ्नो पक्षबाट आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सक्ने विकल्पसमेत आफूहरूले दिएको उनको भनाइ छ।

निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न तथा आफ्नो बहुमत राख्न सक्ने भए पनि अन्य समूहबाट एक–एक जना प्रतिनिधि राख्नुपर्ने आफूहरूको प्रस्ताव रहेको लेखकले बताए ।

‘हामीले गगन जीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,’ उनले भने । उनले पार्टी मिल्ने सम्भावना अझै रहेको पनि उल्लेख गरे।

उनले भने, ‘अहिले पनि उपाय छ । आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ । यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ ।’

अदालतको फैसला कुरेर अघि बढ्नुपर्ने धारणा पनि लेखकले राखे ।

आधिकारिकता सम्बन्धी मुख्य मुद्दा अझै विचाराधीन रहेकाले अदालतको कुनै एउटा फैसला आफ्नो पक्षमा आएको भन्दै त्यसलाई सम्पूर्ण विवादको समाधानका रूपमा लिन नहुने उनको भनाइ थियो । लेखकले पार्टी विभाजन भए त्यसको जिम्मेवारी महाधिवेशनको प्रक्रिया सुरु गर्ने पक्षले लिनुपर्ने चेतावनीसमेत दिए ।

सभापति गगन थापा नेतृत्वले आगामी असोज १६-१९ गते पार्टीको १५औं महाधिवेशनको मिति तोकेको छ। तर संस्थापन इतर समूहले भने यसलाई स्वीकार गर्न नसकिने भन्दै महाधिवेशन मंसिरमा गर्नुपर्ने प्रस्ताव गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?