News Summary
Generated by OK AI. Editorially reviewed.- बहादुरसिंह लामाले भदौ १० को बाढी र पहिरोले नुवाकोट, रसुवा, धादिङ र चितवनमा अपूरणीय क्षति पुगेको कार्यसम्पादन समितिको बैठकमा ब्रिफिङ गरे।
- लामाले ४१ वटा पुल बगेकाले सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको र युद्धस्तरमा उद्धार, राहत र पुनर्स्थापना अघि बढाउन सरकार र पार्टीको ध्यानाकर्षण गराए।
- उनले ५ वटा तुइनको व्यवस्था, देवीघाटमा ५५ मिटर बेलिब्रिज अन्तिम चरणमा पुगेको र निर्माण व्यवसायी महासंघले १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए।
२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण नुवाकोट, रसुवा, धादिङ र चितवनमा अपूरणीय क्षति पुगेकोबारे पार्टीमा ब्रिफिङ गरेका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता लामाले विपद्ग्रस्त क्षेत्रमा युद्धस्तरमा उद्धार, राहत र पुनर्स्थापनाका कार्य अगाडि बढाउन सरकार र पार्टीको ध्यानाकर्षण गराएका हुन् ।
नेता लामाका अनुसार प्राकृतिक विपत्तिका कारण ठूलो संख्यामा मानवीय क्षति भएको छ भने धेरै मानिस अझै बेपत्ता छन् ।
बाढीले गोसाईंकुण्ड र मानसरोवर जाने तीर्थयात्री, भन्सारका कर्मचारी, सवारी चालक तथा जलविद्युत आयोजनामा कार्यरत श्रमिकहरूलाई प्रत्यक्ष असर पुर्याएको छ ।
विपद्का कारण ४१ वटा पुलहरू बगेकाले सो क्षेत्रको सडक सञ्जाल (कनेक्टिभिटी) पूर्ण रूपमा विच्छेद भएको लामाले जानकारी दिए ।
‘पहिले २७ मिनेटमा पुगिने ठाउँमा अहिले ११ घण्टा लाग्ने अवस्था छ । धादिङको फोस्रेटार जोड्ने एउटा पुलबाहेक अन्य सबै संरचना ध्वस्त भएका छन् । अभिभावक गुमाएका टुहुरा बालबालिका र विस्थापित परिवारको सही तथ्यांक संकलन गरी उनीहरूको व्यवस्थापन गर्नु आजको मुख्य चुनौती हो,’ उनले भने ।
बाढीले जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्याउनुका साथै कतिपय मानिसहरू सुरुङभित्रै फसिरहेको र घरबारविहीन भएको उनले उल्लेख गरे ।
तत्कालको समस्या समाधानका लागि प्रदेश सरकारसँगको समन्वयमा पाँचवटा तुइनको व्यवस्था गरिएको र देवीघाटमा ५५ मिटरको बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए ।
साथै, निर्माण व्यवसायी महासंघले एक करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको र त्रिशूलीमा झोलुङ्गे पुल निर्माणको काम शुरु भइसकेको पनि उनले उल्लेख गरे ।
प्रतिक्रिया 4