+

एसियाडमा जुडो : दिदीको साथमा बहिनी, दाइको साथमा भाइ

२०८३ भदौ  २१ गते २०:२६ २०८३ भदौ २१ गते २०:२६

जुडो खेलाडी देवकीमाया श्रेष्ठ आफ्नी बहिनी निशा श्रेष्ठलाई साथ लिएर एसियाडको यात्रा तय गर्दै छिन् भने दाजु–भाइ विकास र विशेष विकको जोडी पनि सहभागी हुँदैछ ।

२१ भदौ, काठमाडौं । जुडो खेलाडी देवकीमाया श्रेष्ठ २०औं एसियन गेम्स (एसियाड) मा नेपालको प्रतिनिधित्व गर्दैछिन् । १९औं एसियाडमा दाइ इन्द्रबहादुर श्रेष्ठसँगै मैदानमा उत्रिएकी देवकी यसपटक भने आफ्नी बहिनी निशा श्रेष्ठलाई साथ लिएर एसियाडको यात्रा तय गर्दैछिन् ।

अघिल्लो संस्करणमा दाइको हात समातेर एसियाडमा पुगेकी देवकी सामु यसपटक बहिनीलाई पनि त्यही यात्रामा डोर्‍याउने जिम्मेवारी छ । देवकीले ५२ केजीमुनि तथा निशाले ४८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

‘अरू पार्टनरसँग खेल्दा कतै न कतै डाउट हुन्छ । तर बहिनीसँग खेल्दा एकदमै खुसी लाग्छ । उसलाई पनि आफूसँगै एसियन गेममा लिएर जाँदैछु । यसका लागि मलाई एकदमै प्राउड फिल हुन्छ,’ देवकी भन्छिन् ।

देवकी, उनका दाइ इन्द्रबहादुर र बहिनी निशाको जुडो यात्रा काठमाडौंको रानीवनस्थित बन्दी सहायता नियोग (पाम) बाट सुरु भएको हो । बुवा जेल चलान भएपछि र आमाले दोस्रो विवाह गरेपछि उनीहरू बाल्यकालमै पाम पुगेका थिए । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-७ घुमथाङका यी दाजुबहिनी अहिले भने देशलाई विश्वसामु प्रतिनिधित्व गर्ने अवस्थामा पुगेका छन् ।

देवकीले बहिनीलाई हरेक कुरामा सहयोग गर्दै आएकी छिन् । उनका लागि अहिले भूमिकासमेत फेरिएको छ । ‘अघिल्लो पटक म आफ्नै दाइसँग खेलेको थिएँ । त्यतिबेला मलाई मेरो दाइले डोर्‍याउनुभएको थियो । अहिले चाहिँ बहिनीलाई आफूसँग लिएर गइरहेको छु,’ उनी भन्छिन्, ‘उसलाई कतै कमजोरी भयो भने म हेल्प गर्छु । उसको टेक्निकदेखि हरेक कुरामा सहयोग गर्दैछु ।’

अरू पार्टनरको तुलनामा आफ्नै बहिनीसँग खुलेर खेल्न सकिने देवकी बताउँछिन् । ‘मैले एउटा साथी पनि पाएको छु । जुडो खेल्न पार्टनर चाहिन्छ । त्यो पार्टनरमा मैले आफ्नै बहिनी पाएको छु,’ उनी भन्छिन्, ‘उसँग ट्रेनिङ गर्दा होस् वा स्पाइरिङ गर्दा म एकदम खुलेर खेल्न सक्छु ।’

बहिनी निशाको अनुभव पनि उस्तै छ । आफ्नै दिदीसँग एसियाडमा सहभागी हुन पाउँदा उनी उत्साहित छिन् । ‘आफ्नै दिदीसँग एसियन गेममा जाँदैछु । दिदीसँग खेल्दा गलत गरिरहेको ठाउँमा उहाँले सुधारिदिनु भएको छ । के गलत हो, के गर्नुपर्छ, के गर्नु हुँदैन, कसरी गर्नुपर्छ भनेर आफूसँगै हात जोडेर लिएर गइरहनुभएको छ,’ निशा भन्छिन् ।

यसपटक जुडोबाट नेपाललाई पदक दिलाउने लक्ष्य देवकीको छ । ‘गुरुहरूले मेडलकै लागि भनेर दिनरात नभनी हामीलाई प्रशिक्षण गराइरहनुभएको छ । आफूलाई विश्वास गरेर ट्रेनिङ गर्‍यौँ भने अवश्य त्यो लक्ष्य हासिल गर्न सक्छौँ,’ उनी भन्छिन् ।

निशाको लक्ष्य पनि उस्तै छ । ‘गुरुले ट्रेनिङ गराइरहनुभएको छ, कमीकमजोरीहरू बताइरहनुभएको छ । त्यसलाई मध्यनजर गरेर टेक्निकमा सुधार गर्ने, पावरमा इम्प्रुभ गर्ने काम गरिरहेका छौँ । राम्रो पदकको आशा गरेको छु,’ उनी भन्छिन् ।

निशा हरेक खेललाई फाइनल सरह लिएर खेल्ने बताउँछिन् । ‘पहिलो म्याचलाई नै अन्तिम म्याच मानेर खेल्नुपर्छ । त्यो म्याच जित्न सकेनौँ भने अगाडि बढ्न सकिँदैन । त्यसैले पहिलो म्याचलाई नै अन्तिम ठानेर शतप्रतिशत दिएर खेल्छु,’ उनी भन्छिन् ।

दुई बहिनी र एक दाइको जुडो यात्रा पामबाट सुरु भएको हो । देवकी आफू जुडो खेलाडी बन्नुको प्रेरणा आफ्नै दाइ इन्द्रबहादुरबाट पाएको बताउँछिन् । ‘म मोटिभेसन भएको आफ्नै दाइबाट हो,’ उनी भन्छिन् ।

जुडोको अर्को जोडी पनि छ- दाजुभाइ विकास र विशेष ।

विकास विक र विशेष विकको बाल्यकाल भारतमा बित्यो । विकास सानैदेखि कराँते खेल्थे । कक्षा १० पछि भने उनले कराँतेलाई निरन्तरता दिन सकेनन् । ओलम्पिकसम्म पुग्न सकिने अर्को खेलको खोजीमा रहेका बेला जुडोको ट्रायल भइरहेको थाहा पाएपछि उनी त्यसमा सहभागी भए ।

‘ओलम्पिक स्पोट्र्स हेरिरहेको थिएँ । जुडोको ट्रायल ओपन थियो । गएर ट्रायलमा आफ्नो बेस्ट दिएँ । मेरिट लिस्टमा नाम आयो । त्यहीँबाट मेरो जुडोको जर्नी स्टार्ट भयो,’ उनी सम्झिन्छन् ।

विकास आफू मात्र खेलेनन्, भाइ विशेषलाई पनि जुडोमा ल्याए । ‘एक-दुई महिनापछि मैले भाइलाई पनि त्यहीँ स्कलरसिपमा आबद्ध गराएँ । भाइले पनि ट्रायल दिएर मेरिट लिस्टमा नाम निकाल्यो । त्यहीँबाट उसको जुडो करिअर सुरु भयो,’ उनी भन्छन् ।

अहिले यी दाजुभाइ २०औं एसियाडको तयारीमा छन् । दुवैले नेपालको प्रतिनिधित्व गर्ने छन् । सँगै प्रशिक्षण गर्दा एकअर्कालाई सहज हुने उनीहरू बताउँछन् । दाइ विकास विशेषका लागि पार्टनर मात्र होइनन्, मेन्टर पनि हुन् । प्राविधिक पक्षमा समेत उनले भाइलाई निरन्तर सहयोग गर्दै आएका छन् ।

‘खेल्दा घाइते हुने सम्भावना हुन्छ । सबै पार्टनर एउटै हुँदैनन् । आफ्नै भाइ भएपछि अलि टेन्सन हुँदैन । उसले पनि बेस्ट दिन्छ, मैले पनि बेस्ट दिन्छु,’ विकास भन्छन्, ‘आफूलाई मिल्ने पार्टनर भएकोले दुवैलाई सजिलो भएको छ ।’

विशेषका लागि भने दाइ पार्टनरभन्दा पनि गुरु हुन् । ‘दाइ हुँदा सबैभन्दा फाइदा के हो भने म गलत गरिरहेको छु भने उहाँले डिटेलमा सिकाइहाल्नु हुन्छ । अरूसँग सोध्दा उसले १० चोटि, २० चोटि भनिसकेपछि कुनै समयमा रिसाउन सक्छ । तर दाइसँग जति पटक सोधे पनि हुन्छ,’ विशेष भन्छन् ।

विशेषको लक्ष्य एसियाडबाट स्वर्ण पदक जित्नु हो । ‘दाइ खेलेको हेर्दा म पनि कहिले जाऊँ भन्ने सोचिरहेको थिएँ । आज फाइनली मेरो पालो आइसक्यो । आशा त मेरो गोल्डकै छ । गोल्ड लिएर नै आउने हो । त्यसका लागि तयारी गरिरहेका छौँ,’ उनी भन्छन् ।

विकासले १९औं एसियाड पनि खेलेका थिए । त्यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । पहिलो अनुभवबाट सिकेका कमजोरीलाई यस पटक सुधार्ने उनको लक्ष्य छ । ‘त्यहाँबाट मैले धेरै कुरा सिकेँ । फोकस कसरी रहने, गेम प्लान कसरी गर्ने, कसरी खेल्ने भन्ने सिकेँ । अहिलेसम्म दुई वटा इन्टरनेसनल गेम खेलिसकेको छु । अहिले अलि कन्फिडेन्ट छु । अब हामी राम्रो गर्नेछौँ,’ उनी भन्छन् ।

उनको लक्ष्य पनि स्वर्णमै छ । ‘म गोल्डकै आशा लिएर जान्छु । ट्रेनिङ पनि गोल्डकै सोचेर गरिरहेको छु । आफ्नो बेस्ट दिन्छु र गोल्डका लागि कोसिस गर्छु,’ विकास भन्छन् ।

६ खेलाडी, एउटै लक्ष्य

यस पटक नेपालबाट जुडोमा ६ खेलाडीले एसियाडमा सहभागिता जनाउँदै छन् । देवकी, निशा, विकास र विशेषसँगै सुजन गुरुङ र पुनम श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्ने छन् । सुजनले ९० केजीमुनि तथा पुनमले ७० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली सेनामा आबद्ध सुजन जागिरपछि जुडोतर्फ लागेका हुन् । छोटो समयमै राष्ट्रिय टोलीसम्म पुगेर देशको प्रतिनिधित्व गर्न पाउँदा उनी गर्व महसुस गर्छन् । ‘जागिर खाएर जुडो सिकेँ । जुडोमै केही गर्छु भनेर लागिपरेँ । अहिले यहाँसम्म आएर राष्ट्रिय टोलीमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई नै निकै प्राउड फिल हुन्छ,’ उनी भन्छन् ।

एसियाडमा पदकको खडेरी तोड्ने लक्ष्यमा रहेको सुजन बताउँछन् । ‘एसियाडमा पदकको खडेरी तोड्न हामी निरन्तर लागिरहेका छौँ । आफूलाई दिनदिनै बेटर बनाउँदै जाँदा नै राम्रो रिजल्ट पाउने हो । हामी पनि त्यसकै आशमा गरिरहेका छौँ,’ उनी भन्छन् ।

पुनम भने तेस्रो पटक एसियाडमा सहभागी हुँदै छिन् । यस पटक अघिल्ला संस्करणभन्दा राम्रो नतिजा ल्याउने उनको विश्वास छ । ‘पहिलाको भन्दा राम्रो रिजल्ट लिएर आउँछु भन्ने आशा लागेको छ,’ उनी भन्छिन्, ‘अहिले हाम्रो ट्रेनिङमा पहिला प्लेयर हुनुभएको कोच आउनुभएको छ । त्यसले हामीलाई केही फाइदा भएको छ ।’

एक्सपोजरको अभाव, पदकको विश्वास

मिसन २०२६ अन्तर्गत साढे दुई वर्षअघिदेखि तयारीमा रहेको जुडो टोलीले दैनिक ४ घन्टा अभ्यास गर्छन् । जुडो टोलीको प्रशिक्षणको जिम्मेवारी पूर्वखेलाडी सुनिता मगर ताम्राकारले सम्हालिरहेकी छन् । उनी यस पटक जुडोबाट पदक आउनेमा आशावादी छिन् ।

‘लक्ष्य मेडलकै लागि हो । एसियन गेममा अहिलेसम्म जुडोबाट पदक आएको छैन । तर यसपालि केही गर्छौँ भन्ने विश्वास छ ।’

एसियाली स्तरमा प्रतिस्पर्धा गर्न नेपाली खेलाडीले पर्याप्त अन्तर्राष्ट्रिय एक्सपोजर नपाएको उनको अनुभव छ । ‘सागमा हामीले पदक जितिरहेकै हुन्छौँ । तर एसिया लेभलमा अलिकति पुग्न सकिरहेका हुँदैनौँ । किनभने, बाहिर एक्सपोजर धेरै भएन । गेमहरू पनि धेरै छैनन् । बाहिर इन्टरनेसनल गेम खेल्न पनि पाइरहेका छैनौँ,’ उनी भन्छिन् ।

नेपालमा दुई वर्षमा जम्मा तीन वटा मात्र जुडो प्रतियोगिता हुने अवस्था रहेको भन्दै उनले थपिन्, ‘यही विडम्बना छ ।’ स्रोत अभावकै कारण वैदेशिक प्रशिक्षणमा जान नसकेको प्रशिक्षक मगर बताउँछिन् ।

२०औं एसियन गेम्स जुडो जुडो खेलाडी
लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय