+
+
Shares

वीरेन्द्रनगरमा सञ्चालनमा आयो ‘समावेशी’ पार्क 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीरेन्द्रनगर–८ खजुरामा १ करोड ६५ लाख लागतमा समावेशी र महिलामैत्री पार्क सञ्चालनमा आएको छ ।
  • वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले सोमबार पार्क उद्घाटन गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइएको बताइन् ।
  • सिटिज फर वुमन परियोजनाअन्तर्गत निर्माण भएको पार्कमा खुला सिकाइ, योग, व्यायाम, पूजा स्थल, सिसिटिभी, सौर्य बत्ती र सार्वजनिक शौचालय राखिएको छ ।

२२ भदौ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा समावेशी र महिलामैत्री पार्क सञ्चालनमा आएको छ । वीरेन्द्रनगर–८ खजुरामा निर्माण भएको पार्कको सोमबार वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले उद्घाटन गरिन् ।

युनोप्सद्वारा सञ्चालित ‘सिटीज फर वुमेन’ (महिलामैत्री शहर) परियोजनाको ७० प्रतिशत र वीरेन्द्रनगर नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा पार्क निर्माण गरिएको हो । १ करोड ६५ लाखको लागतमा निर्मित उक्त पार्क १.४८९ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ ।

पार्कको उद्घाटन गर्दै मेयर ढकालले वीरेन्द्रनगरलाई पर्यटकीय, महिला मैत्री र छोरी हुनुमा गर्वको सहर भनेर नगर सभाबाट नै पारित गरिएको बताइन् । ‘खुल्ला र सरकारी जग्गाको संरक्षण गर्ने गर्ने प्रमुख ध्येयका साथ यो पार्क सहित अन्य विभिन्न क्षेत्रमा पनि पार्क निर्माण भइरहेका छन्’ उनले भनिन् ।

नगरले निर्माण गर्ने सबै संरचनाहरू समावेशी रूपमा निर्माण गरेको भन्दै उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइएको बताइन् । ‘यो एउटा समावेशी र महिला मैत्री पार्क हो’ उनले भनिन्, ‘यो कुनै युरोपको पार्क भन्दा कम छैन । यसको दीर्घकालीन महत्वलाई ध्यानमा राखेर निर्माण गरिएको छ ।’

उक्त पार्कको डिजाइन नै स्थानीय अगुवा, टोल विकास समिति, जनप्रतिनिधि र सरोकारवालाहरूको सुझावमा गरिएको सिटिज फर वुमन परियोजना प्रमुख नीलिमा थापा श्रेष्ठले जानकारी दिइन् । ‘हामीले निर्माणको पहिलो दिनदेखि नै कुन ठाउँमा के राख्ने ? भनेर उहाँहरूको सुझाव लिएका थियौ’ उनले भनिन्, ‘मन्दिर, पानीको धारा, शौचालय आदी उहाँहरूकै सुझाव अनुसार राखिएको हो ।’

परियोजना प्रमुख श्रेष्ठले अब पार्क सञ्चालनमा भने स्थानीय र सरोकारवालाहरू चनाखो भएर लाग्नु पर्ने बताइन् । ‘सबैले अपनत्व लिनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ । टोल, वडा र नगरपालिकाले व्यवस्थितरूपमा सञ्चालन र संरक्षणको जिम्मा लिनेमा विश्वस्त छौँ ।’

उक्त पार्क समुदायको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर निर्माण गरिएको युनोप्सका सहरी योजनाकार इन्जिनियर सुगम गौतमले जानकारी दिए । उनका अनुसार महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्राथक्तिामा राखेर सांस्कृतिक गतिविधि, खुला सिकाइ, योग तथा व्यायाम, समुदाय भेला र विश्रामका साथै समावेशी सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

पार्कमा वर्षाको पानी पुनर् भरण गर्ने, शीतलता र जैविक विविधताका लागि स्थानीय बिरुवा, प्राकृतिक सामग्री तथा सौर्य बत्ती जस्ता जलवायु उत्थानशील र वातावरणमैत्री उपायहरू समावेश गरिएको सहरी योजनाकार गौतमले बताए ।

‘सुरक्षाका लागी सिसिटिभी जडान गरिएको छ । बालबालिकाले खेल्दै रमाउन र सिक्न सक्ने वातावरण निर्माण गरिएको छ’ उनले भने, ‘धार्मिक तथा सांस्कृतिक गतिविधिका लागि पूजा स्थलको व्यवस्था छ । पार्कले विभिन्न उमेर समूहका व्यक्तिहरूलाई एउटै ठाउँमा जोड्ने अपेक्षा गरिएको छ ।’

त्रिशक्ति जेभी, सुर्खेतले पार्क निर्माणको ठेक्का लिएको १० महिनामा आयोजना सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?