News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिशूली–३ ए जलविद्युत आयोजनाको बाढी उद्धारमा ४२ जना फसेको अनुमानबीच दुई जनालाई जीवितै र एक जनाको शव भेटिएको छ।
- उद्धार टोलीले १६० मिटर केबल डक्ट सुरुङबाट करिब १३० मिटर पुगेपछि जीवित व्यक्तिको आवाज सुनेर खोजीको दिशा बदलिएको थियो।
- इन्जिनियर श्रीराम न्यौपाने र सागर ढकालले विपद् आउनुअघि नै विशेषज्ञ, उपकरण र जनशक्तिको म्यापिङ तथा नियमित आपतकालीन अभ्यास आवश्यक रहेको बताएका छन्।
त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा बाढी पसेपछि ४२ जना फसेको अनुमान थियो। सुरुङको प्रवेशद्वार नै करिब १५ मिटर लेदो, ढुंगा, गिटी र बालुवाले पुरिएको थियो। उद्धार टोलीका अगाडि सुरुङभित्र पुग्ने बाटो नै थिएन।
इन्जिनियर श्रीराम न्यौपाने र सागर ढकाल ११ भदौको रातिदेखि उद्धारको तयारीमा जुटे। १२ गते स्थलगत निरीक्षण गरेपछि उनीहरूले पावर हाउसको माथिल्लो भागमा केही व्यक्ति जीवितै रहेको हुन सक्ने अनुमान गरे। त्यससम्म पुग्ने सबैभन्दा सम्भावित बाटो १६० मिटर लामो केबल डक्ट सुरुङ थियो।
त्यो सुरुङ खोल्न १८ देखि २० हजार घनमिटर लेदो र अन्य सामग्री हटाउनुपर्यो। चार दिन २४ घण्टा काम गरेपछि प्रवेशद्वारको माथिल्लो भागसम्म पुगियो। त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीको तालिमप्राप्त उद्धार टोली अगाडि बढ्यो। पानीको फोहोरा प्रयोग गरेर लेदो हटाउँदै उद्धारकर्ता सुरुङभित्र पसे। १६० मिटरमध्ये करिब १३० मिटर पुगेपछि सुरुङभित्रबाट आवाज आयो।
‘कोही हुनुहुन्छ?’
उताबाट जवाफ आयो, ‘ठिक छ।’
त्यो क्षणले उद्धार अभियानको दिशा नै बदलिदियो। तर त्यसपछि पनि बाटोमा जालीको अवरोध आयो। एकपटक उद्धारकर्ता आफैं जोखिममा परे। केही घण्टा काम रोकियो। फेरि बाटो बनाएर अन्ततः दुई जनालाई जीवितै बाहिर निकालियो। उद्धार अभियानमा प्रत्यक्ष खटिएका सांसद तथा इन्जिनियर श्रीराम न्यौपाने र सागर ढकालसँग अनलाइनखबरका जनार्दन बरालले गरेको कुराकानीको सम्पादित अंश :
तपाईंहरू उद्धारमा कहिलेदेखि जोडिनुभयो?
न्यौपाने : भदौ १० गते त्रिशूली नदीमा आएको बाढीले जलविद्युत आयोजना र नदी किनारका बस्तीमा ठूलो क्षति पुर्यायो। त्रिशूली–३ ए मा ४२ जना सुरुङभित्र फसेको सूचना मैले ११ गते राति सागर ढकालमार्फत पाएँ।
त्यसै राति करिब ११ बजे नेपाल विद्युत् प्राधिकरणको टोलीसँग जुम बैठक भयो। त्यसमा उद्धारका सम्भावित उपायबारे छलफल भयो। मैले स्थलगत अवस्था नबुझी समाधान भन्न नसकिने बताएँ। त्यसपछि भोलिपल्ट साइटमै जाने निर्णय भयो।
१२ गते हामी बिदुरस्थित नेपाली सेनाको ब्यारेक पुग्यौँ। त्यहाँ सुरक्षा निकाय र नेपाल विद्युत् प्राधिकरणका अधिकारीसँग छलफल भयो। त्यसपछि हेलिकप्टरबाट साइट पुगेर नक्सा, ड्रइङ र त्यहाँका प्राविधिकसँग छलफल गर्यौँ।
साइट हेरेपछि सुरुङको संरचना र अवस्थाका आधारमा केही विकल्प देखिए। पावर हाउसको माथिल्लो भागमा पुगेका मानिसहरू सुरक्षित हुन सक्ने सम्भावना देखियो। त्यसैले हाम्रो मुख्य ध्यान उनीहरूसम्म पुग्ने बाटो खोज्नेतर्फ केन्द्रित भयो।
त्यहाँ पुग्ने चारवटा सम्भावित बाटा थिए। हेडवर्क्सतर्फबाट जाने बाटो धेरै लामो थियो। टेलरेसबाट जाँदा पावर हाउसको तल्लो भागमा पुगिन्थ्यो, जहाँ सबै लेदोले भरिएको थियो। एक्सेस टनेल पनि बाढी आएको दिशातर्फ ओरालो भएकाले पुरिएको थियो।
केबल डक्ट सुरुङ भने १६० मिटर लामो थियो र माथितर्फ उक्लिएको थियो। यसको माथिल्लो कम्पार्टमेन्ट पावर हाउसको माथिल्लो भागमा पुग्थ्यो। त्यसैले त्यही बाटो खोल्ने निर्णय भयो।
तर सुरुङको प्रवेशद्वार नै बगरमा परिणत भएको थियो। करिब १५ मिटर माथिसम्म ढुंगा, गिटी, बालुवा र लेदोले पुरिएको थियो। पहिले सुरुङको वास्तविक दिशा नै पत्ता लगाउनुपर्ने अवस्था थियो।
त्यसका लागि अपस्ट्रिमतर्फ ड्रिल गरेर सुरुङको एलाइनमेन्ट पत्ता लगाउने काम गर्यौँ। त्यस क्रममा आवश्यक मेसिन र उपकरण जुटाउन विभिन्न प्राविधिकबाट सहयोग आयो। १३ गते मेसिन साइटमा पुर्याएर करिब २४ मिटर माथितर्फ ड्रिल गरियो। त्यसबाट सुरुङको दिशा पुष्टि भयो।
१३ गते हामीले सुरुङको प्रवेशद्वार र दिशा पहिचान गर्यौँ। वास्तविक उत्खनन भने १४ गते बिहानबाट सुरु भयो।
उद्धारका क्रममा तपाईंहरुले बेहोरेको सबैभन्दा ठूलो चुनौती के थियो?
न्यौपाने : सबैभन्दा ठूलो चुनौती सुरुङमाथि थुप्रिएको डेब्रिज हटाउनु थियो। कुन मेसिन चाहिन्छ, कस्तो पाइप चाहिन्छ, कस्तो पम्प चाहिन्छ, कति जनशक्ति चाहिन्छ, कुन सामग्री कहाँबाट ल्याउने भन्ने सबै कुरा तत्काल व्यवस्थापन गर्नुपर्यो।
चार दिन २४ घण्टा काम भयो। करिब १८ देखि २० हजार घनमिटर सामग्री हटाएपछि सुरुङको प्रवेशद्वारको माथिल्लो भागसम्म पुग्न सकियो।
त्यसपछि करिब तीन फिटको बाटो बनाएर नेपाली सेना र सशस्त्र प्रहरीका तालिमप्राप्त उद्धारकर्मी सुरुङभित्र पस्न थाले। लेदो हटाउन पानीको फोहोरा प्रयोग गरियो। उद्धार टोली अगाडि बढ्दै गयो।
ढकाल : यो उद्धारमा एउटा अवरोध पार गरेपछि अर्को अवरोध आउँथ्यो। हरेक पटक नयाँ उपाय निकाल्नुपर्थ्यो।
उदाहरणका लागि पानीको फोहोरा प्रयोग गरेर सुरुङभित्र जाने उपाय सुरुदेखिको योजना थिएन। काम गर्दै जाँदा त्यहीँबाट त्यो उपाय निस्कियो।
३ ए मा सुरुङ माथितर्फ उक्लिएको थियो। तर चिलिमेमा अवस्था फरक छ। त्यहाँ सुरुङ ओरालो छ। त्यसैले एउटा ठाउँमा काम गरेको उपाय अर्को ठाउँमा जस्ताको तस्तै लागू हुँदैन। फिल्डको अवस्था हेरेर उपाय बदल्नुपर्छ।
हामी करिब पाँच–सात मिटरभित्र पुगेपछि एउटा निकै डरलाग्दो घटना भयो। माथिल्लो भागमा डेब्रिजको बीचमा एउटा साँघुरो बाटो बनेको थियो। त्यहीँबाट उद्धारकर्ता अगाडि बढिरहेका थिए।
अचानक माथिबाट थुप्रिएको सामग्री खस्यो र बाटो बन्द भयो। एकातिर सुरुङभित्र रहेका मानिसहरू, अर्कोतिर उद्धार गर्न गएका मानिसहरू अड्किए। उद्धार गर्न गएको मान्छेलाई नै पहिले उद्धार गर्नुपर्ने अवस्था आयो।
त्यो क्षण सबैका लागि निकै तनावपूर्ण थियो। उद्धारकर्तालाई जोखिममा राखेर अगाडि बढ्न मिल्दैनथ्यो। उनीहरूलाई बाहिर निकालेर आत्मविश्वास दिलाउनुपर्यो। फेरि बाटो सफा गर्नुपर्यो। यसले पाँच–सात घण्टा थप समय लियो।
सुरुङभित्र मानिस जीवित छन् भन्ने कसरी पुष्टि भयो?
न्यौपाने : १६० मिटरमध्ये करिब १३० मिटर पुगेपछि उद्धार टोलीले अलिकति खुला भाग देख्यो। त्यहाँबाट आवाज आयो।
‘कोही हुनुहुन्छ?’
उताबाट जवाफ आयो, ‘ठिक छ।’

उद्धार टोलीले ‘हामी उद्धारमा छौँ, आइरहेका छौँ, चिन्ता नगर्नुस्’ भन्यो। उताबाट फेरि ‘हुन्छ’ भन्ने आवाज आयो।
एकभन्दा बढी मानिसको आवाज सुनियो। सुरुमा प्रतिध्वनि पनि हुन सक्ने आशंका थियो। तर उद्धार टोलीले एकभन्दा बढी व्यक्तिको आवाज भएको पुष्टि गर्यो। त्यसपछि त्यहाँ मानिस जीवितै रहेको निश्चित भयो।
ढकाल : त्यो आवाज सुन्नु निकै भावुक क्षण थियो। हामी तीन–चार दिनदेखि निरन्तर काम गरिरहेका थियौँ। एक दिन त लगभग २४ घण्टामा केही मिनेटभन्दा बढी सुत्न सकिएको थिएन।
त्यस दिन म राति करिब १ बजे सुतेँ। बिहान ३, साढे ३ वा ४ बजेतिर उठ्दा आवाज आएको खबर भयो। सुरुमा विश्वास गर्नै गाह्रो भयो। दुईतर्फी सञ्चार हो कि होइन भनेर पुष्टि गर्नुपर्यो।
न्यौपाने : आवाज सुनेको ठाउँबाट पनि करिब ३० मिटर बाँकी थियो। अगाडि जालीले बाटो छेकेको रहेछ। त्यसलाई काट्न बाहिर आएर आवश्यक उपकरण ल्याउनुपर्यो। त्यसमा पनि दुई–तीन घण्टा लाग्यो।
अन्ततः अगाडि बढेर दुई जनालाई जीवितै उद्धार गर्न सकियो।
उद्धारमा ढिलाइ भएको आरोप पनि लाग्यो। तयारी र छलफलमै समय बढी गएको हो?
ढकाल : ढिला–चाँडोभन्दा पहिले अवस्था कस्तो थियो भन्ने बुझ्नुपर्छ। यो सामान्य बाढी थिएन। बाटो, पहुँच र क्षतिको अवस्था अत्यन्त जटिल थियो।
बाढी गएको दिन नै प्रधानमन्त्री कार्यालयमा टोली बनाएर ड्रोन फिल्डमा पठाइएको थियो। ११ गते गृह मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन संरचनामा बसेर आधार शिविर कहाँ बनाउनेदेखि उद्धारको प्राथमिकतासम्म योजना बनाइएको थियो।
त्रिशूली–३ ए मा ४०–४२ जना फसेको अनुमान थियो र संरचनाको अवस्थाका कारण यो सबैभन्दा कठिन उद्धारमध्ये एक देखिएको थियो। त्यसैले तयारी नगरी सिधै सुरुङमा पस्ने अवस्था थिएन।
तपाईंहरूले सरकारको तयारीमा मुख्य कमजोरी कहाँ देख्नुभयो?
ढकाल : मुख्य ग्याप हाम्रो आकलन र पूर्वतयारीमा छ। एकैपटक धेरै ठाउँमा उद्धार गर्नुपर्दा स्रोत र जनशक्ति विभाजन गर्नुपर्छ। अन्तर्राष्ट्रिय अभ्यासमा ‘एक्टर म्यापिङ’ सामान्य कुरा हो। कुन ठाउँमा कोसँग कस्तो क्षमता छ, कससँग कुन उपकरण छ, कुन कम्पनीसँग कस्तो जनशक्ति छ, कुन विशेषज्ञले के काम गर्न सक्छ भन्ने विवरण पहिल्यै तयार हुन्छ।
नेपालमा त्यस्तो विस्तृत म्यापिङ छैन। सुरुङकै क्षेत्रमा पनि को डिजाइनर हो, को कार्यान्वयनमा विशेषज्ञ हो, को मेसिन चलाउन सक्छ, को मर्मत गर्न सक्छ भन्ने छुट्टाछुट्टै विवरण आवश्यक छ।
विपद् आएपछि ‘म विज्ञ हुँ’ भनेर आउने मानिस धेरै हुन सक्छन्। तर कुन विज्ञले के काम गर्न सक्छ भन्ने पहिले नै थाहा हुनुपर्छ।
न्यौपाने : सरकार र सम्बन्धित संस्थाले विशेषज्ञहरूको सूची सम्पर्क नम्बरसमेत राखेर तयार गर्नुपर्छ। उद्धारमा कुन उपकरण चाहिन्छ, कहाँ पाइन्छ, कस्तो जनशक्ति चाहिन्छ र कसरी एक घण्टाभित्र उपलब्ध गराउन सकिन्छ भन्ने जानकारी भएको मान्छे साइटमा हुनु महत्त्वपूर्ण हुन्छ।
ठूलो संस्थाको सम्पूर्ण टोली साइटमा ल्याएर मात्र हुँदैन। साइटमा बसेर सबैलाई निर्देशन दिन सक्ने, आवश्यक सामग्री र जनशक्ति पहिचान गर्न सक्ने र तत्काल परिचालन गर्न सक्ने अनुभवी व्यक्ति चाहिन्छ।
विदेशी तथा स्वदेशी विज्ञलाई समयमै नबोलाइएको भन्ने गुनासो पनि छ नि?
विपद्को बेला हामीलाई तत्काल काम गर्न सक्ने मान्छे चाहिन्छ। सल्लाह र डिजाइन पनि आवश्यक हुन्छ, तर त्यतिबेला फिल्डमा गएर कार्यान्वयन गर्न सक्ने जनशक्ति झन् महत्वपूर्ण हुन्छ।
विदेशी विज्ञलाई हामीले नसुन्ने भनेको होइन। तर ५–१० जना विज्ञ हेलिकप्टरमा आएर फिल्डमा भीड बढाउनेभन्दा उनीहरू सुरक्षित ठाउँमा बसेर उपलब्ध भिडियो, नक्सा र डिजाइन हेरेर एउटा स्पष्ट समाधान पठाउन सक्छन्।
त्रिशूली–३ ए मै हामीले त्यस्तै गरेका थियौँ। अस्ट्रेलियाली सुरुङ विज्ञ आर्नोल्ड डिक्ससँग पनि सम्पर्क गरेर परामर्श लिइएको थियो। तर विदेशी विज्ञ तत्काल घटनास्थलमा आइपुग्न सक्ने अवस्था सधैँ हुँदैन। त्यसैले हाम्रो आफ्नै क्षमता र तयारी बलियो हुनुपर्छ।

उद्धारस्थलमा अनावश्यक भीडले काममा अवरोध पुर्याउन सक्छ। एक दिन धेरै हेलिकप्टर आए। कतिपय मानिस क्यामेरा बोकेर आए, फोटो खिचे र फर्किए।
यो पर्यटकीय ठाउँ होइन। उद्धारस्थलमा विशेषज्ञ आएर भीड बढाउने होइन, आफूले दिन सक्ने समाधान लिएर आउनुपर्छ।
हामीले विदेशी विज्ञलाई पनि भनेका थियौँ—सबै जना साइटमा आउनुपर्दैन। भिडियो, डिजाइन र अन्य विवरण पठाइदिन्छौँ। तपाईंहरू सुरक्षित ठाउँमा बसेर छलफल गर्नुस् र सम्भावित समाधान दिनुस्।
प्रधानमन्त्रीले संसद्मा यस्तो किसिमको लेदोले पुरिएको सुरुङ उद्धार गर्ने विशेषज्ञता नेपालमा मात्र होइन, संसारमै नभएको भन्नुभएको थियो। यथार्थ त्यही हो?
न्यौपाने : त्यसलाई अलिकति सच्याएर बुझ्नुपर्छ। तत्कालै सुरुङ खोलेर मानिस निकाल्ने प्रविधि संसारभरि उपलब्ध छैन भन्ने अर्थमा उहाँले भन्नुभएको हुन सक्छ। तर यसको अर्थ यस्तो सुरुङ उद्धार गर्न संसारमै प्रविधि छैन भन्ने होइन।
उद्धारमा कति समय लाग्छ भन्ने कुरा प्रयोग गरिने प्रविधि, उपकरण, भूगोल र अवस्थामाथि निर्भर हुन्छ। कुनै प्रविधिले छिटो गर्न सक्छ, कुनैले ढिलो।
त्यसैले त्रिशूली–३ ए लाई केस स्टडी बनाउनुपर्छ। विदेशी विज्ञलाई पनि यही केसमा काम गराएर कति समय लाग्छ, कुन प्रविधि र उपकरण चाहिन्छ, कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने अध्ययन गरौँ। त्यसबाट नेपालले भविष्यमा कस्ता उपकरण र क्षमता विकास गर्नुपर्छ भन्ने स्पष्ट हुन्छ।
ढकाल : ३ ए मा हामीले प्रयोग गरेको एउटा उपाय चिलिमेमा काम नगर्न सक्छ। ३ ए मा सुरुङ माथितर्फ उक्लिएको थियो। चिलिमेमा अवस्था उल्टो छ।
त्यहाँ हामीले फेरि साइट हेरेर नयाँ उपाय निकाल्नुपर्छ। फिल्डमा पुगेपछि मात्रै त्यहाँको भूगोल, पानीको बहाव, सुरुङको ढलान र डेब्रिजको अवस्था देखिन्छ। त्यसैले एउटै प्रविधि वा एउटै मेसिन सबै ठाउँमा लागू हुन्छ भन्ने हुँदैन।
न्यौपाने : यो घटनाले हामीलाई सुरुङ निर्माणमै केही कुरा पुनर्विचार गर्नुपर्ने देखाएको छ।
सुरुङका मुखमा आपतकालीन अवस्थामा बन्द गर्न सकिने ढोका राख्न सकिन्छ। पावर हाउसको प्राविधिक रूपमा सुरक्षित भागमा आपतकालीन कक्ष बनाउनुपर्छ, जहाँ केही दिनका लागि खानेकुरा, पानी, प्रकाश र आवश्यक सुविधा राख्न सकियोस्।
सुरुङ र पावर हाउसको स्थान तथा उचाइ निर्धारण गर्दा पनि बाढीको सम्भावित दिशालाई ध्यान दिनुपर्छ। यी विषयलाई समेटेर विस्तृत अध्ययन तथा अनुसन्धानपत्र तयार गर्ने सोच बनाएको छु। भविष्यमा यस्ता सुरुङका लागि आवश्यक मापदण्ड र कार्यविधि पनि विकास गर्नुपर्छ।
ढकाल : विदेशमा काम गर्दा हामीले नियमित आपतकालीन तालिम गर्छौँ। केही महिनाको अन्तरालमा आपतकालीन अवस्था सिर्जना गरेर त्यसको अभ्यास हुन्छ। वर्षमा परीक्षा नै पास गर्नुपर्ने व्यवस्था हुन्छ।

हामीसँग ‘रनअवे ब्याग’ हुन्छ। आपतकालमा तुरुन्तै निस्कनुपर्यो भने त्यही ब्याग लिएर निस्कन सकिन्छ। त्यसमा आवश्यक प्रकाश, खानेकुरा र अरू आधारभूत सामग्री हुन्छ।
नेपालका धेरै हाइड्रोपावरमा यस्तो तयारी र नियमित आपतकालीन अभ्यास छैन। यो तत्काल सुधार गर्नुपर्ने विषय हो।
त्रिशूली–३ ए मा सुरुमा ४२ जना फसेको अनुमान थियो। दुई जना जीवित र एक जनाको शव भेटियो । बाँकीको अवस्था के छ?
न्यौपाने : कुल ४२ जनामध्ये पावर हाउसको माथिल्लो भागमा पुगेकाहरू जीवित हुन सक्ने सम्भावना हामीले सुरुबाटै देखेका थियौँ।
बाढी आएको समयको एउटा स्थानीयले खिचेको भिडियो पनि हामीले हेरेका छौँ। त्यसको विश्लेषण गर्दा पावर हाउसबाट क्रमशः बाहिर निस्किँदै गरेका ३१ जना देखिन्छन्। उनीहरूमध्ये केहीलाई त्रिशूलीले बगाएको दृश्य पनि भिडियोमा देखिन्छ।
त्यसपछि सुरुङको सुरक्षित भागमा हुन सक्ने दुई जनालाई हामीले जीवितै उद्धार गर्यौँ। एक जनाको शव पनि भेटियो। बाँकी आठ जनाको हकमा उनीहरू नदीले बगाएको, सुरुङ वा बाहिर कतै पुरिएको अथवा भागेर अन्यत्र गएकोमध्ये कुनै अवस्था हुन सक्ने देखिन्छ।
उद्धार टोलीले त्रिशूली–३ ए को सम्भावित सुरक्षित भागमा खोजीको काम अब रोकिएको बताएको छ।
अब चिलिमेमा फसेका भनिएका मानिसको उद्धारका लागि के भइरहेको छ?
न्यौपाने : चिलिमेको अवस्था ३ ए भन्दा फरक छ। त्यहाँ सुरुङको करिब २५० मिटर क्षेत्रसम्म पुग्ने अवस्था बनेको छ, तर माथिल्लो भाग अझै बन्द छ। हेलिकप्टरबाट धेरै मानिस लैजान पनि सम्भव छैन।
पहिलो काम मान्छे हिँड्न सक्ने पहुँचमार्ग बनाउनु हो। त्यसका लागि ३ ए मा प्रयोग भएका ब्लास्टिङ र ड्रिलिङका सामग्री त्यहाँ सार्नुपर्ने देखिएको छ। अर्को ठूलो चुनौती सुरुङभित्रको लेदो बाहिर निकाल्नु हो। त्यसका लागि रोप सिस्टम वा विन्चिङ मेसिनको प्रयोग गर्न सकिने सम्भावना छ।
मान्छे हिँड्न सक्ने बाटो बनाउन सकियो भने ठूलो संख्यामा मानिस परिचालन गरेर पनि लेदो बाहिर निकाल्न सकिन्छ।
ढकाल : अहिले हामीले लेदो तान्ने मेसिनको डिजाइन र निर्माणको काम अघि बढाएका छौँ। हामी सल्लाह दिन मात्र गएको होइनौँ, आफैं डिजाइन, निर्माण र कार्यान्वयनमा लागेका छौँ।
यही कारण हामीलाई विपद्को बेला रिपोर्ट लेखेर दिनेभन्दा काम कार्यान्वयन गर्न सक्ने जनशक्ति चाहिन्छ।
न्यौपाने : यो घटनाबाट मैले सबैभन्दा ठूलो पाठ पूर्वतयारीको पाएँ। भविष्यमा यस्तो विपद् आउँदा कसरी काम गर्ने भन्ने स्पष्ट योजना आवश्यक छ।
हाम्रो भूगोललाई दोष दिएर मात्र हुँदैन। यही भूगोल हाम्रो स्रोत हो। पानी र नदी हाम्रा लागि समृद्धिको आधार बन्न सक्छन्। तर व्यवस्थापन गर्न नसक्दा त्यही स्रोत विनाशको कारण पनि बन्न सक्छ।
त्यसैले विपद्लाई केवल क्षतिको रूपमा हेर्ने होइन, त्यसपछि पुनर्निर्माण गर्दा बस्ती, पूर्वाधार र जलविद्युत् आयोजनालाई अझ सुरक्षित बनाउने अवसरका रूपमा पनि लिनुपर्छ।
ढकाल : आजको सबैभन्दा ठूलो पाठ यही हो। विपद् आउनुअघि नै हामीलाई थाहा हुनुपर्छ—कुन इन्जिनियर कहाँ छ, कससँग कुन उपकरण छ, कसको कस्तो विशेषज्ञता छ र कसलाई कुन अवस्थामा परिचालन गर्ने।
‘म विज्ञ हुँ’ भनेर विपद्को बेला आउने प्रणाली होइन, पहिल्यै प्रमाणित क्षमता र जिम्मेवारीसहितको संरचना चाहिन्छ।
हामीले यो काम एक–दुई महिनाभित्रै सुरु गर्नुपर्छ। विपद् आएपछि कसलाई बोलाउने भनेर खोज्न थाल्ने अवस्था अब दोहोरिनु हुँदैन।
प्रतिक्रिया 4