News Summary
Generated by OK AI. Editorially reviewed.- ठमेल पर्यटन विकास परिषद्ले गत भदौ १० गतेको बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–१ र २ का १२० घरधुरीलाई राहत सामग्री वितरण गरेको छ।
- परिषद्ले खाद्यान्न, लत्ताकपडा, भान्छाका सामग्री र स्वास्थ्य तथा सरसफाइका सामग्री स्थानीय सरकारको समन्वयमा सहयोग गरेको हो।
- परिषद्का अध्यक्ष राजुमान डङ्गोलले प्रभावित परिवारलाई तत्कालको गर्जो टार्न सहयोग पुगोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको बताए।
२२ भदौ, काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामाग्री सहयोग गरेको छ । परिषद्ले गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रत्यक्ष मारमा परेका उत्तरगया गाउँपालिका–१ र २ का बासिन्दालाई आज खाद्यान्न, लत्ताकपडा र अन्य दैनिक उपभोग्य सामाग्री सहयोग गरेको हो ।
परिषद्का अध्यक्ष राजुमान डङ्गोलको नेतृत्वमा गएको टोलीले दुई दिन लगाएर उत्तरगया गाउँपालिका–१ र २ मा पुगी त्यहाँका १२० घरधुरीलाई स्थानीय सरकारको समन्वयमा उक्त राहत सामाग्री वितरण गरेको हो । अध्यक्ष डङ्गोलले प्रभावित परिवारलाई तत्कालको गर्जो टार्न सहयोग पुगोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको बताए ।
परिषद्ले १२५ बोरा चामल, १५० किलोग्राम दाल, १०० लिटर तेल, १७५ किलोग्राम नुन, ५० किलोग्राम सोयाबिन, ७५ किलोग्राम चिउरा सहयोग गरेको छ । यस्तै, खाद्यान्नमा चाउचाउ, बिस्कुट तथा जुससमेत सहयोग गरेको हो । लत्ताकपडामा ३७० थान तयारी पोसाक (टिसर्ट, पाइन्ट, ज्याकेट, साडी), २०० जोर जुत्ता र २०० जोर चप्पल, ५२ थान सिरक, १६ थान डसना, २० थान ब्ल्याङ्केट, ८५ थान सिरानी सहयोग गरेको परिषदका महासचिव पशुपति कँडेलले जानकारी दिए ।
यस्तै, भान्छाका सामाग्रीमा १०० थान थाल, १०० थान गिलास, प्रेसर कुकर, कराई र चम्चा रहेका छन् भने स्वास्थ्य तथा सरसफाइका सामाग्रीमा जीवनजल, औषधी, ब्यान्डेज, स्यानिटरी प्याड र ट्वाइलेट पेपर रहेको महासचिव कँडेलले बताए ।
पर्यटन क्षेत्रको संस्था ठमेल पर्यटन विकास परिषद्ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्राकृतिक विपत्तिको समयमा सधैँ सहयोग गर्दै आएको र यसपटक पनि रसुवाका पीडितको घाउमा मलम लगाउने प्रयास गरेको जनाएको छ । राहत वितरणका लागि संस्थाका अध्यक्ष डंगोलसहित प्रथम उपाध्यक्ष राजीव पाण्डे, द्धितीय उपाध्यक्ष दावा तामाङ, महासचिव पशुपति कँडेल, सचिव दिलिप कँडेल, कोषाध्यक्ष किन्चु ल्हामु भुटिया श्रेष्ठ, सदस्य विश्वमान प्रधानलगायत रसुवा पुगेका हुन् ।
प्रतिक्रिया 4