+
+
Shares

ठेक्का लागेको ६ वर्षसम्म पुल निर्माण नहुँदा ३ जिल्लाका नागरिकलाई सास्ती

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ २३ गते ९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भेरी कोरिडोरअन्तर्गत जाजरकोट खण्डका ताक्सुगाड र अन्य खोलामा ठेक्का सम्झौता भएको करिब ६ वर्षसम्म स्थायी पुल निर्माण अघि बढ्न सकेको छैन।
  • साउन २९ गतेको बाढीले ताक्सुगाड खोलामा पाँच घर, झोलुङ्गे पुल र अस्थायी कजवे बगाउँदा भेरी कोरिडोरको आवागमन प्रभावित भएको छ।
  • स्थानीयले ठेक्का लागेका पुलको काम तत्काल अघि बढाउन, प्रभावकारी अनुगमन गर्न र क्षतिग्रस्त कजवे तथा वैकल्पिक संरचना निर्माण गर्न माग गरेका छन्।

२३ भदौ, सुर्खेत । भेरी कोरिडोरअन्तर्गत जाजरकोट खण्डमा स्थायी पुल निर्माणका लागि ठेक्का सम्झौता भएको करिब ६ वर्ष पुग्न लाग्दासमेत निर्माण कार्य अघि बढ्न सकेको छैन। पुल निर्माणका लागि करोडौँ रुपैयाँको ठेक्का सम्झौता भए पनि ताक्सुगाड खोलामा भने अझै अस्थायी कजवे र झोलुङ्गे पुलको भरमा आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ।

वर्षा याममा खोला बढ्दा अस्थायी संरचना जोखिममा पर्ने गरेको छ। पछिल्लो पटक साउन २९ गते ताक्सुगाड खोलामा आएको बाढीले पाँच घरसँगै झोलुङ्गे पुलसमेत बगाएको छ। बाढीले सडक आवागमनका लागि प्रयोग हुँदै आएको अस्थायी कजवेमा समेत क्षति पुर्‍याएपछि भेरी कोरिडोरको आवागमन प्रभावित भएको छ।

स्थायी पुल निर्माण भएको भए बाढी र वर्षाका बेला अस्थायी संरचनामा निर्भर हुनुपर्ने अवस्था नआउने स्थानीयवासी तेज विकले बताए । पुल निर्माणमा भएको लामो ढिलाइका कारण स्थानीय बासिन्दासँगै भेरी कोरिडोर हुँदै जाजरकोट, रुकुम पश्चिम र डोल्पातर्फ आवतजावत गर्ने यात्रुले समेत जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको उनको भनाई रहेको छ ।

करोडौंको ठेक्का, काम भने अलपत्र

भेरी कोरिडोरअन्तर्गत नलगाड खोला र झिमीखोलामा १५० मिटर पुल निर्माण गर्ने गरी क्याराभान हिराचन जेभीले २०७७ माघ २ गते भेरी कोरिडोर योजनासँग १८ करोड ४३ लाख ४३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

त्यस्तै, नलगाड नगरपालिका–८ को मैदेखोला, वडा नं. ८ र ९ को सिमाना पर्ने त्रात्रगाड खोला तथा वडा नं. १० र ११ को सीमामा पर्ने ताक्सुगाड खोलामा पुल निर्माण गर्ने गरी रायमाझी क्याराभान जेभीले सोही मितिमा रु १३ करोड ५४ लाख ३८ हजार ९ सय रुपैयाँमा अर्को ठेक्का लिएको थियो।

यी दुई ठेक्काअन्तर्गत निर्माण हुने पुलमध्ये ताक्सुगाडलगायतका पुलको लम्बाइ १ सय मिटर रहेको छ। सम्झौताअनुसार निर्माण कार्य ३६ महिनाभित्र सम्पन्न गर्नुपर्ने थियो। तर सम्झौता भएको करिब छ वर्ष पुग्न लाग्दासमेत ताक्सुगाड पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन।

ठेक्का सम्झौताको अवधि सकिएर वर्षौं बितिसक्दा पनि पुल निर्माण नहुँदा कोरिडोरमा राज्यले लगानी गरेको ठुलो रकमको प्रतिफल यात्रु तथा स्थानीयले पाउन सकेका छैनन्। पुल निर्माणमा ढिलाइ हुनुको कारणबारे सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन र पहल हुन नसकेको स्थानीयको गुनासो छ।

बाढीले कजवे र झोलुङ्गे पुल पनि बगायो

ताक्सुगाड खोलामा यस वर्ष आएको बाढीले वर्षौँदेखि स्थानीयको आवतजावतमा प्रयोग हुँदै आएको अस्थायी संरचनासमेत क्षतिग्रस्त बनाएको छ। साउन २९ गते आएको बाढीले पाँच घर र झोलुङ्गे पुल बगाएपछि स्थानीयको आवतजावत थप कठिन बनेको हो।

बाढीले सडकमा बनाइएको अस्थायी कजवेमा समेत क्षति पुर्‍याएपछि भेरी कोरिडोरमा सवारीसाधन सञ्चालन प्रभावित भएको छ। खोला बढेका बेला कजवेबाट जोखिम मोलेर सवारीसाधन वारपार गराउनुपर्ने अवस्था आउने गरेको स्थानीय बताउँछन्।

नलगाड नगरपालिका–१० का वडा सदस्य विशाल विकले स्थायी पुल निर्माण भएको भए अहिलेको समस्या नआउने बताए। “स्थायी पुल बनेको भए बाढीका बेला कजवे र झोलुङ्गे पुलमा निर्भर हुनुपर्ने थिएन। अहिले ताक्सुगाडमा सबैभन्दा बढी समस्या भएको छ। खोलाले कजवे बगाएको छ भने झोलुङ्गे पुलसमेत बगेको छ,” उनले भने।

उनका अनुसार पुल नहुँदा वर्षा याममा स्थानीयलाई दैनिक आवतजावतदेखि खाद्यान्न तथा अन्य आवश्यक सामग्री ओसारपसारसम्म समस्या हुने गरेको छ। खोलामा पानीको बहाव बढेपछि पैदल यात्रुसमेत जोखिम मोलेर वारपार गर्नुपर्ने अवस्था आउने गरेको उनले बताए।

तीन जिल्लाका यात्रुलाई सास्ती

ताक्सुगाडको समस्या नलगाडका स्थानीयमा मात्र सीमित छैन। भेरी कोरिडोर जाजरकोट हुँदै रुकुम पश्चिम र डोल्पासम्म जोडिने महत्त्वपूर्ण सडक भएकाले यहाँको सडक अवरोधले तीन जिल्लाका नागरिकको आवतजावत प्रभावित हुने गरेको छ।

विशेष गरी वर्षा याममा सडकमा पहिरो जाने, खोलामा पानीको बहाव बढ्ने र अस्थायी कजवेमा क्षति पुग्ने समस्या दोहोरिने गरेको छ। स्थायी पुल निर्माण नहुँदा सामान्य वर्षामा समेत यातायात सञ्चालनमा जोखिम बढ्ने गरेको स्थानीयको भनाइ छ।

भेरी कोरिडोर डोल्पा , रुकुम पश्चिम , जाजरकोटका नागरिकका लागि समस्या भएको छ । देशका विभिन्न ठाउँमा जान र आउने मुख्य सडक समेत यही रहेको छ । कृषि उपज, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत यही सडकको ठुलो भूमिका छ। सडक अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर स्थानीय बजार र दैनिक जनजीवनमा पर्ने गरेको छ।

अस्थायी संरचना बनाउन आग्रह, सुनुवाइ भएन

नलगाड नगरपालिका प्रमुख डम्बर रावतले ताक्सुगाडलगायतका स्थानमा तत्काल अस्थायी संरचना निर्माण गरेर भए पनि सडक सञ्चालन सहज बनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको बताए।

“भेरी कोरिडोरमा अस्थायी संरचना निर्माण गरेर भए पनि तत्काल आवागमन सहज बनाउन आग्रह गरिएको हो। तर अहिलेसम्म त्यसतर्फ पर्याप्त सुनुवाइ भएको छैन,” उनले भने। उनका अनुसार स्थायी पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयले वर्षौँदेखि समस्या भोग्दै आएका छन्। पुल निर्माणको काम समयमै सम्पन्न भएको भए अहिले बाढीले अस्थायी संरचना बगाउँदा सडक अवरुद्ध हुने अवस्था आउने थिएन।

पुल नहुँदा बर्सेनि उही समस्या

भेरी कोरिडोरमा स्थायी पुल निर्माण नहुँदा वर्षा याममा सडक अवरुद्ध हुने र अस्थायी संरचना क्षतिग्रस्त हुने समस्या नयाँ होइन। हरेक वर्ष खोलामा बाढी आउँदा कजवे तथा अन्य अस्थायी संरचनामा क्षति पुग्ने गरेको छ।

स्थायी संरचना निर्माणमा भएको ढिलाइका कारण एकातिर यात्रुले जोखिम मोलेर यात्रा गर्नुपरेको छ भने अर्कोतर्फ राज्यको ठुलो लगानीसमेत अपेक्षित परिणाममा पुग्न सकेको छैन।

स्थानीयले ठेक्का सम्झौता भएका पुलको काम तत्काल अघि बढाउन, निर्माण कम्पनीको कामको प्रभावकारी अनुगमन गर्न र निर्माणमा भएको ढिलाइको कारण सार्वजनिक गर्न माग गरेका छन्। साथै तत्कालका लागि बाढीले क्षति पुर्‍याएको कजवे तथा वैकल्पिक संरचना निर्माण गरी भेरी कोरिडोरको आवागमन सहज बनाउन उनीहरूको माग छ।

करिब छ वर्षअघि पुल निर्माणका लागि ठेक्का लागे पनि पुल नबन्दा अहिले पनि स्थानीयले बाढी आएको खोला र अस्थायी संरचनाको भरमा यात्रा गर्नुपर्ने अवस्था छ।

ताक्सुगाडमा पछिल्लो बाढीले घर, झोलुङ्गे पुल र कजवेमा पुर्‍याएको क्षतिले स्थायी पुलको आवश्यकता झन् गम्भीर बनाएको छ। यत्ता भेरी कोरिडोर योजनाका प्रमुख नरेश कुमार केसरीले कामको सुरुवात भएको बताए । निर्माण व्यवसायी चन्द्र थकालीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।

 

 

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?