+
+
Shares

अस्ट्रेलियाकी विदेशमन्त्री वोङले गरिन् नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले भोटेकोशी बाढीको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै क्यानबेरास्थित नेपाली दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गरिन्।
  • वोङले बाढीमा परेका आफ्ना नागरिकको खोजी र उद्धारका लागि ५० अधिकारी परिचालन गरिएको र काठमाडौँमा परिवार सहायता केन्द्र स्थापना गरिएको बताइन्।
  • अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले बाढीपछि ३६ अस्ट्रेलियाली नागरिक बेपत्ता रहेको पुष्टि गर्दै नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।

२३ भदौ, काठमाडौं । भोटेकोशी बाढीका कारण भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले क्यानबेरास्थित नेपाली राजदूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विदेशमन्त्री वोङले विपद्को यस कठिन घडीमा अस्ट्रेलिया नेपाली जनता र नेपाल सरकारको साथमा उभिएको बताएकी छन्।

साथै, विपद्‌मा परेका अस्ट्रेलियाली नागरिकहरूको उद्धार तथा सहयोगका लागि नेपाल सरकारले गरेको प्रयासप्रति उनले आभार व्यक्त गरेकी छन्।

‘आज मैले क्यानबेरास्थित नेपाली दूतावासमा पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी छु,’ उनले भनेकी छन्, ‘यस विपद्‌बाट प्रभावित अस्ट्रेलियाली नागरिकहरूलाई सघाउन नेपालले गरेको प्रयासप्रति हामी आभारी छौँ। हाम्रो सम्पूर्ण सहानुभूति नेपाली जनता र सरकारसँग छ।’

संसद्‌मा सम्बोधन: ५० अधिकारी परिचालन र सहायता केन्द्र स्थापना

सोमबार अस्ट्रेलियाली संसद्लाई सम्बोधन गर्दै विदेशमन्त्री वोङले नेपालको बाढीमा परेका आफ्ना नागरिकको खोजी, उद्धार तथा विपद् प्रतिकार्यका लागि ५० जना अधिकारीहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिएकी थिइन्।

काठमाडौँ, बेइजिङ, नयाँदिल्ली र क्यानबेराका नियोगमार्फत खोजकार्य तीव्र बनाइएको र काठमाडौँस्थित अस्ट्रेलियाली दूतावासमा परिवार सहायता केन्द्र स्थापना गरिएको उनले बताएकी थिइन्। प्रभावित परिवारको परामर्शका लागि अस्ट्रेलियाबाट दुई जना सामाजिक कार्यकर्तासमेत काठमाडौँ आइपुगिसकेका छन्।

३६ अस्ट्रेलियाली अझै बेपत्ता, प्रधानमन्त्री अल्बानीजको ऐक्यबद्धता

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि संसद्‌लाई सम्बोधन गर्दै अगस्ट २६ मा आएको बाढीपछि हालसम्म ३६ जना अस्ट्रेलियाली नागरिक सम्पर्कविहीन (बेपत्ता) रहेको पुष्टि गरेका थिए।

नेपालको राष्ट्रिय शोक दिवसका सन्दर्भमा सोमबार अस्ट्रेलियाली संसद्‌मा बोल्दै प्रधानमन्त्री अल्बानीजले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरी गहिरो समवेदना प्रकट गरेको बताएका थिए। उनले यो अकल्पनीय दुःखको भारी बोक्न नेपाल एक्लै नरहेको र विपद् राहत कोषमार्फत अस्ट्रेलियाले सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?