News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरीका सई रमेश थापाले १० भदौको भोटेकोशी बाढीमा तालिमको भरमा बाँचेर अर्का एक व्यक्तिलाई पनि जीवितै उद्धार गरे।
- रसुवाको मैलुङस्थित अस्थायी सुरक्षा बेसमा २१ जना कार्यरत थिए, र बाढीको सूचना पाएपछि साइरन बजाएर आयोजनाका कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको थियो।
- रमेशका चार सुरक्षाकर्मी साथी अहिलेसम्म सम्पर्कविहीन छन्, र उनले बाढीमा जीवितै उद्धार गरिएका रामप्रसाद थारु अहिले पनि सम्पर्कमा नरहेको बताए।
२२ भदौ, काठमाडौं । ‘कालको मुखबाट फुत्केर आइयो । तालिम नगरेको भए बाँचिदैनथ्यो ।’
विनाशकारी बाढीको छालसँग पौठेजोरी खेल्दै फुत्किन सफल भएको सूचना पाएपछि अनलाइनखबरले सम्पर्क गर्दा सशस्त्रका सई (गोताखेर) रमेश थापाले एकै सासमा त्यो कहालीलाग्दो क्षण सम्झिए ।
गोताखोर अर्थात् पानी मुनि–मुनि गएर खोज उद्धार गर्न पोख्त सशस्त्रका सई रमेश १० भदौको बाढीसँग आफ्नै जुक्तिले बाँच्न सफल व्यक्ति हुन् । उनले सुरुमै भनेका छन्, ‘तालिम नगरेको भए बाँच्न सम्भव थिएन ।’
उनी जस्तै बाढीको छालले हानेका अरू थुप्रै साधारण व्यक्तिहरू अहिलेसम्म सम्पर्कविहीन छन् । रमेश भने त्यस्ता व्यक्तिमा दरिए जो बाढीसँग कुस्ती खेल्दै, ढुंगाको काप समाएर बाहिर निस्किए । उनी मात्रै बाँच्न सफल भएनन्, बाढीले बगाउँदै गरेका अर्का व्यक्तिको पनि जीवितै उद्धार गरे ।

१० भदौ बिहान करिब साढे ८ बजे रसुवाको भोटेकोशीमा एक्कासि भीषण बाढी आयो । बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्र तहसनहस बनायो । भोटेकोशी–त्रिशूली आसपासका जलविद्युत आयोजना र किनारका बस्ती नामेट भए ।
बाढीले यी क्षेत्रहरू तहसनहस बनाउँदा माथिल्लो त्रिशूली जलविद्युत आयोजना २१६ पनि चोखो रहेन । यही माथिल्लो त्रिशूली २१६ को सुरक्षाका लागि सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा बेस रसुवाको मैलुङमा बसेको थियो । जहाँ उही गोताखोर तथा सई रमेश थापाको कमान्डमा २१ जना कार्यरत थिए ।
०००
रमेशलाई ठ्याक्कै समय त याद भएन, तर बिहान करिब सवा ८ बजेको आसपास हुनुपर्छ, रमेशलाई खबर आयो– माथिबाट भीषण बाढी आउँदै छ, सुरक्षित रहनू । खबर सशस्त्र प्रहरीकै टिमुरे बीओपीबाट आएको थियो ।
नियमित जस्तै १० भदौ बिहान पनि उनीहरू पिटी सकेर अफिसमै थिए । ब्रेकफास्ट खाने तयारी थियो । सशस्त्रको यो टोली जतिबेला पनि स्ट्यान्डबाई हुन्छ । त्यतिबेला पनि स्ट्यान्डबाई नै थियो ।
बाढीको सूचना आउने बित्तिकै आयोजना र त्यहाँ काम गर्नेहरूलाई सुरक्षित गर्नुपर्छ, आफ्नो टोली सुरक्षित राख्नुपर्छ भन्ने रमेशलाई लाग्यो । त्यसपछि अर्ली वार्निङ सिस्टमलाई एक्टिभेट गराइयो । साइरन बजाउन थालियो । सशस्त्र प्रहरीको टोली नै गएर तत्काल सुरक्षित ठाउँमा जान भन्यो ।
‘त्रिशूली थ्री–ए को ड्यामसाइडको कन्ट्रोल अफिसमा मैले फोन गरेर बाढी आउँदै गरेकाले तुरुन्त सुरक्षित ठाउँमा जान भनें,’ रमेशले अनलाइनखबरसँग भने । सूचना आएको करिब ५ मिनेट जति अनि त्रिशूली थ्री–ए लाई जानकारी गराएको करिब तीन मिनेटमै सुसाउँदै बाढी आउन थाल्यो ।

‘मैले हाम्रो टोलीलाई सुरुमा माथि पठाइसकेको थिएँ । लास्टमा म थिएँ । अनि, एकै पटक ठूलो ब्लास्ट भयो,’ उनी भन्छन् ।
आफ्नो टोली अब सुरक्षित भयो होला भन्ने रमेशलाई लागेको थियो । अन्तिममा भएकाले आफू करिबकरिब १० फिट जति अग्लो पर्खाल नाघेर हाम फालेको उनी सम्झन्छन् । त्यो वाल चढ्दा अगाडि आफ्नो टोलीका ५ जना भाग्दै गरेको देखेकाले पनि अब सबै जना सुरक्षित भइयो भन्ने उनलाई लागेको थियो ।
त्यति नै बेला रमेशलाई एक पटक बाढीले झ्याप्पै छोप्यो । ‘बाढीमा परेपछि म ‘ब्रिथ (सास) होल्ड’ गरेर अलि किनारतर्फ गएँ,’ उनी भन्छन्, ‘नाक र मुखबाट हिलो पानी छिर्यो ।’
तर, गोताखोरको तालिमप्राप्त रमेश आत्तिएनन् । ‘मलाई सबै कुरा याद छ । म डराइनँ । बाढी पार गर्छु भन्ने हिम्मत आइरह्यो,’ उनी भोटेकोशी बाढीको क्षण सम्झन्छन्, ‘बाढीले ठोक्काउने, बगाउने क्रम चलिरह्यो ।’
केहीबेर बाढीलाई बल गर्न दिने, बाढी सँगै बग्ने, अनि आफ्नो बल सञ्चित भएपछि पार लाग्ने जुक्ति लगाइरहे । बाढीले हान्दै एउटा ठूलो ढुंगामा पुर्याएपछि रमेशले त्यो ढुंगा छोड्दै छोडेनन् । त्यही ढुंगाको काप हुँदै आफ्नो गोतोखोरको जुक्ति लगाउँदै उनले बाढी पार गरे ।
बाढी त पार गरे तर बाहिर निस्केपछि नाक र मुखबाट पसेको हिलोले उनलाई निकै गाह्रो बनायो । ‘बाढीबाट पार लागेपछि मेरो मुखबाट हिलो निस्कियो,’ उनी भन्छन्, ‘त्यसपछि बल्ल अलि सन्चो भए जस्तो भयो ।
०००
रमेश जसोतसो बाढीबाट निस्किएका मात्र थिए, त्यति नै बेला बाढीको छालले हान्दै एक जनालाई बगाउँदै ल्यायो । किनार छेउमा बग्दै गरेका ती व्यक्तिलाई रमेशले हात दिए ।
‘जहाँ, जस्तो अवस्थामा भए पनि अरूले हामीमाथि भरोसा गरेका हुन्छन् । किनाराबाट ती व्यक्तिलाई निकालेँ । उहाँ बर्दियाका रामप्रसाद थारु हुनुहुँदो रहेछ ।’
रमेशले अलाइनखबरलाई उपलब्ध गराएको तस्वीरमा बाढीले ठोक्काएर थारुको टाउकोमा चोट लागेको थियो । रगत बगिरहेको थियो । शरीर हिलाम्य थियो । उनी त्यहीं काम गर्ने मजदुर रहेछन् ।
पछि रामप्रसादलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरियो । अहिले उनीसँग सम्पर्क नभएको पछिल्लो अवस्थाबारे आफूलाई जानकारी नभएको रमेश बताउँछन् ।

बाढीमा परेर रमेशको मोबाइल हराइसकेको थियो । पहिल्यै भागिसकेका सुरक्षाकर्मीले रामप्रसाद थारुको नाम सोध्दै गरेको भिडियोसमेत कैद गरेका थिए । उक्त भिडियोमा रामप्रसादले आफ्नो परिचय दिएको देखिन्छ ।
उनलाई समेत सुरक्षित ठाउँमा ल्याइयो । त्यतिबेला पनि जमिन थर्केर पहरै खस्ला जस्तो भएको रमेशको अनुभव छ ।
बाढीबाट निस्केपछि रमेशलगायत उनीहरू डाँडामा गए । बाढीको फ्लो त्यतिबेलासम्म पनि बढ्दै थियो । पहरालै खस्ला जस्तो भएपछि उनीहरू डाँडा चढेका थिए ।
त्यतिबेला नै पहिला भागेका सुरक्षाकर्मीले हिलाम्य अवस्थामा पहरो चढ्दै गरेका रमेशको छोटो भिडियोसमेत खिच्न भ्याएका रहेछन् । पछि त्यो भिडियो भाइरल बनेको थियो । दिउँसो साढे ४ बजेसम्म उनीहरू जंगलको त्यही पहरामा बसिरहे । त्यसपछि सेनाको हेलिकप्टरमार्फत विदुर आए ।
हेलिकप्टरसमेत बस्ने ठाउँ नभएकाले बकेटमार्फत उनीहरू हेलिकप्टर चढेका थिए । त्यसपछि काठमाडौं आएर केही दिन अस्पतालमा बसे । रमेशको खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
०००
बाढी करिब प्रतिघण्टा २५० किलोमिटरको बेगमा आएको रमेशको अनुमान छ । बाढीमा परेका उनका चार जना सुरक्षाकर्मी साथीहरू भने अहिलेसम्म सम्पर्कविहीन छन् ।
उनीहरूलाई बचाउन नसकिएकोमा रमेशलाई अहिले पनि पछुतो लागिरहन्छ । पहिल्यै आफ्नो टोलीका सबैलाई पठाइसकेको हुनाले सबै सुरक्षित भइयो होला भन्ने लागेको थियो । तर आफ्नै अन्डरमा काम गर्ने चार सुरक्षाकर्मी अहिलेसम्म सम्पर्कविहीन रहेको रमेशले बताए ।
गोसाइँकुण्डमा जनैपूर्णिमाको मेला लाग्ने भएकाले केही सुरक्षाकर्मी त्यता पठाइएको थियो । त्यहाँ रहेका सुरक्षाकर्मी सुरक्षित रहे ।
एक सुरक्षाकर्मीकी छोरीलाई महिनैपिच्छे रगत दिनुपर्ने भएकाले ती सुरक्षाकर्मी १० भदौ बिहानै विदुर गएका थिए । उनी पनि सुरक्षित रहे ।
रमेशले ठूलो जोखिम मोल्दै गोताखोरीमार्फत पानी मुनि–मुनि गएर सयौं जनाको उद्धार गरेका छन् । कतिलाई जीवितै उद्धार गर्न सफल भएका छन् त केहीको शव संकलनमा पनि काम गरेका छन् ।
झण्डै दुई दशकदेखि गोताखोरीमार्फत खोज उद्धारमा सक्रिय रहेका रमेशले भोटेकोशी बाढीको जस्तो अनुभव यसअघि कहिल्यै गरेका थिएनन् ।
यो पनि पढ्नुहोस्–
प्रतिक्रिया 4