+
+
Shares

कारागारभित्रको परिश्रम, बाढीपीडितलाई मल्हम

कारागारको चार दिवारभित्र रहेर जुन सहयोग गर्नुभयो, त्यो जिम्मेवारीबोध सहितको कर्म हो । सहयोग गर्ने चाहनालाई कुनै पर्खालले रोक्नसक्दो रहेनछ- प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ।

शान्ता अधिकारी शान्ता अधिकारी
२०८३ भदौ २३ गते २१:०१

२३ भदौ, भरतपुर । अग्ला पर्खाल, फलामे ढोका, ढोकामा ताला र सुरक्षाकर्मीको निगरानी। समग्रमा बाहिरी दुनियाँका लागि एउटा अलग संसार।

प्राय: कारागारहरूको बाहिरी दृश्य लाग्छ। चितवन जिल्ला कारागार, भरतपुरको भित्र दृश्य भने केही भिन्न छ। यहाँका कैदीबन्दीका हात खाली छैनन्।

कोही सिलाइ-कटाइमा व्यस्त छन्, कोही मुढा बनाउँदै छन् भने कोही कपास भर्दै।

आफूले सिकेको सीपबाट सामग्री मात्र बनाइरहेका त्यसको आम्दानीबाट बचत पनि गरिरहेका छन्।

कारागारभित्रको श्रम र सीप १० भदौको विनाशकारी बाढीपीडितलाई मलम लगाउन उपयोगी भयो । कैदीबन्दीले आफ्नै हातले तयार पारेका सामग्री बाढीपीडितका लागि पठाएका छन्।

कैदीबन्दीहरूले १२५ वटा डस्ना, १२५ ब्ल्यान्केट, १२५ तन्ना, १२५ सिरानी, २५० सिरानीका खोल, १२५ टावेल र १२५ वटा काइयो पठाए हुन् ।

त्यस्तै, ४०० वटा टुथब्रस, १२५ वटा टुथपेस्ट र ६२५ वटा डिटोल साबुन बाढी प्रभावितका लागि पठाएका हुन् । कपास बाहिरबाट ल्याएर कारागारभित्रै सामग्री तयार गरिएको कारागार प्रशासनले जनाएको छ। यो सहयोग चितवनका प्रमुख जिल्ला अधिकारी मार्फत रसुवा बाढीपीडितलाई पठाइएको हो।

चितवन कारागारका कैदीबन्दी चौकीदार कीर्तनराज भण्डारी विगत आठ वर्षदेखि कारागारमा छन्। बाढी ज्यान गुमाउका नागरिकको शव कारागार अगाडि ल्याएर राख्दा व्यवस्थापनमा सहयोग गरौँ भन्ने लागे पनि कानुनले उनलाई अगाडि बढ्न दिएन।

त्यसपछि बाढीपीडितलाई भित्रै बसेर कसरी सहयोग गर्न सकिन्छ भन्ने सोच आएको भण्डारी बताउँछन् । उनी भन्छन्, ‘कारागारबाहिर गएर प्रत्यक्ष सहयोग गर्ने अवस्था थिएन। त्यसैले कारागारभित्रैबाट सहयोग गर्ने उपाय खोज्यौं।’

त्यसपछि कैदीबन्दीले आफूले गर्न सक्ने सहयोगको योजना बनाए। साँझ सुतेदेखि बिहान उठेसम्म आवश्यक पर्ने सामग्रीलाई ध्यानमा राखेर तीन दिनमै १२५ जनाका लागि आवश्यक डस्ना, तन्ना, सिरानी र ब्ल्याङकेटलगायत सामग्री तयार पारेको उनी बताउँछन्।

अर्का चौकीदार अमृत पौडेल विगत साढे चार वर्षदेखि कारागारमा छन्। कारागारमा रहेका कैदीबन्दीका मामा, माइजू, भान्जा–भान्जीलगायत आफन्त बाढीबाट वेपता छन्।

‘उहाँहरू रोएर बसिरहनुभएको छ। बाढीमा परिवारै परेका आफन्तहरू यहाँ हुनुहुन्छ। हामी एउटै परिवार भएर बसेपछि उहाँहरूलाई पनि सहयोग गर्नुपर्छ,’ उनी भन्छन्।

सहयोगका लागि कैदीबन्दीले आफूले सकेको रकम पनि जम्मा गरे। बाहिरी समाजले कारागारमा रहेका सबैलाई एउटै नजरले हेर्ने गरेको उनको गुनासो छ। ‘बाहिर बसेका मान्छेले अपराध गरेरै मान्छे कारागारमा जान्छन् भन्ने सोच्छन्, घृणा गर्छन्। तर यहाँ भएका सबैले अपराध गरेको हुन्छ भन्न सकिदैन । धेरै जना कानुनी ज्ञान नभएका कारण पनि यहाँ आएका छन्,’ उनी भन्छन् ।

साढे पाँच सय क्षमताको यो कारागारामा ७५२ जना कैदीबन्दी छन्। कारागार प्रशासक सुवास शर्मा पौडेलका अनुसार यहाँ ७१० जना पुरुष, ४२ जना महिला र दुई जना आश्रित नाबालक छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल कैदीबन्दीले गरेको सहयोगलाई उदाहरणीय काम भन्न रुचाउँछन्।

‘कारागारको चार दिवारभित्र रहेर जुन सहयोग गर्नुभयो, त्यो जिम्मेवारीबोध सहितको कर्म हो,’ उनी भन्छन्, ‘सहयोग गर्ने चाहनालाई कुनै पर्खालले रोक्न सक्दो रहेनछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?