+
+
Shares
अन्तर्वार्ता :

सुरुङभित्र मान्छेको आवाज सुन्यौँ, तर आँखैले नदेखेसम्म सार्वजनिक गरेनौँ

भित्र खुला ठाउँ देखिएपछि उद्धारकर्ताहरूले बोलाउनुभयो । भित्रबाट आवाज पनि आयो भन्नुभयो । तर, तुरुन्तै विश्वास गरिहाल्न मिल्दैनथ्यो । त्यहाँ ठूलो खाली ठाउँ थियो । आवाजभित्र ठोकिएर त्यही फिर्ता भएको पनि हुनसक्छ भन्ने लाग्यो ।

उदयराज न्यौपाने, जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपाने, जियोटेक्निकल इन्जिनियर
२०८३ भदौ २५ गते १८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको भूमिगत संरचनामा फसेका दुई प्राविधिकको जीवित उद्धार भएको छ।
  • उद्धारका क्रममा सुरुङको अवस्था, पानी र लेदोको दबाब, ठूलो ढुंगा र सीमित उपकरणका कारण टोलीले पटकपटक योजना बदल्नुपरेको थियो।
  • जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपानेले स्वयंसेवी रूपमा फिल्डमै खटिएर आफ्नै र जुटाइएका उपकरणसहित उद्धार अभियानको प्राविधिक पक्ष सम्हालेका थिए।

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको भूमिगत संरचनामा फसेका दुई प्राविधिकको जीवित उद्धार भयो । उद्धारका क्रममा सुरुङको अवस्था, पानी र लेदोको दबाब, ठूलो ढुंगा तथा संरचनाले सिर्जना गरेको अवरोध र सीमित उपकरणका कारण टोलीले पटकपटक आफ्नो योजना बदल्नुपरेको थियो।

जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपाने स्वयंसेवी हिसाबले फिल्डमै खटिएर उद्धार अभियानको प्राविधिक पक्षमा काम गरेका थिए । उनले आफ्नै पहलमा आफूसँग भएका र अन्य उपकरण जुटाएर टोलीसहित घटनास्थल पुगेका थिए ।

सुरुमा सुरुङभित्र कोही जीवित हुन सक्ने अनुमान थियो, तर वास्तविक अवस्था थाहा थिएन । यस्तो अवस्थामा त्यो उद्धार अभियान कसरी सफल भयो ? के चुनौती भोग्नुपर्‍यो, ४२ जना फसेको अनुमान गरिएकोमा बाँकी मानिसहरु किन भेटिएनन् लगायत विषयमा न्यौपानेसँग अनलाइनखबरका जनार्दन बरालले गरेको कुराकानी :

तपाईं यो उद्धार अभियानमा कसरी जोडिनुभयो ?

विपद् भइसकेपछि त्यसमा कसरी सहयोग गर्न सकिन्छ भन्ने सोचिरहेको थिएँ । मैले त्यसअघि पनि त्यस क्षेत्रमा काम गरेको थिएँ, स्याफ्रुबेँसी जाने बाटोमा पहिरोको कामका लागि गएको थिएँ। माथिल्लो त्रिशूली–३ ए मा पनि सबस्टेसनभन्दा माथि ट्रान्समिसन लाइनको टावरमा समस्या आएपछि निर्माण डिजाइनको काममा पनि गएको थिएँ।

त्यही क्रममा सांसद श्रीराम न्यौपानेले त्रिशूली थ्री– ए को सुरुङका विषयमा लेखेको स्टाटस देखेँ । उहाँलाई फोन गरेर उद्धारका केही विकल्पबारे कुरा गरेँ । त्यसपछि म आफू र मसँग भएका उपकरण लिएर जाने सल्लाह भयो र तत्कालै निस्किएँ । यो बाढी गएको तेस्रो दिनको कुरा थियो ।

के–के उपकरण लिएर जानुभयो ?

सुरुमा सात–आठ मिटर ड्रिल गरेपछि क्राउन एरियामा पुग्न सकिन्छ भन्ने अनुमान थियो। त्यहाँबाट हावा दिन सकिने सम्भावना थियो। त्यसैले कम्प्रेसर र चट्टानमा ड्रिल गर्ने डीटीएच मेसिन लिएर गयौँ । ती मेसिन मेरो आफ्नै कम्पनीसँग थिए ।

सात–आठ मिटर ड्रिल गरेपछि पुगिने हो भने धेरै समय लाग्दैन, हावा दिन पनि सकिन्छ, भन्ने लागेको थियो ।

तपाईंहरू बाढी गएको तेस्रो दिन फिल्डमा पुग्नुभएको थियो । त्यहाँ पुग्दा अवस्था कस्तो थियो ?

घरबाट निस्कँदा कुनै आयोजनाको अवस्थाबारे स्पष्ट जानकारी थिएन। ड्रइङ पनि थिएन एउटा आस मात्र थियो—भित्र कोही जीवितै हुन सक्छन्।

सुरुङभित्र खाली ठाउँ (क्याभिटी) हुन्छ, सबैभन्दा माथिल्लो भागमा खाली क्षेत्र (क्राउन एरिया) हुन्छ, जहाँ मानिसहरु सुरक्षित बस्न सक्छन् भन्ने अनुमान थियो । मैले जानकारी पाएअनुसार त्यो सुरुङ १७० मिटरजति मात्र लामो थियो । हामीले ५०० मिटरसम्मका छोटा सुरुङमा पनि काम गरेका छौँ, जहाँ छुट्टै भेन्टिलेसन आवश्यक नपर्न सक्छ भन्ने मलाई लागेको थियो ।

घटनास्थलमा पुगेपछि ड्रइङ, प्लान र क्रस सेक्सन हेर्‍यौँ। बाहिर बाढीले पानी कति उचाइसम्म पुर्‍यायो र लेदो कति माथिसम्म थुपार्‍यो भन्ने हेरेर सुरुङभित्रको अवस्थासँग तुलना गर्‍यौँ। पानी र लेदो, गिटीढुंगडाललगायत (डिपोजिट) फरक कुरा हो। पानी बगेर जान्छ, तर डिपोजिट बाँकी रहन्छ ।

त्यही आधारमा मान्छे जीवित हुन सक्ने अनुमान गर्नुभयो ?

त्यसरी तुलना गर्दा सुरुङभित्र माथिल्लो भागमा पानी नपुगेको हुनसक्ने अर्थात् खाली ठाउँ रहेको देखियो । नेपाल विद्युत् प्राधिकरणबाट त्यहाँ ४२ जना हुनुपर्ने जानकारी थियो। त्यहाँका इन्जिनियरहरूले पनि एउटा भाग सुरक्षित क्षेत्र हुन सक्ने बताएका थिए। त्यसैले ४२ जनामध्ये केही त्यो माथिल्लो मागमा बसेको हुनसक्ने अनुमान भयो।

त्यही आधारमा अगाडि बढ्ने निर्णय गर्‍यौँ ।

 त्यहाँ भित्र जानसक्ने मुख्य तीनवटा सुरुङ थिए, एउटा पानी बाहिरिने सुरुङ, दोस्रो बाटोका रुपमा प्रयोग भइरहेको एक्सेस सुरुङ र तेस्रो तार बाहिर निकाल्ने केबल डक्ट सुरुङ । तीमध्ये केबल डक्टबाट उद्धार प्रयास गर्ने निर्णय किन गर्नुभयो ?

त्यो ड्रइङबाटै स्पष्ट हुन्थ्यो । केबल टनेल सबैभन्दा माथिको भागमा पुग्छ । मान्छे बचेका छन् भने माथिल्लो भागमा हुन सक्ने सम्भावना बढी थियो । त्यसैले तलतिर गएर खोज्नुको खास अर्थ थिएन। जसरी हुन्छ, माथिल्लो भागमा पुग्नुपर्दथ्यो ।

भित्र पावरहाउसको माथिल्लो भाग (क्राउन)बाट दूलो बनाएर जाने विकल्प पनि थियो । तर त्यहाँबाट करिब ११२ मिटर ड्रिल गर्नुपर्ने देखिन्थ्यो। त्यो लामो दूरी हो। त्यसैले त्यसलाई प्लान बीमा राख्यौँ।

केबल टनेलको मुख पत्ता लगाउने क्रममा के भयो ?

हामीले ड्रिल गर्दा त्यही दिन एउटा ठाउँमा क्याभिटी (खाली ठाउँ) आयो। ड्रिल गर्दै जाँदा खाली ठाउँमा पुगेर भासिएपछि हामी सही दिशामा छौँ भन्ने लगभग निश्चित भयो। सर्वेबाट पनि त्यही बिन्दु आएको थियो । ड्रिलले पनि त्यसलाई पुष्टि गर्‍यो ।

तर अब समस्या अर्को थियो । टनेलको मुखभन्दा माथि करिब १० मिटरजति माटो थुप्रिएको थियो। खन्दै जाँदा ठूला–ठूला ढुंगा भेटिन्थे । तिनलाई ड्रिल गरेर ब्लास्ट गर्नुपथ्र्यो । ब्लास्टिङ गर्दा मेसिन र मानिस सबै बाहिर जानुपथ्र्यो । फेरि फर्केर काम गर्नुपथ्र्यो। त्यसले समय लिइरहेको थियो।

अगाडि एउटा ठूलो घर थियो, त्यो पनि पुरिएको थियो । बाटोमा त्यो भेटियो भने त्यसलाई पूरै भत्काएर अगाडि बढ्न कठीन हुने भएकाले त्यसलाई पनि छल्नुपर्ने अवस्था थियो। भित्रबाट निस्कने माटो सहजै बाहिर निकाल्न सकिने बाटो बनाउनेतिर हामीले सोच्यौँ।

त्यसपछि सुरुङको माथिल्लो भाग भेटियो ?

हो । टप भेटियो। ड्रइङ हेर्दा त्यहाँ चार इन्च अर्थात् करिब १०० मिलिमिटरका आई–सेक्सन राखिएका रहेछन् । तल ४० सेन्टिमिटरको कंक्रिट थियो । त्यसलाई फोड्न सजिलो थिएन।

पहिले सानो लोकल ब्लास्टिङ गर्‍यौँ । त्यसले थोरै मात्र काम गर्‍यो । त्यसपछि ड्रिलिङ मेसिनले साना–साना प्वाल बनाउँदै, काट्दै, फेरि गहिरो बनाउँदै अगाडि बढ्यौँ।

राति करिब १ बजे पहिलो प्वाल पार्दा त्यहाँबाट पानी प्रेसरमा आयो। करिब पाँच फिटजति उचाइमा पानी बस्र्ट भएर आयो । त्यसपछि बिस्तारै घट्यो । त्यसबाट हामीले पानी ठूलो जोडिएको स्रोतबाट आएको होइन, स्थानीय दबाबमा रहेको रहेछ भन्ने बुझ्यौँ।

पानी त भित्रबाट पनि आइरहेको थियो, बाहिरबाट पनि । त्यसलाई तान्ने र फाल्ने काम गरिरहेका थियौँ। तर पानीको लेभल घट्दै गएको थियो । सर्ज ट्यांकमा पनि गएर हेर्दा पानी घटिरहेको देखिन्थ्यो ।

अर्को समस्या भित्र ठूला ढुंगा वा रुखका मुडा भए भने कसरी निकाल्ने भन्ने थियो । ढुंगा भए ब्लास्ट गर्न सकिन्थ्यो । तर मुडा भए ब्लास्ट गरेर पनि हुँदैन, काट्न पनि गाह्रो हुन्छ । तर, त्यस्तो मुढाहरुले बाटो छेकेको रहेनछ । त्यही क्रममा ४ मिटर बाई ४ मिटरको टनेलको मुख भेटियो, जसबाट बबक्याटजस्ता साना मेसिन भित्र लगेर पनि काम गर्न सकिन्थ्यो ।

त्यहाँ एउटा स्लाब आएर छड्के परेर सुरुङको मुखमा बसेको रहछ, जसले भित्र ठूला ढुंगाहरु छिर्नबाट रोक्यो कि भन्ने आश पलायो । त्यसबाट भित्र छिरेर बालुवा गिटी ढुंगा निकाल्दै बाहिर फाल्दै गर्न थालियो । तीन सिफ्ट मिलाएर उद्धारकर्मीहरूले काम गरिरहेका थिए ।

मैले क्ले इन्जिनियरिङबाट तीनजना साथीहरु लिएर गएको थिएँ, श्रीराम सरको कम्पनीबाट दुईजना जानुभएको थियो । अन्य साथीहरु पनि थिए । श्रीराम र सागर ढकाल माननीयहरु पनि हुनुहुन्थ्यो । त्यहाँ स्वस्फूर्त रुपमा गएका मानिसहरुले रातदिन काम गरिरहेका थिए, जसले काम गर्न सजिलो बनायो ।

दिनभर काम गर्‍यो, राती पानी पर्‍थ्यो । अनि खनेको भाग फेरि पुर्‍थ्यो ।

पानीको जेट कसरी प्रयोग गर्नुभयो ?

नजिकै ठूलो झरना थियो। त्यसबाट प्राकृतिक रूपमा पानी आइरहेको थियो। त्यसलाई कालो पाइपमार्फत ल्याएर पानीको जेट बनाउन सकिन्छ भन्ने सोच भयो । नेपाल विद्युत् प्राधिकरणका साथीहरूले पनि ठूलो पाइप ल्याइदिनुभयो ।

माटोमा क्ले, सिल्ट, स्यान्ड, ग्राभेल हुँदै बोल्डरसम्म हुन्छ । यी सबै मिसिएको अवस्थामा पानीको जेट हान्दा सानो मटेरियल बगाएर लैजान सकिन्छ । त्यसले सुरुङभित्रको बाटो फराकिलो बनाउन सहयोग गर्छ । त्यसैले हामीले पानीको जेट प्रयोग गर्न थाल्यौँ । पानीको जेटले बगाएर ल्याएका माटो ढुंगा गिटीलगायत बाहिर निकाल्ने गर्न थालियो ।

हो। पानीको जेटले बिस्तारै भित्रतिर सफा गर्दै गयौँ। तर जोखिम पनि थियो। भित्र पानीको पकेट रहेछ भने काम गरिरहेको बेला एक्कासि पानी आउन सक्छ। त्यसैले सेनाका प्राविधिक साथीहरूसँग पनि छलफल गर्‍यौँ । पहिले सानो ठाउँमा पानीको जेट हान्ने, एक–दुई मिटर अवस्था हेर्ने, सुरक्षित छ भने अगाडि बढ्ने गर्‍यौँ । यसरी क्रमशः अगाडि बढ्यौँ। नेपाली सेनाका उद्धारकर्मीहरुले ४–५ फिटको बाटो बनाउन सकियो भने छिरिहाल्छौं भन्नुभयो । त्यहीअनुसार हामी अघि बढ्दै गयौं ।

सुरुङको मुखमा रहेको स्लाब भत्काएर पानीको फोहोराले काम खोल्न थालेपछि एक रातमै भित्र जानसक्ने बाटो बनाइयो ।

कति अगाडि पुगेपछि जीवित मानिसको संकेत पाउनुभयो ?

त्यो सुरुङ करिब ७० मिटर सिधा जान्छ र त्यसपछि घुम्छ । त्यसैले पहिले ७० मिटर पुग्ने लक्ष्य थियो। त्यसको ७० मिटरमा फेरि घुमाउरो थियो । करिब ७० मिटर पुगेपछि खुला ठाउँ ओपनिङ देखिन थाल्यो । सुरुङ उकालो लाग्दै गएको थियो। सुरुमा ५०–६० मिटरजति निकै टाइट थियो । त्यसपछि विस्तारै खुला ठाउँ देखिन थाल्यो। त्यही क्रममा मान्छे बोलेको आवाज आयो भन्ने खबर आयो ।

भित्र खुला ठाउँ देखिएपछि उद्धारकर्ताहरुले बोलाउनुभयो । भित्रबाट आवाज पनि आयो भन्नुभयो । तर, तुरुन्तै विश्वास गरिहाल्न मिल्दैनथ्यो । त्यहाँ ठूलो खाली ठाउँ थियो । आवाज भित्र ठोकिएर त्यही फिर्ता भएको पनि हुनसक्छ भन्ने लाग्यो । किनभने सामान्यतः १५ मिटर आसपाससम्म रिभर्बरेसन हुन सक्छ, टाढाबाट इको आउन सक्छ।

त्यसैले यो निकै संवेदनशील कुरा थियो । हामीले मान्छे ‘भेटियो’ भनेर बाहिर सन्देश दिइसकेपछि पछि भेटिएन भने झन् नराम्रो हुन्छ । त्यसैले आँखाले नदेखेसम्म सन्देश प्रवाह नगरौं भन्ने टिमको निर्णय थियो।

तर बीचमा भित्रबाट ‘हामी छौँ’ भन्ने आवाज आएको खबर बाहिरियो नि, त्यो चाहिँ कतिबेला हो ?

त्यहाँ भित्र एक जना बोल्न सक्ने अवस्थामा हुनुहुन्थ्यो। अर्को व्यक्ति बोल्न सक्ने अवस्थामा हुनुहुन्थेन। त्यसैले आवाज एउटै व्यक्तिको हो कि अर्को पनि हो भन्नेमा पनि केही कन्फ्युजन थियो।

त्यही कारण हामीले सन्देशलाई होल्ड गर्‍यौँ। भित्र छिरेर आँखाले देखेपछि मात्र बाहिर स्पष्ट रूपमा भन्यौँ।

अन्ततः दुई जना जीवितै भेटिएको खबर आउँदा कस्तो अनुभव भयो ?

त्यो त एकदमै ठूलो राहत थियो । जब भित्र छिरेका साथीहरू बाहिर आएर ‘दुई जना छन्’ भन्नुभयो, त्यसपछि बल्ल हामी स्पष्ट भयौं, जीवितै उद्धार गर्न सकिनेमा ।

सँगसँगै त्यहाँ एक जना मृत अवस्थामा हुनुहुन्छ भन्ने खबर पनि आयो। त्यसले फेरि दुःख लाग्यो। तीन जना भेटिएजस्तो भयो, तर तीनै जनालाई बचाउन सकिएन भन्ने भयो।

उद्धार गरिएका दुईजनामध्ये सञ्जय साह बोल्न सक्ने अवस्थामा हुनुहुन्थ्यो, कबिर महर्जनजीलाई ल्याउँदा उहाँको शरीरमा गहिरो घाउ थियो, उहाँले संकेत गरेर घाउ देखाउनुभयो, जुन गहिरो थियो, त्यसबाट धेरै रगत बगेको हुनसक्थ्यो । त्यसैले तुरुन्तै अस्पताल पठाइयो।

तपाईं आफैं पनि पछि सुरुङभित्र जानुभयो । ती दुई जना कुन अवस्थामा भेटिनुभएको रहेछ ?

तीन जनालाई बाहिर ल्याइसकेपछि सेनाका साथीहरूले ‘तपाईंलाई प्राविधिक रूपमा आइडिया छ, भित्र गएर अन्य मानिस खोजौं’ भन्नुभयो। त्यसपछि हामी भित्र गयौँ।

कबरजी भएको ठाउँमा कंक्रिटको स्ल्याब थियो । छेउको पर्खाल भत्किएको थियो। अन्तिमतिरको एउटा संरचना मात्र बाँकी थियो। एउटा स्ल्याब छड्के परेर बसेको थियो र त्यसको बीचमा रुखका ठूला मुडा थिए। त्यही स्ल्याब र मुडाबीच उहाँ अड्किएर बस्नुभएको रहेछ ।

उहाँलाई निकालिसकेपछि दुईवटा फ्रुटी खानुभयो। अझै तीनवटा माग्न खोज्नुभएको थियो। तर धेरै नखानुस् भनेर दुईवटा मात्र दिइयो। उहाँ त्यति बोल्न सक्ने अवस्थामा हुनुहुन्थेन । एकदमै सानो आवाजमा मात्र बोल्न सक्नुहुन्थ्यो ।

संजय साहजीको अवस्था कस्तो थियो ?

संजयजी कन्ट्रोल रुममा हुनुहुन्थ्यो । त्यहाँ ठूला रुखका मुडा पुगेका थिएनन् । केही संरचना भने भत्किएका थिए । स्टिलका बोर्ड, दराजलगायतका सामानहरू लडेका थिए ।

भुइँमा एक–डेढ फिटजति बालुवा थियो। पानी सुरुमा धेरै माथिसम्म आएको देखिन्थ्यो, तर पछि घटेर गएको थियो । मलाई लाग्छ, पानी तुरुन्तै घटेर उहाँहरू बच्नुभएको हो । पानी घटेपछि उहाँ रहेको ठाउँमा हावा र खाली ठाउँ बाँकी रह्यो ।

भिडियोमा एक जोर जुत्ता देखिएको थियो । त्यो संजयजीकै हो ?

हो । उहाँको जुत्ता खोलिएको थियो। त्यहाँ उहाँ हिँडडुल गर्न सक्ने केही ठाउँ थियो । एउटा झ्याल पनि खुला थियो।

अरू मानिसहरू जीवित भेटिन्छन् कि भनेर तपाईंहरुले भित्र खोज्नुभयो । तर, किन भेटिएनन् ?

हामीले दुई जना भेटिएको दिनभन्दा दुई दिनअगाडि एउटा भिडियो हेरेका थियौँ । त्यसमा करिब ३१ जना मानिस सुरुङभन्दा बाहिर दौडिरहेको देखिन्थ्यो । उनीहरुलाई नदीले बगाएको पनि देखिन्छ । तर ती ३१ जना त्यही आयोजनाका हुन् भनेर हामी निश्चित हुन सक्दैनथ्यौँ। हाइड्रोपावर हेर्न, फोटो खिच्न वा अन्य कामका लागि आएका मानिस पनि ती हुन सक्थे।

तर, भित्र ४२ जना छन् भनिएकाले ३१ जना दौडिरहेको देखिएपछि पनि केही मानिस भित्र अझै हुनुपर्छ भन्ने आशा चाहिँ थियो।

त्यसैले तीन जना मात्र भेटिँदा मलाई पनि चित्त बुझेन । फेरि एकपटक सबै ठाउँ हेरौँ भन्ने भयो । लाइट बालेर, बोलाएर, खोजेर हेर्‍यौँ । नेपाल विद्युत् प्राधिकरणका साथीहरू र नेपाल प्रहरीका साथीहरूले पनि हेर्नुभयो । तर, भित्र आवाज पनि थिएन, कुनै गन्ध पनि थिएन। त्यसपछि थप जीवित व्यक्ति भेटिने सम्भावना नरहेको निष्कर्षमा पुग्यौँ । यद्यपि, खोजीको काम भने जारी नै छ ।

सुरुमा कम्प्रेसरबाट हावा दिएर अक्सिजनको अवस्था जाँच्दै भित्र गएका थियौँ । तर पछि म दोस्रो पटक पनि भित्र गएँ, सहज रूपमा गएर फर्कियौँ ।

अहिले यो आयोजनाको उद्धार अभियानको अवस्था के छ ?

अभियान जारी छ । सेनाको टोलीले भित्र गएर सरसफाइ तथा खोजीको काम गरिरहेको छ। तर अर्को वैकल्पिक बाटो खोल्ने कामतिर अहिले गएको छैन।

त्यहाँ प्रयोग भएका उपकरणहरू अर्को ठाउँमा सारिएका छन्। मैले पनि माथिल्लो चिलिमे जलविद्युत आयोजनामा तिर आवश्यक परे उपकरण लैजान सक्नुहुन्छ भनेको छु।

यो उद्धारमा १० दिन लाग्यो । तपाईंको विचारमा हाम्रो प्राविधिक क्षमता र उपकरण पर्याप्त थिए ?

मेरो विचारमा पहिलो कुरा उद्धारको अभ्यास हो । हामीसँग उद्धारमा अभ्यास गरेका मानिस पर्याप्त हुनुपर्छ । त्यस्तो ठाउँमा जान मानिस मानसिक रूपमा पनि तयार हुनुपर्छ। प्रतिकूल अवस्थामा हतोत्साहित भएर गएर काम हुँदैन। त्यसमा प्यासन चाहिन्छ, टिमवर्क चाहिन्छ र एउटै लक्ष्य चाहिन्छ।

प्राविधिक रूपमा एउटा उपायले काम गरेन भने अर्को उपाय खोज्नुपर्छ। अवस्था फरक हुनेबित्तिकै फरक तरिका र फरक उपकरण प्रयोग गर्न सक्ने क्षमता चाहिन्छ।

हामीले नेपालमा उपलब्ध उपकरण खोजेर काम गर्‍यौँ। उपलब्ध साधनलाई आधार बनाएर योजना बनायो भने उद्धार छिटो गर्न सकिने सम्भावना हुन्छ।

प्रधानमन्त्रीले संसद्मा नेपालसँग यस्तो हिलोले पुरिएको सुरुङबाट उद्धार गर्न सक्ने विज्ञता संसारमै नभएको भन्नुभएको थियो । तपाईंलाई के लाग्छ ?

त्यसबारे धेरै टिप्पणी गर्न चाहन्नँ। उहाँले कुन तरिकाबाट र कुन सन्दर्भमा भन्नुभयो, त्यो उहाँको आफ्नो कुरा हो ।

तर बाहिरबाट आउने विशेषज्ञले पनि प्रत्येक सुरुङको प्रकृति यही हुन्छ भनेर भन्न सक्दैन । प्रत्येक ठाउँको अवस्था फरक हुन्छ । स्थानीय रूपमा त्यहाँ संलग्न भएका मानिसलाई त्यहाँ के छ भन्ने बढी जानकारी हुन्छ। नेपालमा उपलब्ध स्रोतसाधन के–के छन्, तिनलाई कसरी व्यवस्थापन गर्ने, समयमै कसरी प्रयोग गर्ने भन्ने पनि महत्त्वपूर्ण हुन्छ ।

त्यहाँ उद्धारका क्रममा रुखको मुडा भित्र छिरेको पाइएको भए भए अर्को तरिका अपनाउनुपथ्र्यो । ११२ मिटर ड्रिल गर्नुपरेको भए अर्को उपकरण चाहिन्थ्यो। हामीसँग २० टनसम्म बोक्ने हेलिकप्टर भएको भए ठूला उपकरण माथिसम्म पुर्‍याउन सकिन्थ्यो।

विदेशी साथीहरूले जीपीआरजस्ता प्रविधि पनि प्रयोग गर्नुभयो । तर त्यसले करिब ३० मिटरसम्म मात्र एक्सरे गर्न सक्थ्यो । ११२ मिटर पुग्न त्यसले काम गर्दैनथ्यो ।

त्यसैले प्रविधि नभएको भन्दा पनि त्यस ठाउँको अवस्थाअनुसार प्रविधि, साधन र सोचको संयोजन गर्नुपर्छ ।

त्यसो भए उद्धारको मुख्य कुरा उपकरण मात्र होइन ?

उपकरण त चाहिन्छ । तर उपकरण मात्रै भएर हुँदैन । त्यहाँको परिस्थिति बुझेर सोच बदल्नुपर्छ । स्थानीय अवस्था के छ, हामीसँग के साधन छन् र त्यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने सोच्नुपर्छ । एउटै तरिका सबै ठाउँमा लागू हुँदैन।

उपाय खोजिरहनुपर्छ। जहाँ जे अवस्था आउँछ, त्यसअनुसार काम गर्न सक्नु नै महत्त्वपूर्ण हो।

यो अनुभवबाट हाम्रो सुरुङ उद्धार क्षमताका कमजोरी र बलियो पक्ष के देख्नुभयो ?

त्यहाँ एउटा कुरा निकै महत्त्वपूर्ण देखियो। पावरहाउसको माथिल्लो भागमा ठूलो खाली ठाउँ थियो । करिब २०० जना हट्न सक्ने ठाउँजस्तो थियो।

तर त्यो ठाउँलाई सुरक्षित स्थानका रूपमा उपयोग गर्ने सोच मानिसहरूमा रहेनछ । त्यहाँ जाने भर्‍याङ ठाडो र साँघुरो थियो । सहज भर्‍याङ भएको भए मानिसहरू त्यहाँ पुग्न सक्ने सम्भावना हुन्थ्यो । तर त्यसलाई पनि पूर्ण सुरक्षित ठाउँ भन्न सकिँदैन। बाढी अझ १० मिटर माथि आएको भए त्यो ठाउँ पनि रहँदैनथ्यो।

त्यसैले पहिले नै जोखिमको अनुमान गरेर सुरक्षित ठाउँ, वैकल्पिक बाटो र आपत्कालीन तयारी गर्नुपर्छ भन्ने पाठ यसबाट सिक्नुपर्छ ।

बाढी आएको बेला मानिसहरू बाहिरतिर भागे, भित्रै सुरक्षित ठाउँ खोजेर बसेनन् । तपाईंले त्यसलाई कसरी हेर्नुभयो ?

उहाँहरूलाई बाहिर नै सुरक्षित हुन्छ भन्ने लागेको हुनुपर्छ । माथिबाट पनि बाढी आउँदै थियो र तलबाट पनि पानी आउने अवस्था थियो।

त्यो ठाउँमा बाढी आउँदैछ भनेर परैबाट देख्न पाएको भए भाग्न सकिन्थ्यो । तर घुम्तीबाट बाढी आउने भएकाले नजिक नआएसम्म देख्नै नसकिने अवस्था रहेछ । जब देखियो, त्यतिबेला धेरै ढिला भइसकेको थियो।

यदि पहिले नै देख्न पाएको भए १०–१५ सेकेन्डमा केही मिटर उकालो चढेर सुरक्षित ठाउँमा पुग्न सकिने सम्भावना थियो।

यो घटनाबाट नेपालले सबैभन्दा ठूलो पाठ के सिक्नुपर्छ ?

पहिलो कुरा उद्धारका लागि अभ्यास गरेका मानिस चाहिन्छ । दोस्रो, जनचेतना र मानसिक तयारी चाहिन्छ । यस्तो अवस्थामा कसरी काम गर्ने भन्ने पहिले नै थाहा हुनुपर्छ ।

तेस्रो, टिमवर्क चाहिन्छ। सबैको एउटै लक्ष्य हुनुपर्छ। चौथो, एउटा उपायले काम गरेन भने अर्को विकल्प तयार हुनुपर्छ। फरक अवस्थाका लागि फरक उपकरण र फरक सोच आवश्यक हुन्छ।

र सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीसँग उपलब्ध स्रोतसाधन के छन् भन्ने पहिले नै थाहा हुनुपर्छ। विपद् आएपछि मात्र उपकरण र मान्छे खोज्न थाल्यौँ भने समय जान्छ।

तपाईंको लागि यो उद्धारको सबैभन्दा सम्झनलायक क्षण कुन हो ?

भित्र मान्छे जीवित छन् भन्ने खबर आयो, तर देखिनसम्म हामीले विश्वास गरिहाल्न सकेनौँ। जब भित्र छिरेर दुई जना भेटिए र बाहिर आएर ‘दुई जना छन्’ भन्नुभयो, त्यो ठूलो राहतको क्षण थियो। तर एउटा मानिसलाई बचाउन नसकेको दुःख पनि त्यहीँ थियो।

म चाहन्छु, यस्तो घटना फेरि यी आँखाले नदेखून्। तर प्रकृतिले फेरि यस्तो घटना ल्याउँदैन भन्ने होइन। घटना आउन सक्छ। त्यसैले अबको पुस्ताले यस्ता घटना देख्न नपरोस् भन्नका लागि तयारी गर्नुपर्छ। प्रकृतिको घटना रोक्न नसकिएला, तर मानिसलाई बचाउन सक्ने आधार तयार गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?