News Summary
Generated by OK AI. Editorially reviewed.- युएसभी फार्माले भोटेकोशी–त्रिशुली बाढी पीडितका लागि नेपाल चिकित्सक संघको राहत अभियानमार्फत १ करोड ५० लाख सहयोग गरेको छ।
२६ भदौ, काठमाडौं । भारतीय औषधी कम्पनी युएसभी फार्माले भोटेकोशी–त्रिशुलीको बाढी पीडितका लागि १ करोड ५० लाख सहयोग गरेको छ । युएसभीले नेपाल चिकित्सक संघको राहत अभियानमार्फत उक्त सहयोग उपलब्ध गराएको हो ।
यस सहयोग रकमबाट बाढीबाट अतिप्रभावित विपन्न परिवारका व्यक्तिलाई अत्यावश्यक सामाग्रीहरू उपलब्ध गराइने नेपाल चिकित्सक संघले जनाएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रममा आयोजना गरी चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र युएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरियो ।
प्रभावित परिवारलाई ओछ्यान, ओढ्ने सामग्री, सौर्य बत्ती तथा मोबाइल चार्ज गर्ने सुविधा, खानेपानी तथा सरसफाइका सामग्रीको उपलब्ध गराइने चिकित्सक संघका अध्यक्ष डा.रिजालले बताए । त्यसैगरी अत्यावश्यक घरायसी सामग्री, औषधि तथा स्वास्थ्यसम्बन्धी सामग्रीसमेत वितरण गरिने उनले बताए ।
युएसभी फार्माको सहयोगबाट बाढी प्रभावित क्षेत्रमा रहेका करिब ३०० घरधुरीका १५०० व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित हुने डा.रिजालको भनाइ छ।
चिकित्सक संघका सदस्यहरू प्रभावित क्षेत्रमा पुगेर स्थानीय आवश्यकताको पहिचान गरिरहेको छ । अनुगमनमा गएको टोलीले दिएको सुझावका आधारमा राहतका कार्यक्रम सञ्चालन गरिने डा. रिजालले बताए । घरबारविहीन भएका परिवारका लागि करिब ३०० वटा अस्थायी आवास निर्माण गर्ने योजना समेत रहेको उनले सुनाए ।
युएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज एस. सिसोडियाले विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको बताए ।
प्रतिक्रिया 4