News Summary
Generated by OK AI. Editorially reviewed.- बुवाको मुख हेर्ने दिनमा साहारा हाङमा लिम्बुको फिल्म ‘जलाकी’ को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ ।
- ‘जलाकी’ की शीर्ष अभिनेत्री लिम्बुले बुवाको सडक दुर्घटनामा निधन भएपछि ४ दिनमै सुटिङमा फर्किएको बताइन् ।
- लिम्बुले ‘जलाकी’ लाई ड्रिम प्रोजेक्ट भन्दै मंसिर ४ देखि प्रदर्शन हुने फिल्मका लागि आफू उत्साहित रहेको बताइन् ।
काठमाडौं । ‘जलाकी’ बाट घरेलु फिल्म अभिनयमा डेब्यू गरेकी साहारा हाङमा लिम्बुको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक भएको छ । बुवाको मुख हेर्ने दिनको अवसर पारेर उनको सोलो पोस्टर सार्वजनिक गरिएको हो ।
उनी फिल्मकी शीर्ष अभिनेत्री हुन् । पोस्टरमा उनी मगर पोशाकमा सोचमग्न देखिएकी छन् । यो फिल्ममा उनले आधुनिक सोच बोक्ने युवती र स्वतन्त्रता रुचाउने भूमिका निर्वाह गरेको जनाइएको छ ।
उनले मिस टिन इन्डिया २०२२ र मिस टिन २०२२ को उपाधि पनि जितेकी छन् । उनी मिस इन्डिया सिक्किम २०२४ मा पनि सहभागी भएकी थिइन् ।
मण्डला थिएटरमा अभिनय प्रशिक्षण लिएकी उनी ‘जलाकी’ मा अडिसनमार्फत छनोट भएकी हुन् । फिल्म डेब्यूको अनुभव सुनाउँदै उनले अभिनय यात्रा केही कठिन र भिन्न रहेको बताइन् ।
छायांकनकै क्रममा उनका बुवाको सडक दुर्घटनामा निधन भयो । छायांकनका लागि काठमाडौं आउनुअघि उनले बुवालाई भेटेकी थिइन् । त्यो भेट नै उनको लागि अन्तिम भेट बन्न पुग्यो ।

बुबाले भनेको कुरा सम्झिँदै उनले भनिन्, ‘मैले जलाकीमा काम गर्ने फाइनल भएपछि सुरुमा बाबालाई भनेकी थिए । उहाँ एकदमै खुसी हुनुभएको थियो । बाबाले अर्को पटक तिमी अभिनेत्री भएर फर्किन्छौ, म तिमीलाई यही बाटोमा खादा लिएर स्वागत गर्न आउने छु, भन्नुभएको थियो तर त्यो सपना अधुरै रह्यो ।’
बुबाको अन्तिम बिदाइ सकेर ४ दिनमै उनी पुनः सुटिङमा फर्किइन् । ‘मलाई सिल्भर स्क्रिनमा हेर्ने सपना मेरो भन्दा पनि ठूलो बुबाको सपना थियो । म बुबाको सपना अधुरो रहोस् भन्ने चाहन्थेँ । त्यसैले छिटै काममा फर्किहालेँ, उनले थपिन्, ‘ममी र दिदीले पनि बाबाको सपना पूरा गर जाऊ भनेर थप हौसला र हिम्मत दिनुभयो । उहाँहरूकै हिम्मतले फर्केर सुटिङ गर्न सकेँ ।’
साहाराका अनुसार उनलाई सिनेमा क्षेत्रमा आउन परिवार र समाजसँग लडेर सबैभन्दा बढी साथ दिने व्यक्ति उनका बुबा नै थिए । उनले बुबाको सपना पूरा गर्न नै आफ्नो कामलाई निरन्तरता दिएकी हुन् ।
सुटिङको समय सम्झिँदै उनले भनिन्, ‘म सुटिङ गर्ने अवस्थामा थिइनँ । रातभर निन्द्रा लाग्दैन थियो । रातभर टोलाएर बस्थेँ । बिहान ४ बजे प्रोडक्सन टिमको फोन आउँदा झस्किन्थेँ । अनि यत्तिकैमा सुटिङमा जान्थे । तर कसैलाई भनिनँ । मनमा क्यामेरामा नसुतेकोजस्तो नदेखियोस् भन्ने डर भैरहन्थो । त्यतिबेला बाबाकै सपना पूरा गर्नुपर्छ भन्ने भावनाले झन् बलियो बनायो ।’
उनको लागि ‘जलाकी’ ड्रिम प्रोजेक्ट हो । यसका लागि आफूले निकै मेहनत गरेकोले प्रदर्शनको समयलाई लिएर एकदमै उत्साहित रहेको उनले बताइन् ।
कथाले आफूलाई आकर्षित गरेकोले पनि काम गर्नसहज भएको उनको भनाइ छ । ‘जलाकीमा मैले अभिनय गरेको चरित्र व्यक्तिगत जीवनमा पनि एकदमै कनेक्ट गर्न सकेँ । म मात्र नभएर वान साइडेड लभर सबैले कनेक्ट गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्छ ।’
‘जलाकी मंसिर ४ देखि प्रदर्शन तयारीमा छ । यो फिल्मलाई अशोक थापामगरले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया 4