+
+
Shares
सञ्जय साहका बुबा भन्छन् :

‘कृष्ण जन्माष्टमीमा छोराको उद्धार भयो, बुबाको मुख हेर्ने दिन घरमा ल्याएँ’

‘मैले हामी, आफन्त र गाउँ मात्र खुसी भएको होला भनेको त पूरै देश खुसी भएको रहेछ । काठमाडौं आएपछि थाहा भयो । त्यो दिन मेरो छोरो सकुशल भएको सुनेर खुसीले आँसु नझार्ने मान्छे कोही थिएन ।’

सन्त गाहा मगर सन्त गाहा मगर
२०८३ भदौ २६ गते २१:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीपछि अपर त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार भएका सञ्जय साह भदौ २६ गते छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट डिस्चार्ज भए।
  • सञ्जयका बुबा रामफल साहले छोरो बेपत्ता भएको एक साताभन्दा बढी समयपछि सकुशल भेटिएको खबर पाएर परिवार र गाउँमा खुसी छाएको बताए।
  • रामफल साह बिहानैदेखि अस्पतालको गेटमा छोरो पर्खेर बसेका थिए र पछि डिस्चार्ज हुनासाथ छोरोलाई सप्तरी लैजान चाहन्थे।

२६ भदौ, काठमाडौं । सप्तरीकोे तिलाठी कोइलाडी–४ का रामफल साह सुत्न नसकेको एक साताभन्दा बढी भइसकेको थियो । रामफल मात्र होइन, उनकी पत्नी कपुरदेवी, बुहारी लक्ष्मीको समेत रुनलाई आँसुु पनि बचेको थिएन । लक्ष्मीको अढाइ बर्से छोरीले मात्र घरमा किन रुवाबासी चलिरहेको हो ? मेलोमेसो पाएकी थिइनन् ।

‘यति रोएछौं कि आँसुु पनि आउन छोडिसकेको थियो,’ रामफल सम्झन्छन् ।

नरुउन् पनि किन ? रामफल र कपुरदेवीका छोरा सञ्जय साह १० भदौदेखि सम्पर्कविहीन थिए ।

नेपाल विद्युत् प्राधिकरणमा चौथो तहका जागिरे सञ्जयसँग १० गते बिहानसम्म फोनका कुराकानी भएको थियो ।

रसुवामा विनाशकारी बाढी आउनु र त्यही बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ मा कार्यरत छोराको फोन नलाग्ने भएपछि परिवारमा रुवाबासी त हुने नै भयो ।

‘त्यो बेला बाढीमा परेर यति जनाको मृत्यु भयो, उति जना बेपत्ता भए भन्ने समाचार आइरहेको थियो । त्यस्तो कुराले मन झनै विचलित बनाउँथ्यो,’ रामफल भन्छन् ।

आफन्तको मनले स्वीकार्न नमान्दा–नमान्दै पनि सञ्जय फर्किने आशा विस्तारै निराशामा परिणत हुँदैगएको थियो ।

भदौ १९ गते अनिदो र थकित तनमन लिएरै रामफल नुहाइधुवाइ गरेर पूजा गर्न बसे । पूजा गर्ने स्थान घरबाट नजिकै थियो ।

‘ठीक त्यहिबेला सञ्जय सकुशल भेटियो भन्ने मेसेज पाएँ । त्यसपछि घरमा आएँ । खुसीको माहोल यस्तो बन्यो म तपाईँलाई भन्नै सक्दिनँ । हामी मात्र होइन, पूरै गाउँमा उमंग छायो,’ रामफल भन्छन् ।

रामफल साह

उनी थप्छन्, ‘सकुशल छ भन्ने सुनेपछि त झन् कहिले काठमाडौं पुगेर छोरालाई हेरुँ ? जस्तो भयो ।’

रसुवा बाढीको १० औं दिन नेपाली सेनालगायतको उद्धार टोलीले सञ्जय र कबिर महर्जनलाई अपर त्रिशूली- ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरेको थियो ।

उद्धार भएकै दिन रामफलले सञ्जयलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भेटे ।

‘मैले कस्तो छ बाबु भने ?’ उनी भन्छन्, ‘ठीकै छु’ बाबुले सानो स्वरमा भन्यो ।’

नौ दिनसम्म केही नखाइ बसेकाले छोरो विस्तारै-विस्तारै बोल्नसक्ने अवस्थामा रहेको रामफल सम्झन्छन् ।

उपचारपछि सञ्जयको स्वास्थ्यमा क्रमिक सुधार भयो ।

छोरोको उपचारका लागि एक हप्तादेखि गौरीघाटस्थित आफन्त कहाँ बसेका रामफलले भदौ २६ गते बिहानै उठेर नुहाइधुवाइ गरेर छाउनी तर्फ लागे । उनलाई कहिले ११ बज्ला भन्ने भयो ।

किनभने उनलाई अस्पतालले ‘तपाईँको छोरो बिहान ११ बजे डिस्चार्ज हुन्छ’ भनेको रहेछ ।

११ बज्नुभन्दा पहिला नै उनी अस्पतालको गेटमा पुगेर बसे ।

तपाईँ चाहिँ अस्पतालभित्र किन नजानु भएको ? भन्ने प्रश्नमा उनले भने, ‘भित्र बुहारी लक्ष्मी, नातिनी, भाइ, भाइबुहारी जानु भएको छ, त्यही भएर बाहिरै बसेको हुँ ।’

बिहानको ११ बज्यो छोरा डिस्चार्ज भएनन् । भित्रबाट सूचना आयो- साढे तीन बजे बल्ल डिस्चार्ज हुनेभयो ।

त्यतिबेलासम्म पनि रामफल भनिरहेका थिए– छोरा छिट्टै डिस्चार्ज भयोभने आजै सप्तरी लिएर जान्छु ।

‘मैले त छोरोलाई छुन पाइसकेँ । हेरिसकेँ । छोरोलाई देख्न नपाएर सञ्जयकी आमाको अवस्था खराब छ । त्यही भएर आजै घर लैजान्छु,’ रामफलले सप्तरी फर्कन हतारिनुको कारण खुलाए ।

‘मैले हामी, आफन्त र गाउँ मात्र खुसी भएको होला भनेको त पुरै देश खुसी भएको रहेछ,’ उनी भन्छन्, ‘काठमाडौं आएपछि थाहा भयो । त्यो दिन मेरो छोरो सकुशल भएको सुनेर खुसीले आँसु नझार्ने मान्छे कोही थिएन ।’

उनी भनिरहेका थिए- पहिला छोरो घर लग्नुपर्‍यो । एक हप्तामा फलोअपमा आउनू भनेको छ ।

‘भदौ १९ गते कृष्ण जन्माष्टमीको दिनमा छोरो सकुशल भएको खबर पाएँ । आज बुबाको मुख हेर्ने दिनमा छोरोलाई अस्पतालबाट घर लिएर जाँदैछु,’ उनले अनलाइनखबरसँग यस्तो संवाद गरिरहँदा अर्को समय तोकियो– पाँच बजे मात्र डिस्चार्ज हुने भयो ।

यो सूचनासँगै अर्को सर्त जोडिएर आएको थियो । सञ्चारकर्मीहरू अस्पताल गेटबाट नगएसम्म बिरामीलाई डिस्चार्ज नगर्ने रे !

त्यसपछि सञ्चारकर्मीहरू लाखापाखा लागे ।

सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले चार बज्नुभन्दा पहिला नै अस्पतालबाट सञ्जय डिस्चार्ज भइसकेको बताएका थिए । अनलाइनखबरमा ३:५८ मा सञ्जय डिस्चार्ज भएको समाचार प्रकाशित गरिसकेको थियो ।

पाँच बज्यो । सञ्जय डिस्चार्च भएनन् ।

बिहानैदेखि अस्पतालको गेटमा छोरोको प्रतीक्षा गरिरहेका रामफल फेरि अर्को सूचना पाए-  साढे ६ बजे मात्र डिस्चार्ज हुन्छ ।

रामफल घरी सडकको पेटीमा बस्थे, घरी उभिएर अस्पतालतर्फ हेर्थे ।

दिनभरी टिसर्ट लगाएर बसेका उनलाई जाडो लागेछ क्यारे ! टिसर्टमाथि पहेंलो रंगको पुरा बाहुला भएको सर्ट लगाए ।

साढे ६ बजे । रामफलका छोरा आएनन् । अर्को सूचना आयो- अस्पतालभित्रै ट्याक्सी पठाउनुपर्ने ।

ट्याक्सीको खोजी भयो । बागमती प्रदेश ०१-००२ ज ६०८२ नम्बरको ट्याक्सी भित्र जान तयार भयो ।

अस्पतालको गेटमा केही मिनेटको सोधपुछपछि बल्ल ट्याक्सीभित्र जान पायो ।

रामफल फेरि सेतो रंगको त्यो ट्याक्सीको प्रतीक्षामा बसे ।

केही बेरको पर्खाइपछि ट्याक्सी देखियो । अस्पतालको गेटमा फेरि सोधपुछ चल्यो ।

ट्याक्सीको अघिल्लो सिटमा सञ्जयका काका कुशेश्वर थिए ।

सञ्जय पछिल्लो सिटमा छोरी र श्रीमतीलाई दायाँ राखेर हँसिलो मुद्रामा देखिए । बायाँतर्फ सञ्जयकी काकी थिइन् ।

‘भरोसा हो सबैभन्दा ठूलो कुरा, संघर्ष, आत्मविश्वासले गर्दा १० सम्म सुरुङभित्र जीवित रहनसकेँ । म सुरुङभित्र महामन्त्र जप गरेर बसेको थिएँ,’ सुरुङबाट उद्धार भएपछि उपचार गरेर फर्केका उनले भने ।

बिहानैदेखि छोरोलाई कुरेर बसेका रामफल त्यो ट्याक्सीमा भने अटेनन् ।

त्यतिबेलासम्म झिसमिसे साँझ भइसकेको थियो, रामफल पनि अर्को ट्याक्सी लिएर गौरीघाटतर्फ लागे ।

तस्वीर/भिडियो: शंकर गिरी/आर्यन धिमाल

लेखक
सन्त गाहा मगर

गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?