+
+
Shares

शिक्षामन्त्रीको प्रष्टीकरण : हल्लाभन्दा काम ठूलो हो, हाम्रो मूल्यांकन जनताले गर्नेछन् 

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशको औरही गाउँपालिकामा आयोजित पाठ्यक्रम सुधारसम्बन्धी कार्यक्रममा भएको विवादबारे प्रष्टीकरण दिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षामन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा पाठ्यक्रम सुधारका लागि सुझाव सङ्कलन गरिरहेको बेला भएको विवादबारे प्रष्टीकरण दिएका छन्।
  • उनले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ समेटेर आगामी शैक्षिक सत्रदेखि लागू गर्ने विषयमा सरोकारवालासँग छलफल भइरहेको बताए।
  • उनका अनुसार दुई जनाले हल्ला गरेपछि कार्यक्रम प्रभावित भयो, तर भिडियोको छोटो क्लिपका आधारमा भ्रम फैलाइएको छ।

२७ भदौ, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशको औरही गाउँपालिकामा आयोजित पाठ्यक्रम सुधारसम्बन्धी कार्यक्रममा भएको विवादबारे प्रष्टीकरण दिएका छन्। उनले आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने गरी ‘बुक फ्रि फ्राइडे’ र स्किल इन एजुकेसन’ जस्ता विषय समेट्न सुझावका लागि मधेश आइपुगेको पनि बताएका छन्।

तर उनले आजको कार्यक्रममा एक दुई जनाले हल्ला गरेपछि सुझाव संकलन नै प्रभावित भएको बताए।

‘अहिले हामी मधेश प्रदेशमै छौँ। नेपालको विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि हिजोदेखि मधेशका विभिन्न जिल्लामा विद्यालय तथा क्याम्पसस्तरमै पुगेर विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव सङ्कलन गरिरहेका छौँ,’ उनले भनेका छन्, ‘आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने गरी ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता नवीन अवधारणा समेट्ने विषयमा पनि प्रत्यक्ष संवाद गरिरहेका छौँ। आज सिरहा र सप्तरीमा १०० जनाभन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरैभन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो। तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौँ।’

उनले भाइरल बनेको उक्त कार्यक्रमको भिडियोबारे प्रष्ट पार्न खोजेका छन्। सार्वजनिक भिडियोमा मन्त्री पोखरेल बोलिरहँदारहँदै सुरक्षाकर्मीले बाहिर निकालेको देखिन्छ।

यसबारे उनले भनेका छन्, ‘त्यही घटनाको एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास भएको छ। लोकतान्त्रिक पद्दतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ। तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन।’

उनले भ्रामक प्रचारले शिक्षा सुक्षारको उद्देश्यलाई रोक्न नसक्ने पनि भनेका छन्। ‘सो घटनापछि पनि हामी सिरहास्थित बहिरा बालबालिका पढ्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गर्‍यौँ। आज मात्रै करिब ८–१० वटा विद्यालयमा पुगेर अत्यन्त फलदायी रूपमा सुझाव सङ्कलन गरेका छौँ। भोलि सप्तरीबाट मोरङतर्फ लाग्दैछौँ,’ उनले थप भनेका छन्, ‘मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षाका क्षेत्रमा भइरहेका सकारात्मक काम देखेर असन्तुष्टि हुनु स्वाभाविक होला। तर, त्यसैका आधारमा भ्रम फैलाउनेभन्दा हामीले गरिरहेको कामलाई जनताले आफैँ मूल्याङ्कन गर्न दिनु राम्रो हुन्छ।’

उनले आफूहरू राजनीति गर्नभन्दा पनि शिक्षा क्षेत्र सुधारका लागि आएको पनि बताएका छन्। ‘हल्लाभन्दा काम ठूलो हो, र हाम्रो काम र नियतको मूल्याङ्कन जनता स्वयंले गर्नेछन्,’ उनले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?