+
+
Shares

ब्रिक्स देशहरूले गरे प्यालेस्टाइनको समर्थन, जेरुसेलम कब्जाको विरोध

ब्रिक्स देशहरूले दुई–राज्य(इजरायल र प्यालेस्टाइन) समाधानको समर्थन गरेका छन् । यसअन्तर्गत सन् १९६७ मा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त सीमाभित्र सार्वभौम र स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापना गर्ने तथा त्यसको राजधानी पूर्वी जेरुसेलम रहने उल्लेख गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते २२:२५

२७ भदौ, काठमाडौं । ब्रिक्स देशहरूको शिखर सम्मेलनले मध्यपूर्वमा प्यालेस्टाइनको समर्थन गरेको छ । नयाँ दिल्लीमा सुरु भएको शिखर सम्मेलनको घोषणापत्रमा इजरायल–प्यालेस्टाइन द्वन्द्वको न्यायपूर्ण र दीर्घकालीन समाधान शान्तिपूर्ण माध्यमबाट मात्रै सम्भव रहेको उल्लेख छ ।

ब्रिक्स देशहरूले दुई–राज्य(इजरायल र प्यालेस्टाइन) समाधानको समर्थन गरेका छन् । यसअन्तर्गत सन् १९६७ मा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त सीमाभित्र सार्वभौम र स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापना गर्ने तथा त्यसको राजधानी पूर्वी जेरुसेलम रहने उल्लेख गरिएको छ ।

ब्रिक्स राष्ट्रहरूले इजरायलको कब्जामा रहेको जेरुसेलमको कानुनी तथा ऐतिहासिक अवस्थालाई परिवर्तन गर्ने कुनै पनि एकतर्फी कदम स्वीकार नगर्ने बताएका छन् । उनीहरूले सहरका सबै धार्मिक तथा पवित्र स्थलको पवित्रताको सम्मान गर्न र सबै मानिसलाई बिना अवरोध धार्मिक स्थलमा पुगेर आफ्ना धार्मिक परम्परा तथा अभ्यास पालना गर्ने अधिकार सुनिश्चित गर्न अपिल गरेका छन् ।

गाजाको मानवीय अवस्थाप्रति पनि ब्रिक्स सम्मेलनले चिन्ता व्यक्त गरेको छ । गाजाका नागरिक, स्वास्थ्य केन्द्र तथा अन्य नागरिक पूर्वाधारमाथि हुने आक्रमण र मानवीय सहायता रोक्ने कार्यको समेत ब्रिक्सले निन्दा गरेको छ ।

ब्रिक्सले गाजामा युद्धविराम कायम राख्न र मानवीय सहायता निर्बाध रूपमा पुग्ने व्यवस्था सुनिश्चित गर्न माग गरेको छ । प्यालेस्टाइनीहरूको जबर्जस्ती विस्थापन तथा गाजाको भौगोलिक अवस्था वा जनसंख्यामा कुनै पनि प्रकारको परिवर्तनको ब्रिक्सले विरोध गरेको छ ।

यस्तै, लेबनानमा भएको युद्धविरामको स्वागत गर्दै ब्रिक्सले सबै पक्षलाई त्यसका सर्त पालना गर्न र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नम्बर १७०१ पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान गरेको छ ।

मध्यपूर्व र पश्चिम एसियामा बढ्दो तनावप्रति ब्रिक्सले गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयम अपनाउन र परिस्थितिलाई थप बिगार्न सक्ने गतिविधिबाट बच्न आह्वान गरेको छ ।

सुडानमा बिग्रँदो मानवीय संकटप्रति चिन्ता व्यक्त गर्दै तत्काल र स्थायी युद्धविराम तथा वार्तामार्फत समाधान खोज्न अपिल गरिएको छ । घोषणापत्रमा सिरियाको सार्वभौमिकता तथा सबै पक्षलाई समेट्ने राजनीतिक प्रक्रियाप्रतिको समर्थन जनाइएको छ । –बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?