News Summary
Generated by OK AI. Editorially reviewed.- ब्रिक्स शिखर सम्मेलनको अन्तिम दिन आज सदस्य राष्ट्रका नेताहरू र आमन्त्रित देशका प्रमुखहरूको खुला बैठक बस्दैछ।
- भारतले ब्रिक्स राष्ट्रहरूको साझा मुद्रा बनाउने प्रस्ताव नरहेको स्पष्ट पारेको छ र स्थानीय मुद्रामा व्यापार प्रवर्द्धनबारे छलफल भइरहेको जनाएको छ।
- ब्रिक्स राष्ट्रहरूले नयाँ दिल्ली घोषणापत्र स्वीकृत गर्दै पहलगाम आतङ्ककारी हमलाको निन्दा र आर्थिक सहयोग रोक्ने प्रतिबद्धता जनाएका छन्।
२८ भदौ, काठमाडौं । ब्रिक्स शिखर सम्मेलनको आज अन्तिम दिन हो। आज सदस्य राष्ट्रका नेताहरू र अन्य आमन्त्रित देशका प्रमुखहरू सहभागी हुने खुला बैठक बस्दैछ।
बैठकमा ब्रिक्ससँग जोडिएका विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुनेछ। त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४ देशका नेताहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नेछन्।
सम्मेलनको पहिलो दिन नै भारतले हाल ब्रिक्स राष्ट्रहरूको आफ्नै कुनै साझा मुद्रा बनाउने प्रस्ताव नरहेको स्पष्ट पारेको छ।
यद्यपि, विदेश मन्त्रालयले ब्रिक्स देशहरूबीच स्थानीय मुद्रामा आपसी व्यापार र भुक्तानीलाई प्रवर्द्धन गर्ने विषयमा भने छलफल भइरहेको जनाएको छ।
यसको मुख्य उद्देश्य देशहरूबीच व्यापार सहज बनाउनु र कारोबार लागत घटाउनु हो।
ब्रिक्स राष्ट्रहरूद्वारा ‘नयाँ दिल्ली घोषणापत्र’ स्वीकृत
ब्रिक्स राष्ट्रहरूले शनिबार सम्मेलनका क्रममा नयाँ दिल्ली घोषणापत्रलाई स्वीकृति दिएका छन्, जसमा विभिन्न मुद्दाहरूमा साझा वक्तव्य जारी गरिएको छ।
घोषणापत्रमा रुस र चीनसहितका ब्रिक्स राष्ट्रहरूले पहलगाम आतङ्ककारी हमलाको निन्दा गरेका छन्। आतङ्ककारीहरूलाई आश्रय दिनेहरूविरुद्ध मिलेर कारबाही गर्ने प्रतिबद्धता जनाइएको छ।
यसका साथै, आतङ्ककारीसम्म पुग्ने आर्थिक सहयोग रोक्न र उनीहरूलाई सुरक्षित आश्रय दिनेहरूमाथि कडा कदम चाल्न पनि सहमति जुटेको छ।
पश्चिम एसियामा तनाव बढिरहेको र इरान, साउदी अरब र यूएईका विभिन्न मुद्दामा फरक-फरक अडान रहेको समयमा पनि ब्रिक्स राष्ट्रहरूबीच संयुक्त वक्तव्य जारी गर्न सहमति जुट्नुलाई अर्थपूर्ण मानिएको छ।
पश्चिमा देशहरूका लागि ब्रिक्सको बढ्दो चुनौती
ब्रिक्स देशहरूले आपसी व्यापारमा डलरको प्रयोग घटाउने र आफ्नै मुद्राहरूमा कारोबार बढाउने प्रयास गरिरहेका छन्। साथै, विभिन्न देशका अनलाइन भुक्तानी प्रणालीहरूलाई आपसमा जोड्ने काम पनि भइरहेको छ।
हालसम्म ब्रिक्सको आफ्नै कुनै भुक्तानी प्रणाली वा साझा मुद्रा नभए पनि, भारतको अध्यक्षतामा भइरहेको यसपटकको सम्मेलनमा देशहरूका डिजिटल भुक्तानी प्रणाली र डिजिटल मुद्रालाई आपसमा जोड्न जोड दिइनेछ। यसले गर्दा एक देशबाट अर्को देशमा पैसा पठाउन सहज हुनेछ र डलरको आवश्यकता कम हुँदै जानेछ।
प्रतिक्रिया 4