+
+
Shares

हात हल्लाएर ट्राफिक व्यवस्थापन गर्ने युगको अन्त्य हुनुपर्छ : आईजीपी कार्की

एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईजीपी दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी र आधुनिक प्रविधि बढाउनुपर्ने बताए ।
  • उनले ट्राफिक प्रहरीलाई सडकको बीचमा जोखिम मोलेर उभिनुपर्ने र हात हल्लाएर सवारी नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए।
  • कार्कीले ७५३ वटै स्थानीय तहसँग समन्वय गरी प्रहरीलाई जग्गा, भवन, सवारीसाधन र विपद् उद्धार सामग्रीमा सहयोग गर्न आग्रह गरे।

२८ भदौ, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै सडकमा हात हल्लाएर सवारी साधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले ट्राफिक प्रहरीलाई सडकको बीचमा जोखिम मोलेर उभिनुपर्ने बाध्यता हटाउनुपर्नेमा जोड दिएका हुन्।

महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउन एआई क्षमताका सीसीटीभीलगायतका आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताए।

‘सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरी सधैँ सडकको बीचमा जोखिमपूर्ण रूपमा उभिएर हात हल्लाउँदै व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिको प्रयोग बढाउनुपर्छ,’ उनले भने।

साथै, एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ।

नेपाल प्रहरी र स्थानीय तहबीच भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको जानकारी दिँदै उनले ७५३ वटै स्थानीय तहलाई गृह मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय र सङ्घीय मामिला मन्त्रालयमार्फत समन्वयका लागि पत्राचार भइरहेको बताए।

स्थानीय तहहरूबाट प्रहरीलाई हुनसक्ने सहयोगबारे चर्चा गर्दै उनले आवश्यकताअनुसार नेपाल प्रहरीलाई जग्गा तथा भवन उपलब्ध गराउन र कार्यालय निर्माण तथा मर्मतमा सहयोग गर्न आग्रह गरे ।

उनले सवारीसाधन तथा विपद् उद्धारका सामग्री उपलब्ध गराउन पनि आग्रह गरे । सीसीटीभी जडान र विस्तारमा सहयोग गर्दै जनचेतनामूलक कार्यक्रममा सहकार्य गर्ने काममा पनि प्रहरीलाई स्थानीय तहले सघाउनुपर्ने उनले बताए ।

यस्ता सहकार्यले प्रहरी सेवा र महानगर प्रहरी सेवालाई थप प्रभावकारी रूपमा जोड्ने उनको तर्क थियो ।

महानगरको कामको प्रशंसा

आईजीपी कार्कीले नागरिकलाई सफा सडकमा हिँड्न पाउने र फुटपाथ अवरोधमुक्त रूपमा प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्न काठमाडौं महानगरले गरिरहेको कामको प्रशंसा गरे।

अहिले पहिलेको जस्तो असरल्ल फोहोरको थुप्रो देख्न नपर्ने अवस्था बनेको उनले बताए। यद्यपि, फोहोरमैला व्यवस्थापनमा उत्पादनस्थलदेखि अन्तिम व्यवस्थापनस्थलसम्मै चुनौती रहेकाले यसको प्रभावकारी उपाय खोज्नुपर्नेमा उनले जोड दिए।

आगामी दिनमा काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा आपत्कालीन प्रतिकार्य प्रणाली (इमर्जेन्सी रेस्पोन्स सिस्टम) लाई थप प्रभावकारी बनाउने अपेक्षा उनले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?