+
+
Shares

साथ माग्न आएका ओलीलाई विद्याको उल्टै प्रश्न- यसरी पार्टी चल्छ त ?

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय लिएपछि ओलीसँग सम्बन्ध टाढिएको थियो । त्यसपछि ओली पहिलोपटक विद्यालाई भेट्न उनको निवास पुगेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते २०:०७

३० भदौ, काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलमा मतभेद चलिरहँदा अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग तीन दिन अघि लामो भेटवार्ता गरेका छन् ।

स्रोतका अनुसार ओली र भण्डारीबीच शुक्रबार दिउँसो अढाई घण्टा बढी कुराकानी भएको थियो । कुराकानी एमालेको आन्तरिक राजनीतिमा केन्द्रित रहेको स्रोत बताउँछ ।

‘राष्ट्रिय राजनीतिबारे कुराकानी हुने नै भयो । तर, एमालेको आन्तरिक राजनीतिमा बढीकेन्द्रित भयो,’ स्रोत भन्छ ।

एमाले पुनर्गठन कार्यदल र पार्टी सचिवालयमा अल्पमतमा रहेका ओली भण्डारीलाई भेट्न उनकै निवास बालुवाटार पुगेका थिए ।

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय लिएपछि   ओलीसँग सम्बन्ध टाढिएको थियो । त्यसपछि  ओली पहिलोपटक भेट्न पुगेका हुन् ।

भण्डारी राष्ट्रपति हुँदा शीतल निवास र कार्यकाल सकिएपछि भंगालमै पुगेर ओलीले भेट्ने गरेका थिए । तर, गत वर्ष साउनमा भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय ओलीले एमाले केन्द्रीय कमिटीबाट पारित गराए ।

यसपछि पहिलोपटक ओली बालुवाटार पुगेका हुन् । उच्च स्रोतका अनुसार पार्टीभित्र देखिएको संघर्षमा साथ माग्न ओली बालुवाटार पुगेका थिए ।

‘राष्ट्रिय राजनीति र पार्टीभित्र अप्ठेरो स्थिति छ । यस्तो बेला मिलेर जानुपर्छ भन्ने प्रस्ताव थियो,’ भण्डारीनिकट स्रोत भन्छ, ‘उहाँहरूबीच त्यसबारे लामै संवाद भयो ।’

भेटमा ओलीले पार्टीभित्र रडाको मच्चाउने, अनुशासनहीनतालाई प्रश्रय दिने र बाह्य शक्तिलाई बल पुग्नेगरी प्रतिवेदन बनाउने प्रवृत्ति देखिएको तर्क गरेका थिए । तर, पूर्वराष्ट्रपति भण्डारीले सबैलाई मिलाएर अगाडि बढ्न सुझाव दिएकी छन् ।

‘तपाईंलाई विगतमा नजिक रहेर साथ दिनेहरू नै अहिले विपक्षमा उभिएका छन् । तपाईं अल्मपतमा हुनुहुन्छ भन्ने सुन्छु,’ भण्डारीले ओलीलाई उल्टै प्रश्न गरेकी थिइन्, ‘यसरी पार्टी चल्छ त ?’

एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले ओलीलाई नयाँ ढंगले सोच्न आग्रहसमेत गरेकी थिइन् । ‘एकताबद्ध भएर पार्टी उठाउनुपर्छ । नेतृत्वको काम सबैलाई सहमतिमा ल्याउनु हो,’ भण्डारीको सुझाव थियो, ‘हिजो साथ दिनेहरू किन विपक्षमा उभिए त ? यसबारे सोच्नुपर्छ ।’

उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेलले उठाएको पार्टी पुनर्गठनको एजेन्डाबारे गम्भीर भएर सोच्नुपर्ने पनि सुझाव उनले दिएकी छन् ।

तर, ओलीले भने नेतृत्व छोड्दा झनै समस्या आउने तर्क गरेका थिए । ‘विष्णु र शंकरहरूले पार्टी चलाउन सक्दैनन् भन्ने उहाँको कुरा थियो,’ भण्डारीनिकट एक नेता भन्छन् ।

उनका अनुसार, आफैँले खोसेको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरिसकेका ओली जसरी पनि विद्या भण्डारीको साथ लिने योजनामा देखिन्थे ।

‘सदस्यता नवीकरण नगर्न साथ लिएका विष्णु पौडेल र शंकर पोखरेलहरूसँग कुनै सल्लाह नगरी नवीकरण गर्ने निर्णय लिनुभयो,’ उनी भन्छन्, ‘फेरि पार्टीभित्र अल्पमतमा परेपछि उहाँको साथ खोज्दै हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?