News Summary
Generated by OK AI. Editorially reviewed.- अध्यागमन विभागले नेपाल प्रवेश गरेका विदेशी नागरिकका लागि ‘नेपाली पोर्ट’ एपमार्फत ‘पासपोर्ट फ्रि ट्राभल’ अवधारणा अघि बढाएको छ।
- महानिर्देशक रामचन्द्र तिवारीले बुधबार पत्रकार सम्मेलनमा डिजिटल राहदानी र भिसालाई आधिकारिक मान्यता दिने गरी काम अघि बढाइएको जानकारी गराउनुभयो।
- विभागले मोबाइल एप, क्युआर कोड र बायोमेट्रिक, पिन, ओटिपी वा फेस रिकगनिशनमार्फत पहिचान प्रमाणित गर्ने व्यवस्था गर्ने बताएको छ।
३१ भदौ, काठमाडौं । नेपाल प्रवेश गरेका विदेशी नागरिकको बसाईलाई सहज बनाउन अध्यागमन विभागले ‘पासपोर्ट फ्रि ट्राभल’ को अवधारणा अघि बढाएको छ ।
यसका लागि विभागले ‘नेपाली पोर्ट’ एपमार्फत काम अघि बढाएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएका छन् । ‘नेपाली पोर्ट’ प्रणालीको अभिलेखबाट आधिकारिक रुपमा प्राप्त हुने डिजिटल स्वरुपको राहदानी र भिसा लगायतका विवरणलाई मान्यता दिने गरी अहिले काम अघि बढाइएको छ ।
मन्त्रालयबाट निर्णय भएपछि यो कार्यान्वयनमा आउने विभागले बताएको छ । यसले नागरिकमा एपमा हुने डिजिटल लाइसेन्सलाई ट्राफिक प्रहरीले मान्यता दिएजस्तै ‘नेपाली पोर्ट’मा हुने डिजिटल पासपोर्ट तथा भिसालाई मान्यता दिने गरी काम अघि बढाइएको विभागका सूचना प्रविधि निर्देशक अनुप न्यौपानेले बताए ।
आन्तरिक हवाई उडानदेखि, होटल बसाई, मनि एक्सचेन्जमा समेत डिजिटल पासपोर्ट देखाउँदा हुने बताइएको छ । यसले भौतिक पासपोर्ट बोक्न बिर्सिँदा हुने झन्झटबाट विदेशी पर्यटक मुक्त हुने बताइएको छ ।
डिजिटल पासपोर्ट तथा भिसाको मुल स्रोत विभागको नेपाली पोर्ट प्रणाली हुनेछ । विदेशी नागरिकले नेपाली पोर्ट एप आफ्नो मोबाइलमा इन्स्टल गरेर आफ्नो विवरण भरेर प्रमाणीकरण गर्नेछन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय, नागरिक उड्डयन प्राधिकरण, प्रदेश तथा स्थानीय तह, होटल, बैंक तथा वित्तिय संस्था, ट्रेकिङ एण्ड ट्राभल्स एजेन्सी जस्ता विदेशी नागसिरकलाई सेवा दिने निकायहरुले आवश्कता अनुसारलाई यसलाई प्रयोग गर्न सकिने बताइएको छ ।
यसका लागि क्युआर कोडको प्रणाली प्रयोगमा ल्यान्छ । सम्बन्धीत निकाय तथा अधिकारीले क्युआर कोडमा स्क्यान गरी नेपाली पोर्टबाटै तत्काल डिजिटल स्वरुपको राहदानी, भिसा लगायतका विवरणको वैधानिकता प्रमाणित गर्न सकिने बताइएको छ ।
जोखिम न्यूनिकरणका लागि बायोमेट्रिक, पिन, ओटिपी वा फेस रिक्गनिशन मध्ये कुनै एक माध्यमबाट प्रयोगकर्ताले पहिचान अनिवार्य रुपमा प्रमाणित गर्न सक्नेछन् ।
कस्तो अवस्थामा थप कागजात चाहिन्छ ?
केही विशेष अवस्थामा भने डिजिटल राहदानी तथा भिसाले काम नगर्ने अध्यागमनका प्रवक्ता टिकाराम ढकाल बताउँछन् । मुख्यतया मोबाइल एप प्रणाली उपलब्ध नभएको, केन्द्रीय प्रणाली अस्थायी रुपमा बन्द भएको, पहिचान पुष्टि हुन नसकेको अवस्थामा डिजिटल राहदानीले काम गर्दैन । यस्तो अवस्थामा भने थप कागजात तथा भौतिक रुपमा पासपोर्ट भिसा चाहिन सक्छ ।
त्यसैगरी विवरणमा जालसाजी भएको शंका लागेमा पनि थप कागजात जाँच हुनसक्ने बताइएको छ ।
यो प्रणाली लागु भएपछि भौतिक कागजात तिनीहरुका प्रतिलिपि बोक्नुपर्ने झन्झट हट्ने बताइएको छ । यसले म्यानुअल प्रमाणीकरणको कार्यमा समेत उल्लेख्य रुपमा कमी ल्याउने बताइएको छ ।
प्रतिक्रिया 4