+
+
Shares

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा सांस्कृतिक महोत्सव हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा मंसिर ६ गते काठमाडौंको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६ : संस्कृतिमार्फत ऐक्यबद्धता’ हुने भएको छ।
  • जापानको सांगीतिक समूह गोडिएगोले महोत्सवमा विशेष प्रस्तुति दिनेछ, र सन् १९८० पछि ऊ पुनः नेपाल आउन लागेको हो।
  • महोत्सवको बचत रकम भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिने आयोजकले जनाएको छ।

३१ भदौ, काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आगामी मंसिर ६ गते (२२ नोभेम्बरमा) काठमाडौँको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६ : संस्कृतिमार्फत ऐक्यबद्धता’ आयोजना हुने भएको छ।

‘नेपाल–जापान महोत्सव २०२६ कार्यकारी समिति’को आयोजनामा हुने महोत्सवले नेपाली तथा जापानी संगीत, कला, संस्कृति र जनस्तरको सम्बन्धमार्फत दुई देशबीचको मित्रता, सद्भाव तथा ऐक्यबद्धतालाई थप सुदृढ गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

महोत्सवको मुख्य आकर्षणका रूपमा जापानको चर्चित सांगीतिक समूह गोडिएगोको विशेष प्रस्तुति रहनेछ। सन् १९८० मा दशरथ रंगशालामा ऐतिहासिक कन्सर्ट गरेको चार दशकभन्दा बढी समयपछि गोडिएगो पुनः नेपाल आउन लागेको हो।

गोडिएगोको पुनरागमनले नेपाल र जापानबीचको लामो सांस्कृतिक सम्बन्धलाई थप जोड्ने आयोजकको विश्वास छ।

महोत्सवमा नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति तथा नेपाल र जापानको कला, संस्कृति, पर्यटन र व्यापारसँग सम्बन्धित विभिन्न प्रदर्शनीसमेत आयोजना गरिनेछ।

हालै भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले महोत्सवको आवश्यक खर्च कटाएर बचत हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिने आयोजकले जनाएको छ।

महोत्सवमार्फत नेपाल र जापानबीचको सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई थप बलियो बनाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने आयोजकको विश्वास छ। यसबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान थप उजागर हुनुका साथै आर्थिक पुनरुत्थानमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?