+
+
Shares

भोटेकोशी/त्रिशूली करिडोरमा पर्यटनको विस्तृत क्षति आकलन गरिँदै, पुनरुत्थान कसरी ?

पर्यटन मन्त्रालयले पर्यटकीय सम्पदा, पूर्वाधार, जनशक्ति लगायतमा भएको क्षति आकलनको काम गरिरहेको छ । त्यसको अनुमानसँगै पुनरुत्थान कार्यक्रम र प्याकेज समेत तयार पारिने छ ।

अच्युत पुरी अच्युत पुरी
२०८३ भदौ ३१ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले भोटेकोशी/त्रिशूली करिडोरमा पर्यटन क्षेत्रमा भएको क्षतिको विस्तृत आकलन र पुनरुत्थान योजना बनाउन सुरु गरेको छ ।
  • पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसँग सहकार्य गरेर होटल, रेस्टुरेन्ट, पदमार्ग, पूर्वाधार र जनशक्तिमा भएको क्षति संकलन गरिरहेका छन् ।
  • १० भदौको बाढीका कारण पर्यटन क्षेत्रमा ५० अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान छ, र ६ सय ७ पर्यटक अझै बेपत्ता छन् ।

३१ भदौ, काठमाडौं । सरकारले भोटेकोशी/त्रिशूली करिडोरमा पर्यटन क्षेत्रमा भएको क्षतिको विस्तृत आकलन सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रमा भएको क्षतिको विस्तृत अध्ययनको काम छुट्टै भइरहेको छ । जसमा सरोकारवालाको सहभागितामा क्षति आकलन र पुनरुत्थान योजना बनाउने काम समावेश छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यका अनुसार अहिले दुई वटा पक्षमा काम भइरहेको छ ।

पर्यटन क्षेत्रको समग्र क्षतिबारे पर्यटन मन्त्रालयले क्षतिको आकलनको काम गरिरहेको छ । जसमा पर्यटकीय सम्पदा, पूर्वाधार, जनशक्ति लगायत भएको क्षति आकलनको काम गरिँदैछ । त्यसको अनुमानसँगै पुनरुत्थान कार्यक्रम र प्याकेज समेत तयार पारिने छ ।

अर्कातर्फ, नेपाल पर्यटन बोर्डका तर्फबाट निजी क्षेत्रसँगको सहकार्यमा पर्यटनमा निजी क्षेत्रतर्फ भएको क्षति आकलनको काम समेत जारी छ । विनाशकारी बाढीले पर्यटन क्षेत्रमा समेत बहुआयामिक क्षति गरेको छ । यसको ठोस विवरण निकाल्ने काम अहिले भइरहेको छ ।

नेपालले विगतमा समेत यस प्रकारका प्राकृतिक विपत्तिमा डटेर सामना गर्दै छोटो अवधिमै पर्यटन पुनरुत्थान गरेको इतिहास छ । सोहीकारण वर्तमान सरकारलाई समेत यस्तै प्रभावकारी अभियान ल्याउनुपर्ने दबाब छ ।

पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा द्रुत प्रतिक्रिया टोली (क्यूआरटी) गठन गरिएको छ । अघिल्लो साता उक्त टोलीसहित सरोकारवालाको बैठकले भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षति विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्म पहल गर्ने निर्णय गरेको थियो ।

बैठकले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित पर्यटन क्षेत्रको क्षति यकिन गरी पुनरुत्थानका कार्यक्रम अघि बढाउन तथ्यांक संकलनदेखि वैकल्पिक सडक, पदयात्रा मार्ग र अन्तर्राष्ट्रिय सूचना प्रवाहसम्मका काम अघि बढाउने निर्णय गरेको थियो ।

बैठकले नेपाल सरकारले प्रयोग गरिरहेको क्षति विवरण संकलन फारमलाई आवश्यकता अनुसार परिमार्जन गरी प्रभावित जिल्लाका होटल तथा रेस्टुरेन्ट लगायत पर्यटन सेवा प्रदायकको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको थियो । विवरण संकलनका लागि फारम अनलाइन मार्फत उपलब्ध गराइएको छ ।

प्रभावित क्षेत्रमा पर्यटन पुनरुत्थानका लागि ‘टुरिज्म रिकभरी साइकल’ तयार गर्न पर्यटन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डबीच आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ ।

बैठकले कैलाश–मानसरोवर यात्राका लागि नेपाल–चीन सीमामा वैकल्पिक नाका सञ्चालन गर्न कूटनीतिक पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको थियो । यसबाट कैलाश–मानसरोवर यात्रामा परेको सम्भावित प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा सरोकारवालाको छ ।

लाङ्टाङ क्षेत्रमा चालु सिजनमै पदयात्रा सञ्चालन गर्न आवश्यक स्थानमा बेली ब्रिज निर्माणका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको थियो ।

रसुवा धुन्चे पुग्ने वैकल्पिक सडकमार्गको नक्सा तयार गर्ने निर्णय समेत बैठकमा भएको छ । सडक अवस्थाबारे पर्यटकलाई नियमित र विश्वसनीय सूचना उपलब्ध गराउन नेपाल प्रहरीको ट्राफिक कार्यालय तथा पर्यटक प्रहरीबाट सडक सञ्चालन सम्बन्धी सूचना प्राप्त गरी पर्यटन बोर्डका सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाइने भएको छ ।

बैठकले बाढी प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य तथा पर्यटन सेवा सुरक्षित रूपमा सञ्चालनमा रहेको सन्देश प्रभावकारी ढंगले प्रवाह गर्नुपर्नेमा पनि जोड दिएको छ । यसका लागि वास्तविक अवस्था र नियमित सूचनालाई प्राथमिकतामा राख्ने निर्णय गरिएको छ ।

नेपालको पर्यटन अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई यथार्थ सूचना उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय विश्‍व पर्यटन संगठन र पाटा लगायतका अन्तर्राष्ट्रिय पर्यटन संस्थासँग समन्वय गर्ने तथा नेपालमा रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसँग संवाद गर्न पहल गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकमा होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्ष भरतजंग पाण्डे, नेपाल पर्वतारोहण संघ, होटल व्यवसायी महासंघ, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान), हिमालयन उद्धार संघ, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्ट्स (नारा), एक्सपिडिसन एसोसिएसन अफ नेपाल, नेपाल पर्यटन यातायात व्यवसायी संघ, नेपाल पर्यटक बस व्यवसायी संघ, कैलाश अपरेटर संघ, टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल(टुर्गान), नेपाल एसोसिएसन अफ टुर अपरेटर (नाटो) तथा सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर (सोट्टो) का प्रतिनिधि सहभागी थिए ।

मन्त्रालयका सहसचिव आचार्यका अनुसार पर्यटन पुनरुत्थानको काम सरकार एक्लैको होइन, सोहीकारण मन्त्रालय पूर्वाधार र वातावरण निर्माणमा केन्द्रित हुनेछ । यसको नेतृत्व पर्यटन बोर्ड र निजी क्षेत्रले गर्नेछन् ।

उनले भने जस्तै यस बाढीका कारण भौतिक रूपमा सबैभन्दा बढी क्षति निजी क्षेत्रले बेहोरेको छ ।

पर्यटनमा कस्तो छ क्षति स्केल ?

१० भदौको बाढीका कारण ३७ मुलुकका ६ सय ७ जना पर्यटक अझै बेपत्ता रहेको पर्यटन विभागको तथ्यांक छ । विभागका अनुसार यसमा सबैभन्दा धेरै भारतीय १ सय ८९ जना छन् ।

त्यस्तै अमेरिकाका ६५, युक्रेन ५४, चीन ३७, अस्ट्रेलिया ३३, बेलायत ३२ र क्यानडाका ३० पर्यटक बेपत्ता छन् । मानवीय क्षतितर्फ पर्यटन व्यवसायी र मजदुरको विस्तृत विवरण यकिन भइरहेको छैन ।

पर्यटनमन्त्री खड्कराज पौडेलले संसदीय समितिमा दिएको जानकारी अनुसार पर्यटन क्षेत्रमा मात्र ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

उनका अनुसार बाढीले १ सय ४२ होटल बगाएको छ । ५७ वटा रेस्टुरेन्टमा क्षति गरेको छ । १ सय ४१ सवारीसाधनमा क्षति पुगेको छ । लाङटाङ, गोसाइँकुण्ड, पार्वती कुण्ड, नाथली लगायत जाने पदमार्गमा क्षति पुगेको छ ।

यसबाहेक स्मारक, पार्क, धार्मिक सम्पदा लगायतमा ठूलो क्षति पुगेको छ । समिति बैठकमा मन्त्री पौडेलले अन्तर्राष्ट्रिय समुदायको विश्‍वास कायम गर्न र नेपालमा पर्यटक आगमन बढाउने रणनीतिबारे सरकारले काम गरिरहेको बताएका थिए ।

‘पर्यटन व्यवसाय भावनासँग जोडिएको र सहानुभूतिमा आधारित व्यवसाय हो, अहिले पर्यटन क्षेत्रले ठूलो मानवीय तथा आर्थिक क्षति बेहोरेको छ,’ उनले भने, ‘सरकारले प्रभावित पर्यटन श्रमिकका लागि कर्मचारी कल्याणकारी कोष स्थापना गर्न सरकारले काम गरिरहेको छ ।’

मन्त्री पौडेलले भोटेकोशी विपद्लाई जलवायु परिवर्तनसँग जोडेर दीर्घकालीन रूपमा रसुवालाई ‘क्लाइमेट हेरिटेज’ का रूपमा विकास गर्ने अवधारणा अघि सार्नुपर्ने बताए । हिमालहरू विश्वकै साझा जलवायु सम्पदा भएकाले नेपालले यस्ता विपद्बाट भएको क्षति र जलवायु न्यायको मुद्दालाई अन्तर्राष्ट्रिय रूपमा उठाउनुपर्ने उनको भनाइ थियो ।

विगतमा यसरी गरिएको थियो सफल पुनरुत्थान

जानकारका अनुसार नेपालमा १० वर्ष चलेको माओवादी युद्धका बेला पनि पर्यटन अवरुद्ध भएको थिएन । २०७२ सालको भूकम्पबाट आधा नेपाल प्रभावित भयो । लगत्तै २०७३ सालमा पर्यटन बोर्डको अगुवाइमा ‘घुमफिर वर्ष २०७३’ घोषणा गरियो ।

वाह्य पर्यटक नेपाल आउन डराइरहेको समयमा त्यस अभियानले आन्तरिक पर्यटनलाई जुरुक्कै उचाल्यो । त्यसले वाह्य पर्यटक आगमन केही समय प्रभावित हुँदा पनि व्यवसाय कायम राख्न भूमिका खेल्यो ।

भूकम्प लगत्तै पर्यटकलाई विमानस्थलमा राखिएका ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देशका प्लेकार्डमा तस्विर खिचाएर त्यसको प्रवर्द्धन समेत व्यापक बनाइएको थियो ।

साथै, गुगलमा नेपालललाई असुरक्षित छ भन्ने सन्देश दिने खालका तस्विर बाहुल्य रहेको समयमा सकारात्मक तस्विर अपलोड गरी त्यसमार्फत सन्देश प्रवाह व्यापक बनाइएको थियो ।

पछिल्लो समय जेनजी आन्दोलनपछि समेत नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाहका लागि पर्यटन बोर्डले गन्तव्यबाट लाइभ गर्ने र त्यसमा पर्यटकको धारणा प्रत्यक्ष समेट्ने गरी अभियान थालेको थियो ।

अहिले समेत पर्यटनमन्त्री तथा सरोकारवालाले नेपाल सुरक्षित छ भन्ने आह्वान सहित केही भिडियो सन्देश सार्वजनिक गरेका थिए । तर, त्यसको प्रभावकारी प्रचारप्रसार भएको छैन ।

व्यवसायीका अनुसार भोटेकोशी बाढीपछि अन्तर्राष्ट्रिय पर्यटकमा पूरै नेपाल असुरक्षित छ भन्ने सन्देश गएको छ । जसले गर्दा मुख्य पर्यटकीय सिजन नजिकिँदै गर्दा अग्रिम बुकिङ रद्ध गर्ने प्रवृत्ति समेत देखिएको हान अध्यक्ष विनायक शाहले जानकारी दिए ।

‘बुकिङ रद्ध हुने क्रम देखिन्छ, यसलाई रोक्न प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ,’ उनले भने, ‘यसको नेतृत्व सरकारले नै गर्ने हो ।’

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?