+
+
Shares
विचार :

कांग्रेसको सङ्कट : पुस्तान्तरणलाई रूपान्तरणमा बदल्ने चुनौती

पुस्तान्तरण अर्थात् नेतृत्वको उमेर फेरिनु यो प्रक्रियाको सुरुआत मात्र हो, अन्त्य होइन। वास्तविक रूपान्तरण त तब मात्र सम्भव हुन्छ जब दलले आफ्नो निर्णय प्रक्रिया, साङ्गठनिक संस्कृति र जनताप्रतिको जवाफदेहितामा गुणात्मक परिवर्तन ल्याउन सक्छ। गगन थापाको नेतृत्वमा आएको नयाँ कार्यसमितिले यो अवसरलाई साँच्चै अवसरका रूपमा लिने वा फेरि पुरानै लयमा फर्किने ?

भानु पराजुली भानु पराजुली
२०८३ असोज १ गते ८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसमा गगन थापा नेतृत्वको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेपछि देउवा पक्षले अदालत गयो।
  • सर्वोच्च अदालतले विशेष महाधिवेशन वैधानिक ठहर गर्दै थापा पक्षलाई आधिकारिक मान्यता दियो, तर पुनरावलोकनको अनुमति पनि दिएको छ।
  • लेखले पुस्तान्तरण मात्र रूपान्तरण नहुने भन्दै कांग्रेसमा पारदर्शी महाधिवेशन, जवाफदेही नेतृत्व र आन्तरिक लोकतन्त्र आवश्यक रहेको निष्कर्ष निकालेको छ।

नेपाली राजनीतिमा सबैभन्दा पुरानो र संस्थागत हैसियत बनाएको दल हो- नेपाली कांग्रेस। कांग्रेसका नेता तथा कार्यकर्ता इतिहासमा स्तुत्य छन्; यसअर्थमा कि २००३ सालको पहिलो महाधिवेशनले जहानियाँ राणाशासन फाल्ने उद्घोष गरेको थियो। त्यही जगमा उभिएर आधुनिक नेपालको ढोका खोल्ने काम मात्रै गरेन, नेपाली कांग्रेसले प्रजातन्त्रको लामो यात्रा नै तय गर्‍यो।

२०१२ सालमा नेपाली कांग्रेसको दोस्रो महाधिवेशनले सुवर्णशमशेरलाई सभापति मात्रै बनाएन, समाजवादी आर्थिक नीति र निजीकरणको दिशानिर्देश गर्‍यो। यो घोषणा र कार्यक्रम नै नेपाली कांग्रेसको जीवनमा दोस्रो खुड्किलो र गन्तव्यको अर्को पाटोहरू समेत थियो। २०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र २०६४ सालमा बसेको महासमिति बैठकले नेपालमा संवैधानिक राजतन्त्रको अन्त्य गर्ने निर्णय गर्‍यो। अन्ततः त्यही निर्णय नै यो देश गणतन्त्रमा हिंड्ने गन्तव्यको अर्को एउटा ऐतिहासिक कदम बन्यो।

प्रजातन्त्रको लडाइँदेखि बहुदलीय व्यवस्था, गणतन्त्र स्थापना र संविधानसभासम्मका हरेक ऐतिहासिक मोडमा यो दलको प्रत्यक्ष उपस्थिति र योगदान महत्त्वपूर्ण छ। विडम्बना ! जुन दलले नेपाली समाजलाई पटक–पटक रूपान्तरणको बाटो देखायो, आज त्यही दल आफ्नै भित्री रूपान्तरणको प्रश्नमा जेलिएको छ।

महत्त्वपूर्ण परिवर्तनको नेतृत्व गरेको यस पार्टीको आगामी यात्रा कस्तो रहला ? भन्ने प्रश्न आज पनि उत्तिकै अनुत्तरित छ। ‘पुस्तान्तरण’ र ‘रूपान्तरण’- यी दुई शब्द आजभोलि कांग्रेसको हरेक बैठक, भेला र भेटघाटमा दोहोरिने शब्द बनेको पाएको छु। तर प्रश्न उठ्छ- के यी दुई अवधारणा एउटै हुन् ? के नेतृत्वको उमेर फेरिनु मात्रै रूपान्तरण हो त ? सबैभन्दा महत्त्वपूर्ण- के साँच्चै नेपाली कांग्रेस यथार्थमा त्यो बाटोमा हिंड्न सक्ला त ?

गत वर्ष भदौ २३ र २४ गते नेपालमा जेनजी विद्रोह भयो। विद्रोहले नेपाली राजनीतिमा हावी वृद्धतन्त्रमाथि नवयुवाहरूले ब्रेक लगाउन बाध्य बनाए। दलहरू फरक भए पनि निश्चित नेता मात्रै सत्ताको म्युजिकल चेयर खेलमा मस्त थिए। वृद्ध नेताको यस खेलले नवयुवा रिसाएका मात्रै थिएनन्, विरक्त समेत थिए। तिनै तन्नेरीले सुशासनको मूल माग सहित थालेको जेनजी विद्रोहले वृद्धतन्त्रको अन्त्य गर्दै युवाहरूलाई देश सञ्चालनकै मूल सत्तामा स्थापित गरेको छ।

नयाँ पुस्ताले भाषण र आश्वासनभन्दा माथि उठेर स्पष्ट आर्थिक, सामाजिक र प्रशासनिक सुधारका योजना ल्याउन आवश्यक छ। जेनजी पुस्ताले परिणाममुखी काम, पारदर्शिता र जवाफदेहिता खोजेको छ, नाराबाजी होइन।

यस विद्रोहले सत्तामै सुस्ताएका कांग्रेसका तन्नेरी नेताहरूलाई समेत झस्काइदियो। नेपालमा २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएदेखि सत्ताको चास्नीमा मस्त नेताहरू अझै छाड्न तयार नदेखिएको अवस्थामा दुई जना महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भयो र नेतृत्व परिवर्तन सहित चुनावमा गयो। चुनाव अनपेक्षित जस्तै थियो। तत्कालको नेतृत्व परिवर्तनले कांग्रेसका मतदातामा उत्साह थपे पनि मत नै थप्न सक्ने अवस्था थिएन। त्यो परिवर्तन ढिला भइसकेको थियो।

रोचक विषयचाहिं के हो भने- कांग्रेसको केन्द्रमा गगन थापा, विश्वप्रकाश शर्मा वा प्रदीप पौडेल स्वीकार्न तयार पाका नेताहरू वडा, क्षेत्र वा जिल्लामा नयाँ पुस्ता रोक्ने प्रयत्नमा छन्। यदि रोक्न नसकिए सक्षम, क्षमतावान् भन्दा पनि ‘कमजोर र नातावाद–कृपावाद प्रवृत्तिका युवा’ उनीहरूको पहिलो रोजाइमा पर्ने निश्चित जस्तै छ।

पार्टीको क्रियाशील सदस्यता वितरण नै गुट र आफूलाई सघाउने प्रतिबद्धता सहित क्रियाशीलबाट क्षेत्रीय प्रतिनिधि ल्याउने सम्भावना प्रबल छ। यो पाका नेताको पुस्ताले अहिलेको समाजशास्त्र अझै बुझेको छैन जस्तो लाग्छ।

पुस्तान्तरण र रूपान्तरण सुन्दा उस्तै लागे पनि यी नितान्त फरक प्रक्रिया हुन्। पुस्तान्तरण भन्नाले नेतृत्वको उमेर समूह फेरिनु हो; अर्थात् पुरानो पुस्ताबाट नयाँ पुस्ताको हातमा जिम्मेवारी सर्नु। यो प्रायः सङ्ख्यात्मक र प्रत्यक्ष देखिने प्रक्रिया हो। ‘को सभापति भयो ?’, ‘को महामन्त्री बन्यो ?’ वा ‘को केन्द्रीय समितिमा प्रवेश पायो ?’ भन्ने कुराले यसलाई नाप्न सकिन्छ।

रूपान्तरणचाहिं धेरै गहिरो र संरचनागत प्रक्रिया हो। यसले दलको सोच्ने शैली, निर्णय प्रक्रिया, साङ्गठनिक संस्कृति, जनतासँगको सम्बन्ध, नीति निर्माणको तरिका र जवाफदेहिताको संस्कारमा नै आमूल परिवर्तन खोज्छ। दलको झन्डा उही रहे पनि त्यसभित्रको कार्यशैली, मूल्य र प्राथमिकता फेरिनुलाई रूपान्तरण भनिन्छ।

यस पार्टीमा कलह जस्तो पार्टीभित्रको बहसलाई ‘रूपान्तरणको प्रारम्भिक चरणका रूपमा व्याख्या गर्नुपर्ने’ तर्क एकथरी नेताहरूको छ। कतिपयले चाहिं ‘जेनजी आन्दोलनले विगत ३५ वर्षमा नेतृत्वले बाटो बिराएको तथ्य छर्लङ्ग पारेको छ, अब नयाँ पुस्तालाई अगाडि सार्नुको विकल्प छैन’ भनेका छन्। यसबाट स्पष्ट हुन्छ- पार्टीभित्रै पुस्तान्तरणलाई ‘रूपान्तरणको साधनका रूपमा हेर्ने’ र ‘त्यसलाई मात्रै रूपान्तरण ठान्ने’ बीच मत विभाजन छ।

नेपाली कांग्रेसको स्थापना २००६ सालमा भएको हो। बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला जस्ता नेताहरूले दलको नेतृत्व गर्दै आएका थिए। यी सबै नेता आआफ्नो समयमा युवा अनुहार नै थिए। माथि उल्लेख गरिए झैं, पहिलो र दोस्रो महाधिवेशनदेखि नै दलले पुस्तान्तरणको प्रक्रिया विगतमा पनि भोगेकै हो। तर पछिल्लो डेढ–दुई दशकमा यो प्रक्रिया लगभग अवरुद्ध जस्तै भयो।

शेरबहादुर देउवा लामो समयदेखि दलको सभापति बने र उनी बारम्बार प्रधानमन्त्री समेत बने। यसले दलभित्र ‘एउटै अनुहार, एउटै नेतृत्व शैली’ भन्ने गुनासो बढ्दै लगेको देखिन्छ। तैपनि देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलन, समावेशिता र विकासमा खेलेको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन, त्यो प्रशंसायोग्य नै छ।

युवा नेताहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायतले लामो समयदेखि नेतृत्व परिवर्तनको माग गर्दै आएका थिए। संस्थापन पक्षले महाधिवेशन नै समयमा नबोलाउने, टार्ने र स्थगित गर्ने रणनीति अपनाएको आरोप युवा खेमाले लगाउँदै आयो। २०८२ सालमा नेपालमा भएको जेनजी विद्रोहले सिङ्गो राजनीतिक परिदृश्यलाई हल्लायो र यसको लहर नेपाली कांग्रेसभित्र पनि प्रवेश गर्‍यो।

२०८२ सालमा देशभर फैलिएको युवा नेतृत्वको आन्दोलनले परम्परागत राजनीतिक नेतृत्व, भ्रष्टाचार, बेरोजगारी र असमान अवसर विरुद्ध व्यापक असन्तुष्टि व्यक्त गर्‍यो। यस आन्दोलनले सिङ्गो राजनीतिक व्यवस्थामाथि प्रश्न उठाउँदा नेपाली कांग्रेस पनि यसबाट अछुतो रहन सकेन। दलभित्रैका युवा नेताले यही आन्दोलनको सन्देशलाई आफ्नो तर्कको आधार बनाए- ‘यदि सडकको आवाजले व्यवस्थालाई हल्लाउन सक्छ भने, दलभित्रको युवा आवाजले पनि नेतृत्व परिवर्तन गर्न सक्नुपर्छ’ भन्ने माग मुखरित भएको देखिन्छ।

यस आन्दोलनपछि नेपाली कांग्रेसभित्र पुस्तान्तरणको माग झनै चर्को बन्यो। विगतमा सहमतिको राजनीति गरेर टारिंदै आएको नेतृत्व हस्तान्तरणको विषय अब स्थगित हुन नसक्ने अवस्थामा पुग्यो।

२०८२ पुस महिनामा नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजना भयो, जुन दलको इतिहासकै एउटा विवादास्पद घटनाक्रम बन्न पुग्यो। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पक्षले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गरी विशेष महाधिवेशनको माग राखे। तर सभापति शेरबहादुर देउवाले न त विशेष महाधिवेशन बोलाए, न नियमित महाधिवेशन नै तोकिएको समयमा सम्पन्न गराए। यसले दलभित्रको असन्तुष्टिलाई थप चर्काइदियो।

तीन दिनसम्म सहमति खोज्ने प्रयास असफल भएपछि विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गर्‍यो र दल औपचारिक रूपमा विभाजित देखियो। देउवा पक्षले थापा, शर्मा र अर्का नेता मन्सुर विरुद्ध कारबाही समेत गरेपछि विवाद अझ चर्कियो। यसले दलको झन्डा र चुनाव चिह्नको स्वामित्व समेत विवादमा तानियो।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दियो, जस विरुद्ध देउवा पक्ष सर्वोच्च अदालत पुग्यो। तर सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिक ठहर गर्दै थापा पक्षलाई नै आधिकारिक मान्यता दियो। अदालतले स्पष्ट पारेको थियो- ‘महाधिवेशन बोलाउने जिम्मेवारी सभापतिको थियो, उनले नबोलाएपछि नै थापा पक्षले आफ्नै पहलमा महाधिवेशन गरेको हो। जुन गैरकानूनी होइन, बरु देउवाले आफ्नो दायित्व पूरा नगरेकै परिणाम हो।’

यद्यपि यो विवाद यहीं टुङ्गिएन। केही महिनापछि सर्वोच्च अदालतले नै देउवा र पूर्णबहादुर खड्काको निवेदनमा उक्त फैसला पुनरावलोकन गर्ने अनुमति दियो। अदालतले ‘प्राकृतिक न्यायको सिद्धान्त अनुसार निर्वाचन आयोगले देउवा पक्षलाई पर्याप्त सुनुवाइको मौका नदिई निर्णय गरेको’ भन्ने कानूनी प्रश्नलाई आधार बनाएको छ।

जबसम्म पुनरावलोकनको अन्तिम फैसला आउँदैन, तबसम्म गगन थापा नेतृत्वको कार्यसमिति नै कानूनी रूपमा आधिकारिक रहनेछ। नेपाली कांग्रेस आफ्नो राजनीतिक वैधतालाई संस्थागत गर्न आगामी महाधिवेशनको तयारीमा जुटिरहेको छ भने देउवा पक्ष अदालतको अन्तिम फैसलाको प्रतीक्षामा छ।

यसले के देखाउँछ भने नेपाली कांग्रेसको पुस्तान्तरण प्रक्रिया राजनीतिक सहमतिबाट भन्दा बढी अदालतको न्यायिक व्याख्याबाट डोरिइरहेको छ; जुन आफैंमा दलको आन्तरिक प्रजातन्त्रका लागि राम्रो सङ्केत होइन।

एजेन्डाभन्दा पनि नेताविशेषको निकटताका कारण राजनीति गर्ने, अर्थात् चाकडी, चुक्ली र चाप्लुसी हावी भएका कारण आम नागरिकसँग यो पार्टीको सम्बन्ध टुटेको छ; जुन गत चुनावले देखाइसकेको छ। आम मानिसको सहज सम्बन्धमा रहन नसक्ने कुनै पनि पार्टीले प्रजातान्त्रिक चरित्र बोक्न सक्दैन।

पार्टीमा सही नेतृत्व चुन्ने र नागरिकसितको सम्बन्धलाई पुनर्नवीकरण गर्ने माध्यम नै महाधिवेशन हो। तर दुःखको कुरा, नेपाली कांग्रेसका धेरै नेता र कार्यकर्ता बिग्रिसकेका पाइन्छन्। चाकडी, चुक्ली र चाप्लुसी गर्ने तथा ‘गणेश प्रवृत्ति’ हावी छ। एकातिर भने आफूकेन्द्रित फाइदाका लागि मात्रै काम गर्ने चलन अझै बढी छ। जुन कार्यले नेपाली कांग्रेसको आन्तरिक प्रजातान्त्रिक पद्धति झनै कमजोर बनाएको छ। आसेपासे, नातागोता, हुक्के–बैठके, जीहजुरी गर्ने प्रवृत्तिलाई प्रश्रय दिंदा आम नागरिकको पार्टीप्रतिको जनविश्वास कम हुँदै गएको देखिन्छ।

नेपाली कांग्रेसको वर्तमान सङ्कट केवल ‘को सभापति बन्ने ?’ भन्ने प्रश्नमा सीमित छैन। यो प्रश्न एउटा ऐतिहासिक दलले आफूलाई बदलिंदो समय, बदलिंदो पुस्ता र बदलिंदो अपेक्षा अनुसार कसरी ढाल्ने ? भन्ने बारेको पनि हो।

देश नयाँ राज्य संरचनामा प्रवेशको यो चरणमा यसको व्यवस्थापन सम्बन्धी धारणा नेपाली कांग्रेसले आफ्ना कार्यकर्तालाई दिएन र उनीहरूबाट त्यस्तो कुनै सुझाव नै लिएन। के नेपाली कांग्रेसले परम्पराबाट अवलम्बन गर्दै आएको आर्थिक नीतिको सान्दर्भिकता अझै छ कि छैन ? यसको समीक्षा आम कार्यकर्ताले अब गर्ने कि नगर्ने ? वैदेशिक लगानीले देशमा खर्च गर्न सक्ने क्षमता वृद्धि गरेको छ कि छैन ? सस्तो लोकप्रियताका लागि भाषणमा मात्रै रमाउने नेताहरूले साँच्चै जनपरिचालन गर्न सकेका छन् कि छैनन् ?

जनपरिचालन गर्न नसक्ने बजेटले प्रजातन्त्रको विकास हुन सक्दैन भन्ने निष्कर्ष हो। जनसहभागिता नै प्रजातन्त्रको सबैभन्दा बलियो तागत हो। पार्टीको नीति र कार्यक्रम कार्यान्वयनको सन्दर्भमा अप्रजातान्त्रिक ढाँचा हाबी भयो भने सक्नेका लागि सबैथोक र नसक्ने तथा गरिबका लागि अभावै अभाव छ। जनसहभागितामूलक लोककल्याणकारी कार्यक्रमलाई यस पार्टीले बिर्सेका कारण नै नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादमा प्रश्नचिह्न खडा भएको छ।

पुस्तान्तरणले मात्रै रूपान्तरण ल्याउँछ त ?

यहाँ नै मूल प्रश्न उठ्छ- के गगन थापा सभापति बन्नु मात्रैले नेपाली कांग्रेसको रूपान्तरण हुन्छ ? धेरै विश्लेषकको तर्क छ- होइन। उमेरले मात्र सोच फेरिंदैन। यदि उही पुरानो सङ्गठनात्मक संरचना, उही गुटबन्दी, उही भागबन्डाको राजनीति र उही आसन्न निर्वाचनकेन्द्रित सोचले नै दललाई डोर्‍याइरह्यो भने नेतृत्वको अनुहार फेरिए पनि दलको चरित्र उस्तै रहन्छ।

कुनै पनि प्रजातान्त्रिक पार्टीमा पारिवारिक विरासत गौण हुनुपर्छ। राष्ट्र र समाजले अपेक्षा गरेको नेतृत्वले नै मौका वा जिम्मेवारी पाउनुपर्छ। अर्थात् प्रजातान्त्रिक पार्टीभित्रै साँच्चिकै मास लिडरको जन्म हुनुपर्छ। प्रजातान्त्रिक पार्टी जनआधारित ‘मास बेस पार्टी’ हो, कम्युनिस्ट जस्तो सीमित कार्यकर्तामा आधारित ‘क्याडर बेस पार्टी’ होइन। पारिवारिक विरासतको भारले कुनै पनि पार्टीलाई जीर्ण बनाउँछ भन्ने कुरामा अब सबै स्पष्ट भइसकेको देखिन्छ। नेपाली कांग्रेस आज पनि ‘मास बेस’ पार्टी नै हो, त्यसैले यसको नेतृत्व लिने जो–कोहीले पनि भावी कार्यदिशा सहितको जनमत माग्ने आधार तय गर्नुपर्छ।

कांग्रेस पुनर्गठनको सम्भावनामाथि गम्भीर प्रश्न अहिले पनि छ, र भन्छ- ‘यदि दलले आफैंलाई पुनर्जन्म दिन सक्दैन भने विसर्जन नै लोकतन्त्रप्रतिको सबैभन्दा इमानदार योगदान हुन सक्छ।’

यो धारणा अतिवादी सुनिन सक्छ, तर यसले दलभित्र व्याप्त निराशा र आत्मसमीक्षाको गहिराइलाई प्रतिबिम्बित गर्छ। विशेष महाधिवेशन र त्यससँग जोडिएको आधिकारिकताको विवादले एउटा कुरा भने स्पष्ट पारेको छ- नेपाली कांग्रेसमा पुनर्गठन र पुस्तान्तरणको आवश्यकता मात्र होइन, यो समयकै माग बनिसकेको छ। विशेष महाधिवेशन सकिएपछि पनि यदि दलले आत्मसमीक्षा नगरी पुरानै लयमा अघि बढ्ने हो भने यो सम्पूर्ण प्रक्रिया नै अर्थहीन बन्ने खतरा रहन्छ। पुनर्गठनको अर्थ केवल पदको बाँडफाँट होइन, यसको अर्थ ‘निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिता स्थापित गर्नु’ हो।

नेपाली कांग्रेस साँच्चिकै रूपान्तरण गर्न चाहन्छ भने महाधिवेशन र नेतृत्व चयनको प्रक्रिया पारदर्शी, समयबद्ध र विवादरहित बनाउनुपर्छ। अदालतमा पुगेर मात्र नेतृत्व टुङ्गिने अवस्थाले दलको आन्तरिक लोकतन्त्रको कमजोरीलाई नै उजागर गर्छ। पार्टीको तल्लो तहदेखि नै माथिल्लो सबै तहमा स्वतन्त्र निर्वाचनको व्यवस्था गरिनुपर्छ; जसका कारण गणेश प्रवृत्तिमा राजनीति गर्ने र आसेपासे कार्यकर्ताले मात्रै पार्टीमा गर्दै आएको हालीमुहाली तोडिन्छ। यसले पार्टीमा लामो समयदेखि रहँदै आएको कोटरी प्रथा र गुटाधीशको अन्त्य गर्नेछ। तर दलित, महिला, आदिवासी जनजाति, अल्पसङ्ख्यक, मधेशी र पछाडि पारिएका समुदायका लागि भने केही समयसम्म अझै आरक्षणको व्यवस्था जरूरी छ।

नयाँ पुस्ताले भाषण र आश्वासनभन्दा माथि उठेर स्पष्ट आर्थिक, सामाजिक र प्रशासनिक सुधारका योजना ल्याउन आवश्यक छ। जेनजी पुस्ताले परिणाममुखी काम, पारदर्शिता र जवाफदेहिता खोजेको छ, नाराबाजी होइन।

पुस्तान्तरणको प्रक्रिया सहज छैन, किनकि यसमा नेतृत्व बीचको प्रतिस्पर्धा, स्वार्थ र गुटबन्दी नजिकैबाट जोडिएको हुन्छ। यदि नयाँ नेतृत्वले पनि उही गुट–उपगुटको राजनीति दोहोर्‍यायो भने पुस्तान्तरणले अर्थ राख्दैन। पुरानो पुस्तालाई पूर्ण रूपमा विस्थापित गर्नु समाधान होइन। बरु अनुभवी नेतृत्वको संस्थागत ज्ञान र नयाँ पुस्ताको ऊर्जा, प्रविधिमैत्रीपन र जनसम्पर्कको शैलीलाई समन्वय गर्दै संस्थालाई बलियो बनाउनु नै दिगो उपाय हो।

आजको पुस्ता सामाजिक सञ्जाल, प्रत्यक्ष संवाद र डिजिटल पारदर्शितामा विश्वास गर्छ। परम्परागत भाषणकेन्द्रित राजनीतिबाट अघि बढेर सङ्गठनलाई गतिशील र जनमुखी बनाउन आवश्यक छ। पार्टीको प्रजातान्त्रिक समाजवादी परिचयलाई सार्थक बनाउन ‘उत्पादन र वितरणको सन्तुलन’सहितको स्पष्ट नीतिबारे पनि व्यापक बहस हुन जरूरी छ; ताकि जनसहभागितामूलक लोककल्याणकारी कार्यक्रमहरूले फेरि प्राथमिकता पाऊन्।

नेपाली कांग्रेसको पुस्तान्तरण र सङ्गठनात्मक रूपान्तरण अहिले पार्टीभित्र र बाहिर निकै चर्चाको विषय छ। यो कुनै एउटै सूत्रले समाधान हुने विषय होइन। तर सङ्गठनात्मक व्यवस्थापनका आधारभूत सिद्धान्त र नेपाली राजनीतिक अनुभवका आधारमा नेतृत्व र पुस्तान्तरण भन्नाले उमेर र कार्यकाल सीमा लागू गरी विधानमा भएको प्रावधानलाई कागजी नभई व्यवहारमा कडाइका साथ लागू गर्नुपर्छ। पाका नेताहरूले जिम्मेवारी छाड्दा एकैचोटि शून्यता नआउने गरी युवा र मध्यम तहका नेतालाई क्रमशः जिम्मेवारी हस्तान्तरण गर्ने संरचना बनाउने र भागबन्डा वा सहमतिको नाममा एकल उम्मेदवार बनाउने प्रवृत्ति घटाएर वास्तविक प्रतिस्पर्धा हुने वातावरण बनाउन जरूरी छ।

पुस्तान्तरण एउटा घटना हो भने रूपान्तरण एउटा निरन्तर प्रक्रिया। नेपाली कांग्रेसले यी दुई बीचको भिन्नता बुझ्न सक्यो भने मात्रै पनि यसले आफ्नो ऐतिहासिक सान्दर्भिकता कायम राख्न सक्नेछ।

तल्लो तहसम्म रूपान्तरण गर्नका लागि माथिबाटै नियुक्ति गर्ने परिपाटी घटाई स्थानीय सदस्यले नै आफ्नो नेतृत्व छान्ने अवसर दिने, फर्जी वा निष्क्रिय सदस्यताको समस्या हटाउन आधुनिक डाटाबेस र पारदर्शी सदस्यता प्रक्रिया अपनाउने गर्नुपर्छ।

यसैगरी, तल्लो तहबाट आएका प्रस्ताव र सुझावहरू केन्द्रीय समितिसम्म पुग्ने र त्यसमा छलफल हुने संरचनागत प्रक्रिया बनाउने र स्थानीय नेतृत्वलाई नीति, सञ्चार र व्यवस्थापन सीपमा नियमित तालिम दिने गर्नुपर्छ। महिला, युवा, दलित, जनजाति, मधेशी लगायतको समावेशी प्रतिनिधित्व कोटामा मात्र सीमित नराखी वास्तविक निर्णायक भूमिकामा पुर्‍याउने, भ्रष्टाचारको आरोपले सङ्गठन कमजोर नहोस् भन्नका लागि स्थानीय तहमा कोष सङ्कलन र खर्चको लेखा सार्वजनिक गर्ने बानी बसाल्न आवश्यक छ। यस्तै, गुटबन्दी न्यूनीकरण गर्न व्यक्तिगत निष्ठाभन्दा नीति र कार्यक्रममा आधारित समूहीकरणलाई प्रोत्साहन दिने संस्कृति विकास गर्न जरूरी छ।

यद्यपि, सुधारका एजेन्डा अहिले दलभित्रैको विभाजन र अदालती लडाइँको छायाँमा थन्किएका छन्। नेपाली कांग्रेसलाई एकातिर आफ्नै वैधताको लडाइँ जित्नुपर्ने बाध्यता छ भने अर्कोतर्फ जनताले खोजेको वास्तविक परिवर्तन देखाउनुपर्ने दबाब छ। यदि यो आन्तरिक कलह लम्बिंदै गयो भने, दलले आफ्नो ऐतिहासिक जनाधार गुमाउने जोखिम मात्रै होइन; नेपाली राजनीतिमा प्रजातान्त्रिक शक्तिको एउटा प्रमुख स्तम्भ नै कमजोर हुने खतरा छ। यसको प्रत्यक्ष असर सिङ्गो बहुदलीय व्यवस्थाको स्थिरतामा समेत पर्न सक्छ।

नेपाली कांग्रेसको वर्तमान सङ्कट केवल ‘को सभापति बन्ने ?’ भन्ने प्रश्नमा सीमित छैन। यो प्रश्न एउटा ऐतिहासिक दलले आफूलाई बदलिंदो समय, बदलिंदो पुस्ता र बदलिंदो अपेक्षा अनुसार कसरी ढाल्ने ? भन्ने बारेको पनि हो।

पुस्तान्तरण अर्थात् नेतृत्वको उमेर फेरिनु यो प्रक्रियाको सुरुआत मात्र हो, अन्त्य होइन। वास्तविक रूपान्तरण त तब मात्र सम्भव हुन्छ जब दलले आफ्नो निर्णय प्रक्रिया, साङ्गठनिक संस्कृति र जनताप्रतिको जवाफदेहितामा गुणात्मक परिवर्तन ल्याउन सक्छ। गगन थापाको नेतृत्वमा आएको नयाँ कार्यसमितिले यो अवसरलाई साँच्चै अवसरका रूपमा लिने वा फेरि पुरानै लयमा फर्किने ? त्यो आउने महिना र वर्षले नै छर्लङ्ग पार्नेछ।

एउटा कुरा भने स्पष्ट छ- यदि नेपाली कांग्रेसले यसपटक पनि पुस्तान्तरणलाई रूपान्तरणसम्म पुर्‍याउन सकेन भने, इतिहासले यसलाई एउटा ठूलो अवसर गुमाएको दलका रूपमा सम्झिनेछ। यदि सक्यो भने, यसले नेपाली राजनीतिमा दलगत नवीकरणको एउटा नयाँ नमूना स्थापित गर्नेछ, जुन आगामी पुस्ताका लागि पनि मार्गदर्शक बन्न सक्छ।

अन्त्यमा, पुस्तान्तरण एउटा घटना हो भने रूपान्तरण एउटा निरन्तर प्रक्रिया। नेपाली कांग्रेसले यी दुई बीचको भिन्नता बुझ्न सक्यो भने मात्रै पनि यसले आफ्नो ऐतिहासिक सान्दर्भिकता कायम राख्न सक्नेछ।

लेखक
भानु पराजुली

(पराजुली, ग्रामीण गरिबी र आर्थिक सामाजिक विकास अनुसन्धाता हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?