News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त राष्ट्रसंघका मानवअधिकार विशेषज्ञहरूले इरानमा अमेरिकी दुई हमलामा युद्ध अपराधको पर्याप्त आधार रहेको बताएका छन् ।
- फेब्रुअरीमा मिनाबको प्राथमिक विद्यालय र लामेर्दको खेलकुद परिसरमा भएका क्षेप्यास्त्र हमलामा कम्तीमा १७७ सर्वसाधारणको मृत्यु भएको प्रतिवेदनले जनाएको छ ।
- विशेषज्ञहरूले जनवरीको सरकारविरोधी प्रदर्शनमा इरानी अधिकारीहरूले सबै ३१ प्रान्तमा व्यापक दमन गर्दै मानवताविरुद्धका अपराध गरेको निष्कर्ष निकालेका छन् ।
२ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)का मानवअधिकार विशेषज्ञहरूले इरानमा अमेरिकाले गरेका दुईवटा हमलामा युद्ध अपराध भएको पर्याप्त आधार रहेको बताएका छन् ।
यी हमलामा कम्तीमा १७७ जना सर्वसाधारणको मृत्यु भएको छ ।
इरानसम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य खोजी मिसनको नयाँ प्रतिवेदनमा फेब्रुअरीमा मिनाबस्थित एउटा प्राथमिक विद्यालय र लामेर्दको एउटा खेलकुद परिसरमा भएका क्षेप्यास्त्र हमलालाई अन्धाधुन्ध हमला भनिएको छ । ती हमलामा सर्वसाधारण मारिनुका साथै नागरिक पूर्वाधारमा समेत क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
अमेरिकाले यसअघि लामेर्दमा हमला गरेको अस्वीकार गर्दै आएको थियो भने मिनाबमा भएको घटनाबारे आफूले अनुसन्धान गरिरहेको बताएको थियो ।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले प्रतिवेदनमा प्रस्तुत निष्कर्षलाई आफूहरूले विश्वसनीय नमान्ने बताएका छन् ।
विशेषज्ञहरूले जनवरीमा सरकारविरोधी प्रदर्शनका क्रममा भएको व्यापक दमनमा इरानी अधिकारीहरूले पनि मानवताविरुद्धका अपराध गरेको निष्कर्ष निकालेका छन् ।
उनीहरूका अनुसार सुरक्षा बलबाट भएका हत्याहरू इरानका सबै ३१ प्रान्तमा ‘चिन्ताजनक र अभूतपूर्व स्तरमा’ भएका थिए ।
विशेषज्ञहरूका अनुसार सुरक्षा बलले स्वास्थ्य संस्थामा उपचार गराइरहेका घाइते प्रदर्शनकारीलाई समेत कुटपिट तथा पक्राउ गरेका थिए । केही स्वास्थ्यकर्मीसमेत पक्राउ परेका थिए । यसका कारण पीडितहरू जीवनरक्षक उपचारका लागि स्वास्थ्य संस्थामा जानसमेत डराएको उनीहरूले बताएका छन् ।
प्रदर्शनका क्रममा पक्राउ परेका दशौँ हजार मानिसले यातना, एकान्त कारावास र कानुनी परामर्शबाट वञ्चित हुनुपरेको विशेषज्ञहरूले बताएका छन् ।
विशेषज्ञहरूले प्रदर्शनपछि इरानी सरकारले आन्दोलनकारीविरुद्ध मृत्युदण्डको प्रयोगसमेत तीव्र बनाएको बताएका छन् । अशान्तिसँग सम्बन्धित आरोपमा शीघ्र सुनुवाइपछि कम्तीमा २९ पुरुषलाई मृत्युदण्ड दिइएको उनीहरूको भनाइ छ ।
तथ्य खोजी मिसनको प्रतिवेदनमा दमनका क्रममा मारिएका मानिसको वास्तविक संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको उल्लेख छ । तर सरकारको आधिकारिक तथ्यांकमा उल्लेख गरिएको ३ हजार मृतकभन्दा वास्तविक संख्या निकै बढी रहेको विश्वास गर्ने पर्याप्त आधार रहेको प्रतिवेदनले जनाएको छ ।
इरानी सरकारले आधिकारिक रूपमा मृत्यु हुनेमध्ये अधिकांशलाई सुरक्षा बलका सदस्य वा घटनामा संलग्न नभएका सर्वसाधारणका रूपमा उल्लेख गरेको थियो ।
अमेरिकामा आधारित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीले भने ७ हजारभन्दा बढी मानिस मारिएको पुष्टि गरेको दाबी गरेको छ । मारिनेहरूमध्ये अधिकांश प्रदर्शनकारी रहेको उसको भनाइ छ ।
इरानले भने अहिलेसम्म यी निष्कर्षबारे कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि, इरानी अधिकारीहरूले यसअघि पनि व्यवस्थित रूपमा मानवअधिकार उल्लंघन गरेको आरोप अस्वीकार गर्दै आएका छन् ।
प्रतिक्रिया 4