News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्व चाँडै अन्त्य हुन सक्ने संकेत गर्दै वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् ।
- ओमानको मध्यस्थतामा होर्मुज स्ट्रेटलाई लिएर अमेरिका र इरानबीच सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको छ ।
- होर्मुज स्ट्रेटमा जहाजको आवतजावत घट्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर ब्रेन्ट क्रुड ८२.४९ डलर प्रति ब्यारेल पुगेको छ ।
२२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्व चाँडै अन्त्य हुन सक्ने संकेत गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुई देशबीचको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको भन्दै संघर्ष अब धेरै लामो नजाने आफूलाई लागेको बताएका छन् ।
ट्रम्पले इरान आफैंले वार्ताको पहल गरेको दाबी गर्दै यो सम्झौता इरानका लागि सबैभन्दा उत्तम विकल्प हुने बताए ।
उनले अमेरिकासँग हतियारको कुनै कमी नरहेको र आवश्यकताअनुसार नयाँ हतियारहरू निरन्तर निर्माण भइरहेको चेतावनी पनि दिए ।
होर्मुज स्ट्रेटबारे सम्झौताको तयारी
समाचार एजेन्सी एपीका अनुसार, अमेरिका र इरानबीच होर्मुज स्ट्रेटलाई लिएर छिट्टै सम्झौता हुन सक्ने सम्भावना छ । ओमानको मध्यस्थतामा इरानसँगको सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको बताइएको छ ।
यद्यपि, इरानको संसद्मा अमेरिका, इजरायल र अन्य शत्रु राष्ट्रका जहाजहरूलाई होर्मुजमा प्रवेश निषेध गर्ने र नियम तोडेमा सामानको मूल्यको २० प्रतिशत जरिवाना तिराउने विधेयक पनि पेस गरिएको छ ।
सिकागो विश्वविद्यालयका प्राध्यापक रोबर्ट पेपका अनुसार ट्रम्प अहिले यस्तो मोडमा छन् जहाँ उनीसँग दुईवटा मात्र विकल्प छन्– या त इरानको बढ्दो प्रभावलाई स्वीकार गर्ने, या त युद्धलाई अझै चर्काउने । पेपले भनेका छन्, ‘अमेरिकाले हवाई र नौसैनिक आक्रमणबाट केही सैन्य सफलता पाए पनि आफ्नो मुख्य लक्ष्य हासिल गर्न सकेन । युद्धपछि इरान झनै बलियो भएर उदाएको छ ।’
यस तनावको प्रत्यक्ष असर विश्व बजारमा परेको छ । होर्मुज स्ट्रेट र बाब अल–मन्देबमा जहाजहरूको आवतजावत ह्वात्तै घटेको छ । तनावअघि दैनिक १३०–१४० जहाज गुज्रिने होर्मुजमा बुधबार जम्मा २ वटा जहाज मात्र चले ।
त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर ब्रेन्ट क्रुड ८२.४९ डलर प्रति ब्यारेल र अमेरिकी डब्लुटीआई ७७.२९ डलर पुगेको छ ।
विश्वका आठ ठूला सिपिङ सङ्गठनहरूले होर्मुजमा कुनै पनि प्रकारको टोल वा सर्भिस शुल्क नलगाउन अपिल गरेका छन्, जसले विश्वव्यापी महँगी बढाउन सक्ने उनीहरूको चिन्ता छ ।
प्रतिक्रिया 4