+
+
Shares

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदाय विभाजित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १८:३७

२ असोज, वाशिङ्टन (रासस/एएफपी) । सात महिनाअघि इरानमाथि युद्ध सुरु भएपछि वाशिङ्टन क्षेत्रका इरानी–अमेरिकी प्रवासीबीच विभाजन देखिन थालेको छ । नाम उल्लेख नगर्ने सर्तमा एक इरानी मूलका अमेरिकी सोरोसले तेहरानको इस्लामी सरकारलाई घृणा गर्छन् तर युद्ध गरेर ‘केही राम्रो नहुने विश्वास’ उनको रहेको छ ।

अमेरिकास्थित अन्य निर्वासितहरूले उनलाई आफ्ना दमनकारीहरूको समर्थन गरेको आरोप लगाउन थाले । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको युद्धलाई बलियो समर्थन गरेका कारण बहार थर बताउने अर्का इरानी–अमेरिकी पनि प्रवासी समुदायभित्र विभाजित बन्नु परेको छ । देशद्रोहीको आरोप खेप्नुपरेको उनी बताउँछन् ।

अमेरिका–इजरायल आक्रमणले शीर्ष नेतृत्वसहित व्यापक संरचनालाई ध्वस्त पारेपनि अमेरिकामा बसोबास गर्ने करिब ७५ लाख इरानी समुदाय इरानको इस्लामी शासनको विरोधमा लगभग एकमत छन् । उनीहरूको मातृभूमि (इरान)को ४७ वर्षको धार्मिक शासन अन्त्य गर्न युद्ध सफल हुनेछ कि छैन भन्ने विषयमा प्रवासी र निर्वासितहरूबीच गहिरो दरार देखिएको छ ।

‘पारिवारिक सम्बन्धहरू तनावपूर्ण वा टुटेका छन् । आजीवन मित्रता पनि यसैमाथि समाप्त भएका छन्,’ क्यालिफोर्निया स्टेट युनिभर्सिटी, साक्रामेन्टोको इरानी र मध्यपूर्वी अध्ययन केन्द्रका निर्देशक साहर रजावीले भने । उनले युद्धले पहिलेदेखिकै तनावलाई बढाएको बताए । वाशिङ्टन वरपरका इरानी समुदायका सदस्यहरूसँग तनावबारे कुराकानी गर्दा आफ्ना साथी र आफन्त (इरानी)हरूबारे कुरा गर्दा पूरा नाम नखुलाउन अनुरोध गरे ।

अर्को कुनै समाधान छैन

दशकअघि अमेरिका आएका थ्री–डी कलाकार र एनिमेटर सोरोसले युद्ध २८ फेब्रुअरीमा सुरु भएपछि नजिकका साथीहरू र आफ्नै भाइ तथा भाउजूसँगको विवादबारे वर्णन गरे ।

उनले आफन्तहरूलाई भनेको सम्झना गर्दै मध्यपूर्वमा अघिल्ला अमेरिकी युद्धका नकारात्मक प्रभावहरू स्मरण गरे, ‘इरानमा मानिसहरूले साथी, परिवारका सदस्यहरू गुमाउनेछन् । उनीहरूले जागिर र सम्पत्ती र बचत पनि गुमाउनेछन् ।’

‘इरानी प्रवासीले होइन स्वदेशमा रहेका उनीहरू ले नै त्यसलाई भोगिरहेका छन्,’ क्रिस्चियन धर्मान्तरित सोरोसले वाशिङ्टनको एउटा बारमा बियर पिउँदै एएफपीसँग भने ।

सहरको कफी पसलमा चिकित्सा क्षेत्रमा काम गर्ने बहार र बैङ्कमा काम गर्ने आहू सिगार्चीले फर दृष्टिकोण राखे । उनीहरू सन् २०२६ जनवरीमा इरानी सुरक्षा बलहरूद्वारा मारिएका हजारौँ प्रदर्शनकारीहरूप्रति रिसले प्रेरित छन् जसले शासन ढाल्न सैन्य कारबाही आवश्यक बनाएको उनीहरूको भनाइ छ।

‘हामी सबैका परिवार, साथीहरू इरानभित्र छन् र हामी उनीहरूले बोल्न नसक्ने शब्दहरू बोलिरहेका छौँ,’ उनले भने । उनी निर्वासित रेजा पहलवीकी दृढ समर्थक छन् । उनले विद्रोहको आह्वान गरेको थियो र प्रवासी समुदायमा समर्थन जुटाएका थिए ।

‘म युद्धमा हामी सही बाटोमा छौँ भन्ने ठान्छु र चाँडै मानिसहरूले खोजेको कुरा प्राप्त गर्नेछौँ भन्ने विश्वास गर्छु,’ उनले शासनलाई हटाउन सैन्य हस्तक्षेप असफल भएको प्रश्नलाई पन्छाउँदै भने ।

‘वास्तविकतामा हामीसँग अर्को कुनै समाधान छैन,’ उनले भने ।

बढ्दो इन्धन मूल्यको असर भोगिरहेको व्यापक अमेरिकी जनसङ्ख्यामा यो युद्ध अत्यन्त अलोकप्रिय छ । युद्धविरोधी एड्भोकेसी समूह ‘नेशनल इरानियन अमेरिकन काउन्सिल’द्वारा गरिएको सर्वेक्षणअनुसार इरानी प्रवासी समुदायमा समर्थन चाँडै घट्यो ।

युद्ध सुरु हुँदा समुदाय लगभग आधा–आधा विभाजित थियो तर एक महिनापछिको दोस्रो सर्वेक्षणमा ६६.१ प्रतिशतले युद्धको विरोध गरे र केवल ३२.७ प्रतिशतले समर्थन गरे ।

रजावीले बाह्य रूपमा सञ्चालित शासन परिवर्तनप्रति शङ्का गर्ने युद्धविरोधीहरू आफूलाई सही ठानिरहेको बताउनुभयो तर धेरै समर्थकहरू ‘अझै अडिग छन्’ भने ।

उनले उल्लेखनीय अल्पसङ्ख्यक समूहले पनि अमेरिकीविरुद्ध उभिने इरानी सरकारको वरिपरि प्रदर्शन गर्ने दृष्टिकोण परिवर्तन गरेको बताए । ‘इरानी प्रवासी समुदायमा यो कुरा बढ्दै गएको मैले देखिरहेकी छु,’ उनले भने ।

‘मुक्ति सङ्घर्ष’ को दबाब

युद्ध र शासन दुवैको विरोध गर्ने तेहरानस्थित पूर्व पत्रकार मोहम्मद रेजा मौसवीले युद्धप्रतिको उत्साह घट्दै गएको महसुस गर्नुहुन्छ । युद्धको वकालत गर्नेहरूको असहिष्णुताप्रति उनी नाराज देखिन्छन् ।

‘यदि उनीहरूले तिमी उनीहरूसँग हरेक कुरामा सँगै छैनौं भन्ने थाहा पाए भने उनीहरूजस्तो लेबल लगाउन सक्छन्,’ उनले भने ।

रजावीका अनुसार फार्सी भाषा कक्षा वा फारसी कविता पाठ आयोजना गर्ने इरानी समुदायका सङ्गठनहरूलाई ‘मुक्ति संघर्ष’ को खुला समर्थन नजनाएकोमा ‘कडा आलोचना’ गरिन्थ्यो ।

पहलवीका समर्थकहरू भने समुदायको दबाब एकतर्फी मात्र होइन भन्छन् ।

बहारले ट्रम्पलाई मतदान गरेकोमा फासीवादी भनिएको र सयौँ इन्स्टाग्राम शुभेच्छुक गुमाएको बताए । अमेरिकामा एक शिक्षकले कक्षामा युद्धको विषय बारम्बार कुरा उठाएपछि इरानी कला र सङ्गीत पढाइने विद्यालयबाट उनले आठ वर्षे आफ्नो छोरालाई निकालिदिए ।

तर मौसवी युद्धले समुदायलाई तहसनहस पारेको कुरालाई व्यावहारिक रूपमा हेर्छन्।

‘यस्ता कठिन समयमा तपाईँ आफू वरिपरिका मानिसहरूलाई बुझ्नुहुन्छ,’ उनले भने, ‘तपाईँ बुझ्नुहुन्छ उनीहरू कस्ता मानिस हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?