२ असोज, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरी सेवा सञ्चालनमा ल्याइएको हो ।
हरिपुर्वा–५ स्थित आयुर्वेद औषधालय परिसरमा निर्माण गरिएको दुई तले भवनको नगरप्रमुख विनोदकुमार साह तेली, उपप्रमुख सुमित्रादेवी ग्वारनी र प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले संयुक्त रूपमा उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल, सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्री, वडाध्यक्ष, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश अर्यालले सबै पक्षको सहयोग र समन्वयमा ढिलै भए पनि प्रशासनिक भवन निर्माण सम्पन्न भएको बताए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले बजार क्षेत्रमै बनेको भवनले सेवाग्राहीलाई सेवा लिन थप सहज हुने विश्वास व्यक्त गरे ।
नगरप्रमुख तेलीले निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार प्रशासनिक भवन निर्माण गर्न सफल भएको बताए । उनले आफ्नै भवनबाट सेवा सञ्चालन हुँदा प्रशासनिक कार्यसम्पादन थप प्रभावकारी हुने उल्लेख गरे ।
नगरपालिकाका प्राविधिक शाखा प्रमुख तथा इन्जिनियर दिलीपकुमार यादवका अनुसार दुई तले १० कोठे प्रशासनिक भवन निर्माणमा नगरपालिकाले आफ्नै स्रोतबाट १ करोड ५१ लाख रुपैयाँ खर्च गरेको छ ।
नवनिर्मित भवनमा सभाहल, पार्किङ तथा अन्य आवश्यक संरचना निर्माणका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा थप ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
हरिपुर्वा नगरपालिकाको कार्यालय विगत नौ वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो । गत भदौ २४ गते भएको जनआन्दोलनका क्रममा भाडामा रहेको प्रशासनिक भवनमा आगजनी हुँदा भवन पूर्ण रूपमा नष्ट भएको थियो ।
त्यसपछि नगरपालिकाका विभिन्न शाखा छुट्टाछुट्टै स्थानबाट सञ्चालन हुँदै आएका थिए ।
प्रतिक्रिया 4