+
+
Shares

बालेनले जेनजी सांसदलाई सोधे : संसद् बैठक पुरानै ढर्राको भयो, नयाँपन ल्याएको खै ?

अढाइ घण्टा चलेको बैठकमा सुरुमै प्रधानमन्त्रीले जेनजी सांसदलाई सोधे, ‘मैले तपाईंहरूको अपेक्षा कत्तिको पूरा गर्न सकेको छु ? के मैले तपाईंको पुस्तालाई प्रतिनिधित्व गर्न सकेको छु ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले शुक्रबार रास्वपाका ११ जेनजी सांसदलाई बोलाएर प्रतिनिधिसभामा युवाको संख्या बढे पनि सञ्चालन शैली पुरानै रहेको असन्तोष सुनाए ।
  • उनले जेनजी सांसदलाई आफ्नै उमेर समूहको जस्तो बन्न, एआईमा निर्भर नहुन र साइड बिजनेससहित आर्थिक स्वरोजगारतर्फ लाग्न आग्रह गरे ।
  • बैठकमा सांसदहरूले सरकार–संसद समन्वय कमजोर, मन्त्रालयको कार्यक्षमता कमजोर, मधेसीमाथि विभेद, मल अभाव, सर्पदंश उपचार, सडक अवरोध र रोजगारीजस्ता मुद्दा उठाए ।

२ असोज, काठमाडौं । प्रतिनिधिसभा बैठकमा बिरलै जाने प्रधानमन्त्री बालेन शाहले जेनजी सांसदहरूलाई शुक्रबार डाकेर आफ्नो असन्तोष सुनाए । रास्वपाबाट प्रतिनिधित्व गर्ने ११ जेनजी सांसदसँग प्रधानमन्त्री बालेनले नयाँ प्रतिनिधिसभामा युवाहरूको संख्या ठूलो भए पनि त्यसलाई सन्चालन गर्ने पारा पुरानै भएको विचार राखे ।

उनले जेनजीहरूबाट त्यसमा निर्णायक हस्तक्षेप चाहिएको पनि अपेक्षा राखे । अढाइ घण्टा चलेको बैठकमा सुरुमै प्रधानमन्त्रीले जेनजी सांसदलाई सोधे, ‘मैले तपाईंहरूको अपेक्षा कत्तिको पूरा गर्न सकेको छु ? के मैले तपाईंको पुस्तालाई प्रतिनिधित्व गर्न सकेको छु ?’

सांसदपिच्छे हरेकका धारणा सुन्दै, लगत्तै जवाफ दिएका प्रधानमन्त्रीले भने, ‘तपाईंहरू जुन उमेर समूहको हनुहुन्छ, त्यही उमेर समूहको बन्नुस् । ५० वर्षको माननीयजस्तो देखिने प्रेसर नलिनुस् । तपाईंहरूभन्दा जुनियर पुस्ता पनि आइसक्यो, उनीहरूसँग पनि भेट्नुहोस् ।’

उनले एमालेका केही युवा सांसदको नाम लिँदै उनीहरूले केपी ओली पुस्ताको प्रवृत्तिबाट आफूलाई बाहिर निकाल्न नसकेको कटाक्ष गरे ।

प्रधानमन्त्रीले अहिलेको सरकार वा संसदमा रहेर भ्रष्टाचारजन्य क्रियाकलाप नहुने भएकाले राजनीतिसँगै साइड बिजनेस थाल्ने योजना बनाउन उनीहरूलाई आग्रह गरे । उनले भने, ‘साइड बिजनेस गर्नुस् । आर्थिक स्वरोजगार बन्ने बाटो अपनाउनु होस् । नत्र पछि गाह्रो हुन्छ ।’

प्रधानमन्त्री बालेनले संसदका इस्युमा नयाँपन ल्याउन जेनजी सांसदले मेहनत गर्नुपर्ने बताए । हरेक प्रश्नका जवाफहरू एआईसँग सोधेर नीतिनिर्माता र नेता बन्न नसकिने बालेनको भनाइ थियो ।

‘परिपक्वता भनेको कामबाट आउँछ, अध्ययनबाट आउँछ । जे पनि एआईलाई सोधेर परिपक्व नेता बन्न सकिँदैन, तपाईंहरू भनेको नीतिनिर्माता हो, त्यसै अनुसार तयारी गर्नुहोस्,’ प्रधानमन्त्रीले भनेको उद्धृत गर्दै सहभागीहरूले भने, ‘गर्नुस् कोसिस । अप्ठेरो परेछ भने बरु हाम्रो सचिवालयसँग भन्नुहोस् ।’

प्रधानमन्त्रीले गुनासो सुन्ने संकेत देखाएपछि सांसदहरूले सरकार र सांसदबीच समन्वय एकदमै कमजोर रहेको, प्रेसलगायत क्षेत्रसँग सरकार समन्वय संवाद गर्ने ध्याउन्नमा नरहेको भान पर्न गएको, मन्त्रालयहरूको कार्यक्षमता कमजोर देखिएको लगायत टिप्पणी गरेका थिए ।

रास्वपा सहमहामन्त्री तथा सांसद पुरुषोत्तम यादवले धेरैवटा सरकारी नियुक्तिमा मधेसीलाई किन विभेद भनी सोधे । उनले जेनजी आन्दोलनका क्रममा गिरफ्तारहरूलाई अहिलेसम्म छाड्न नसकिएको बारे प्रश्न उठाए । उनले मधेसका नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध आदिले युवाहरूलाई पारेको असरबारे आवाज राखे ।

अर्का नेता शिव यादवले मधेसीहरूलाई अहिले पनि अवसरहरूमा विभेद जारी रहेको भन्दै ध्यानाकर्षण गराए । उनले अस्पतालहरूमा एन्टिस्नेक भेनम अभावले सर्पदंशका बिरामीलाई परेको मारबारे अवगत गराए ।

बब्लु गुप्ताले वर्षायाम बित्न लाग्दा पनि कृषि मन्त्रालयबाट मलको समस्या समाधान हुन नसकेको भन्दै आलोचना गरे ।अर्की सांसद श्रद्धा कुँवरले युवाहरूकै विशाल मतबाट सरकार बने पनि अझै पनि समाजमा युवालाई उर्जाशीलताको भावना जगाउन नसकेको टिप्पणी गरिन् । उनले किसानका मुद्दाहरूमा राज्य अझै उदार बन्न नसकेको, महँगी बेरोजगारी लगायत समस्याले जनता प्रताडित भइरहेको विषय प्राथमिकतासाथ उठाइन् ।

सांसद मनिष खनालले युवाहरूलाई खेलकुद, मनोरन्जन लगायत विषयमा जोड्नुपर्नेमा औंल्याए । उनले नेपालको प्राकृतिक विपद्बारे विदेशका ठूला स्पोर्ट म्याचहरूमा कतै मौनधारण, कतै सोसल मिडिया एपियरेन्स अनि सहायताकै आह्वान चलिरहे पनि त्यसलाई स्पोर्ट्स डिप्लोमेसीसँग जोड्न नसकिएको टिप्प्णी गरे ।

खनालले ‘चितवन राष्ट्रिय निकुन्ज क्षेत्र आसपास व्यापार व्यवसाय गर्नेहरूलाई हैरानी भएको, मध्यवर्ती क्षेत्रमा जीवनयापन कष्टकर हुँदै गएको जस्ता विषयमा ध्यान दिन सुझाए । प्रशान्त उप्रेतीले त्रिशुली सडक अवरुद्ध भइरहँदा भीमफेदी हेटौडाको सडक खण्डमा चाप पर्न गएको अवगत गराउँदै अब वैकल्पिक मार्गहरूका बारेमा तयारी गर्नुपर्ने विषय उठाए । उनले पिउने पानीको प्रबन्धजस्ता आधारभूत विषयमा आजका दिनमा समेत प्रश्न उठाइराख्नुपर्ने स्थिति आउनु दुखद भनी क्षोभ व्यक्त गरे ।

यस्तै खिमा विक, स्मृति सेन्चुरी, सुलभ खरेल, केपी खनाल आदिले विभिन्न मुद्दाहरू उठाएका थिए । सांसदहरूको प्रश्न तथा टिप्पणीमा जवाफ दिँदै प्रधानमन्त्री बालेनले रोजगारी लगायत विषय नै अहिलेको प्राथमिकता भएको, तर सांसदहरू बरालिएको टिप्पणी गरे । ‘तपाईंहरू २५ वर्षमा सांसद भएको मान्छे, ३० वर्षको हुँदा के गर्नुहुन्छ ? तयारी गर्नुपर्दैन ?’ सांसदहरूले बालेनको भनाइ उद्धृत गर्दै सुनाए, ‘त्यसैले अरुभन्दा भिन्न हुने कोसिस गर्नुपर्छ ।’

प्रधानमन्त्री बालेनले युवा सांसदहरूसँग बस्ने चाहना पहिल्यै भए पनि विविध कारणले ढिलो भएको बताए । सुझाव र टिप्पणीलाई सकेसम्म धेरै कार्यान्वयन गर्ने उनले आश्वासन पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?