+
+
Shares

पालुङटार नगरपालिकाले सुरु गर्‍यो भूमि व्यवस्थापन सेवा

नगरपालिकाले शुक्रबारबाट भूमि व्यवस्थापन सेवा सुरु गरेसँगै नगरवासीलाई नापी र मालपोत कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।

विकास मरहट्टा विकास मरहट्टा
२०८३ असोज २ गते २०:२९

२ असोज, गोरखा । पालुङटार नगरवासीले अव पालिकाबाटै भूमि सम्बन्धी सेवा पाउने भएका छन् । नगरपालिकाले शुक्रबारबाट भूमि व्यवस्थापन सेवा सुरु गरेसँगै नगरवासीलाई नापी र मालपोत कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।

शुक्रबार वडा नम्बर ३ की पम्फा अधिकारीलाई लालपुर्जा वितरण गरेर सेवाको शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए ।

जग्गाको लालपुर्जा, अंशवण्डा, अंश भरपाई, घर कायम, कित्ता एकीकरण, नामसारी, कित्ताकाट, घरजग्गा रोक्का तथा फुकुवा लगायतका सेवा अव पालिकाबाटै उपलब्ध हुने उनले जानकारी दिए ।

‘भूमि प्रशासन सम्बन्धी सेवा संचालनका लागि पहिलो चरणमा देशभरबाट पालुङटारसहित ३५ वटा नगरपालिका छनोट भएको हो,’ उनले भने, ‘सोही अन्तर्गत आजबाट सेवा सुभारम्भ गरेका हौं ।’

पालुङटार भूमि व्यवस्थापन सम्बन्धी सेवा सुरु गर्ने गण्डकी प्रदेशको दोस्रो तथा गोरखाको पहिलो नगरपालिका रहेको उनले बताए ।

नापी र मालपोतबाट प्रवाह हुने अधिकांश सेवा अव पालिकाको भूमि व्यवस्थापन शाखाबाट प्रवाह हुने उनको भनाइ छ । उनका अनुसार सेवा प्रवाहका लागि एक जना नापी अधिकृत करारमा राखिएको छ भने बाँकी कर्मचारी नगरपालिकाकै बिभिन्न शाखाबाट खटाइएको छ ।

‘अहिले डिजिटलाईज भएका कागजातको मात्र यहाँबाट सेवा प्रवाह हुन्छ, अनलाइन इन्ट्री नभएकाहरुको कामका लागि नापी वा मालपोत धाउनुपर्छ,’ उनले भने । नापी र मालपोतबाट श्रेस्ता तथा लगत हस्तान्तरण भएपछि सबै सेवा पालिकाबाटै दिन सकिने उनले बताए ।

कर्मचारी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा चुनौती रहेको उनको भनाइ छ ।

‘प्रदेश लोकसेवाबाट पदपूर्ति गर्न पनि बाटो खुलेको छैन । संघले पनि काजमा कर्मचारी नखटाउँदा जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहमा चुनौतीछ,’ उनले भने ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?