+
+
Shares

आईओएस २७ : यस्ता छन् थपिएका नयाँ फिचर

एप्पलले आइफोन प्रयोगकर्ताका लागि नयाँ अपरेटिङ सिस्टम आयओएस २७ सेप्टेम्बर १४, २०२६ मा सार्वजनिक गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते २२:०८

०३ असोज, काठमाडौ। एप्पलले आइफोन प्रयोगकर्ताका लागि नयाँ अपरेटिङ सिस्टम आईओएस २७ सेप्टेम्बर १४, २०२६ मा सार्वजनिक गरेको छ।

यो अपडेट जून ८, २०२६ मा आयोजित वर्ल्डवाइड डेभलपर्स कन्फरेन्समा सार्वजनिक गरिएको थियो।

यो अपडेट आइफोन ११ देखि पछिका सबै मोडलहरूमा उपलब्ध छ। यसपटकको अपडेटको मुख्य आकर्षण एप्पल इन्टेलिजेन्समा आधारित सिरी एआई हो।

सिरी एआई

सिरीलाई एप्पल इन्टेलिजेन्सको जेनेरेटिभ एआई मोडलबाट पुनर्निर्माण गरिएको छ।

यो च्याटबट जस्तै प्राकृतिक संवाद गर्न सक्छ। यसले मेल, मेसेज, क्यालेन्डर, नोट्स जस्ता व्यक्तिगत डाटा र स्क्रिनमा देखिएको सामग्री बुझ्छ।

एपभित्रै इमेल ड्राफ्ट गर्ने, इभेन्ट थप्ने र फोटो एल्बम मिलाउने जस्ता काम गर्छ।

सिरी अब डायनामिक आइल्यान्डमा एकीकृत छ। छुट्टै सिरी एपमा कुराकानीको इतिहास राखिन्छ। ‘राइट विथ सिरी’ फिचरले कुनै पनि ठाउँमा टेक्स्ट जेनेरेट गर्न, पुनर्लेखन र प्रुफरिड गर्छ।

भिजुअल इन्टेलिजेन्स

भिजुअल इन्टेलिजेन्स क्यामेरा एपभित्र ‘सिरी मोड’ का रूपमा सारिएको छ।

यसले वस्तु, खाना, बिल, बिजनेस कार्ड वा पासको फोटो खिचेर जानकारी दिन्छ। न्युट्रेसनको जानकारी, बिल विभाजन र धेरै इभेन्ट क्यालेन्डरमा थप्न सकिन्छ। कन्टेन्ट सिङ्क गर्ने र वालेट पास बनाउने काम पनि हुन्छ।

फोटोज एप

फोटोज एपमा एआई एडिटिङ टुल्स थपिएका छन्।

‘क्लिन अप’ले वस्तु हटाउँदा ब्याकग्राउन्ड रिजेनेरेट गर्छ। ‘एक्स्टेन्ड’ले क्रप गर्दा त्यसमा एआईले नै खाली रहेको नयाँ पिक्सल भर्छ।

‘रिफ्रेम’ले फोटोको कम्पोजिसन फेर्छ। फोटोमा कीवर्ड र स्टार रेटिङ थपिएको छ।

भिडियो फ्रेमबाट फोटो सेभ गर्न मिल्छ। कुनै पनि एल्बमबाट स्लाइडशो बनाउन सकिन्छ। आइक्लाउड सेयर एल्बममा पूर्ण रेजोलुसन साझेदारी हुन्छ। ३० दिन एक्सपाइरी र एन्ड्रोइड/विन्डोज प्रयोगकर्ताले पनि योगदान गर्न मिल्छ।

सफारी

सफारीमा एआईले ट्याब, बुकमार्क र रिडिङ लिस्टलाई विषय अनुसार समूहबद्ध गर्छ। प्राकृतिक भाषाबाट कस्टम एक्सटेन्सन सिर्जना गर्न मिल्छ। ‘नोटिफाइ मी’ ले वेबपेजमा मूल्य परिवर्तन वा नयाँ स्टक आउँदा सूचना दिन्छ।

पासवर्ड्स

पासवर्ड्स एपले कमजोर वा जोखिमपूर्ण पासवर्डलाई एआई प्रयोग गरेर बलियो पासवर्डमा परिवर्तन गरिदिन्छ।

सर्टकट्स, क्यालेन्डर, रिमाइन्डर्स र मेसेजेस

सर्टकट्स एपमा प्राकृतिक भाषाबाट नै सर्टकट बनाउन मिल्छ। क्यालेन्डर र रिमाइन्डर्समा प्राकृतिक भाषा प्रयोग गरेर इभेन्ट/टास्क थप्न सकिन्छ।

मेसेजेस एपमा एआईले संवाद अनुसार फोटो पठाउने, लोकेशन सेयर गर्ने वा इभेन्ट थप्ने जस्ता वान-ट्याप-सजेसन दिन्छ।

डिजाइन र पर्फर्मेन्स

‘लिक्विड ग्लास’ इन्टरफेसलाई पढ्न सजिलो बनाइएको छ। सेटिङ्समा ट्रान्सलुसेन्सी स्लाइडर थपिएको छ। यसले ट्रान्सप्यारेन्ट वा टिन्ट गरिएको स्वरूप रोज्न मिल्छ। एप लन्च, एयरड्रप ट्रान्सफर र किबोर्ड लोडिङ छिटो हुन्छन्। नयाँ फोटो लोडिङ ७० प्रतिशतसम्म छिटो हुन सक्छ।

पेरेन्टल कन्ट्रोल

स्क्रिन टाइम रि-डिजाइन गरिएको छ। अभिभावकले एप क्याटेगरी अनुसार समय सीमा तोक्न सक्छन्।

‘आस्क टु बाइ’ र ‘आस्क टु ब्राउज’ मार्फत नयाँ एप/वेबसाइटमा अनुमति माग्ने व्यवस्था गर्न मिल्छ। सञ्चार सुरक्षामा हिंसा/रक्तपातपुर्ण सामग्री पनि ब्लर गर्ने विकल्प थपिएको छ।

डिभाइस कम्प्याटिबिलिटी

आयओएस २७ आइफोन ११ र पछिका सबै मोडलमा चल्छ। सिरी एआई र धेरैजसो एप्पल इन्टेलिजेन्स फिचरका लागि आइफोन १५ प्रो वा सोभन्दा पछिका मोडल चाहिन्छ। कस्टम सिरी भ्वाइस र केही उन्नत अन-डिभाइस एआई फिचर आइफोन १७ प्रो/एयर जस्ता नयाँ चिपसेट भएका मोडलमा मात्र उपलब्ध छन्।

युरोपियन युनियन र चीनमा रेगुलेटरी कारणले सिरी एआई र केही एआई फिचर सुरुवातमा उपलब्ध छैनन्। प्रयोगकर्ताले सेटिङ्समा गएर जनरलभित्र रहेको सफ्टवेयर अपडेटबाट आयओएस २७ डाउनलोड र इन्स्टल गर्न सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?