+
+
Shares

अमेरिकामा अब एआई फोर्स बन्नेछ, एआई उद्योगलाई नियमन होइन, प्रवर्द्धन गर्छौं : ट्रम्प

शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लामो पोस्ट लेख्दै ट्रम्पले एआईलाई अर्को औद्योगिक क्रान्तिको संज्ञा दिँदै यसले देशको आर्थिक वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते ९:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ट्रम्पले अमेरिकामा एआई उद्योगको विकास र निगरानीका लागि नयाँ ‘एआई जार’ नियुक्त गर्ने र एआई फोर्स गठन गर्ने घोषणा गरेका छन्।
  • उनले एआईलाई अर्को औद्योगिक क्रान्ति भन्दै उद्योगलाई नदबाई महत्त्व दिने, सहयोग गर्ने र निगरानी गर्ने बताएका छन्।
  • अमेरिकामा एन्थ्रोपिक, ओपनएआई, स्पेसएक्सएआई र गुगलविरुद्ध एआई विकास सुस्त बनाउन अवैध सम्झौता गरेको आरोपमा मुद्दा दर्ता भएको छ।

४ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स उद्योगको विकास र निगरानीका लागि नयाँ ‘एआई जार’ (प्रमुख सल्लाहकार) नियुक्त गर्ने र एआई फोर्स गठन गर्ने घोषणा गरेका छन्।

शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लामो पोस्ट लेख्दै ट्रम्पले यो जानकारी दिएका हुन्। उनले एआईलाई अर्को औद्योगिक क्रान्तिको संज्ञा दिँदै यसले देशको आर्थिक वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

यद्यपि, उनले यो फोर्सको संरचना कस्तो हुनेछ र नयाँ सल्लाहकार कहिले नियुक्त गरिनेछ भन्नेबारे विस्तृत विवरण भने दिएका छैनन्।

ट्रम्पले आफ्नो पहिलो कार्यकाल (सन् २०१९) मा अमेरिकी सेनाको नयाँ शाखाको रूपमा स्थापना गरेको स्पेस फोर्ससँग तुलना गर्दै एआई फोर्स बनाउने बताएका हुन्। उनले आफ्नो प्रशासनले एआई उद्योगलाई नियमन गरेर नदबाउने बरु यसको वृद्धिमा सहयोग गर्ने स्पष्ट पारेका छन्।

‘हामी यस उत्कृष्ट उद्योगको विकासलाई कुनै पनि हालतमा रोक्ने वा दबाउने छैनौँ,’ ट्रम्पले लेखेका छन्, ‘यसको सट्टा, हामी यसलाई महत्त्व दिनेछौँ, सहयोग गर्नेछौँ र यो बढ्दै जाँदा यसको निगरानी गर्नेछौँ।’

सम्भावित गलत कामहरू नियन्त्रण गर्नका लागि भने मौजुदा फौजदारी र देवानी न्याय प्रणालीको प्रयोग गरिने उनले बताए।

चीनसँग प्रतिस्पर्धाको होडबाजी

ट्रम्पको यो घोषणा यस्तो समयमा आएको छ, जतिबेला अमेरिका र चीन एआई प्रविधिमा विश्वव्यापी नेतृत्व हासिल गर्ने प्रतिस्पर्धामा छन्। यो विषय आगामी हप्ता वासिङ्टन डीसीमा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने शिखर सम्मेलनमा पनि प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ।

चीनसँग प्रतिस्पर्धा गर्नका लागि पनि एआई प्रविधिको विकासलाई नरोक्ने पक्षमा ट्रम्प उभिएका हुन्।

विज्ञहरूको चिन्तालाई भ्रामक भन्दै अस्वीकार

अमेरिकामा एआईको तीव्र विकासले सर्वसाधारण र विज्ञहरूमा चिन्ता बढाइरहेको बेला ट्रम्पको यस्तो नियमन-विरोधी अडान बाहिर आएको हो।

यसै हप्ता मात्रै एन्थ्रोपिक, ओपनएआई, स्पेसएक्सएआई र गुगल डीपमाइन्डका प्रमुखहरूले एआईको तीव्र विकासले सुरक्षामा खतरा निम्त्याउन सक्ने भन्दै यसको विकासको गति सुस्त बनाउन सार्वजनिक रूपमा अपिल गरेका थिए।

अमेरिकास्थित एआई कम्पनी एन्थ्रोपिकका एक सुरक्षा अनुसन्धानकर्ताले त आगामी दशकभित्र एआईले ‘सबै मानिसलाई मार्न सक्ने’ १० प्रतिशतभन्दा बढी सम्भावना रहेको चेतावनी नै दिएका थिए।

तर, ट्रम्पले यी चेतावनीहरूलाई भ्रामक सूचनाको सङ्ज्ञा दिएका छन्। सोमबार अल-इन समिट का क्रममा एनभिडियाका सीईओ जेन्सन हुवाङसँगको फोनवार्तामा ट्रम्पले भनेका थिए, ‘रोबोटहरूले संसार कब्जा गर्ने छैनन्। एआईले विश्वलाई नियन्त्रणमा लिने छैन।’

यसअघि ट्रम्पका एआई सल्लाहकाररहेका डेभिड स्याक्स, जो हाल राष्ट्रपतिको विज्ञान तथा प्रविधि सल्लाहकार परिषद्का अध्यक्ष छन्, उनी पनि एआईलाई नियमन गर्ने कुरामा असहमत छन्।

हालै सीबीएस न्युजसँगको अन्तर्वार्तामा उनले एआईले मानिसलाई हानि गर्छ भन्ने डर बढाइचढाइ गरिएको र यो केवल एउटा आतङ्क भएको बताएका थिए।

‘उदारवादीहरू एआई उद्योगलाई सिध्याउन चाहन्छन्’

ट्रम्पले एआई र डेटा सेन्टरका आलोचकहरूमाथि पनि कडा निसाना साँधेका छन्। अमेरिकाका धेरै समुदायमा एआई डेटा सेन्टरहरूले अत्यधिक प्राकृतिक स्रोत र ऊर्जा खपत गरेको भन्दै विरोध भइरहेको छ, जसलाई दुवै राजनीतिक दलका सांसदहरूले समर्थन गरेका छन्।

यसै हप्ता अमेरिकी तल्लो सदनले डेटा सेन्टरहरूको बिजुली खपतले सर्वसाधारणको युटिलिटी बिलमा पार्ने प्रभाव कम गर्ने एउटा विधेयक ४१७ को भारी बहुमतले पारित गरेको छ। तर, ट्रम्पले भने आलोचकहरू (उदारवादीहरू) ले यस उद्योगलाई सिध्याउन खोजेको आरोप लगाउँदै ‘अमेरिकाको राष्ट्रपतिको रूपमा म त्यस्तो हुन दिन्नँ’ भनेका छन्।

डेटा सेन्टरहरूले उच्च तलब, कम कर र सुरक्षित सडक दिएको भन्दै उनले यस्ता सुविधाहरू नचाहने समुदायहरू ‘गरिब र पिछडिएका’ हुने टिप्पणी गरेका छन्।

चार ठूला एआई कम्पनीविरुद्ध अमेरिकामा मुद्दा

एकातिर एआई विकासको होडबाजी छ भने अर्कोतिर अमेरिकामा एन्थ्रोपिक, ओपनएआई, स्पेसएक्सएआई र गुगलविरुद्ध शनिबार मुद्दा दर्ता भएको छ। यी कम्पनीहरूमाथि एआई विकासको गति सुस्त बनाउन अवैध सम्झौता गरेको र एन्टीट्रस्ट कानुन तोडेको आरोप छ।

याचिकामा भनिएको छ- यी कम्पनीहरूबीचको यस्तो तालमेलले सशुल्क एआई सब्सक्रिप्सन लिने ग्राहकहरूलाई मिल्ने लाभ कम हुन सक्छ। सेप्टेम्बर १२ मा एन्थ्रोपिकका सीईओ डारियो अमोडेईले एआई विकासलाई सुस्त बनाउन र सुरक्षा उपाय बढाउन गरेको प्रस्तावमा अन्य तीन कम्पनीका सीईओहरूले सहमति जनाएपछि यो मुद्दा परेको हो।

एआई क्षेत्रका प्रमुख प्रतिस्पर्धीहरूबीच नै विकासको गति कम गर्ने यस्तो सम्झौताले उपभोक्ताहरूविरुद्ध प्रतिस्पर्धा-विरोधी असर पार्ने दाबी मुद्दामा गरिएको छ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?