+
+
Shares

नेपालको विपदमा स्पेनको ऐक्यबद्धता, श्रद्धाञ्जलीदेखि आर्थिक सहयोगसम्म

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १२:०७

बार्सिलोना । नेपालमा बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूको सम्झनामा स्पेनका विभिन्न सहरमा नेपाली र स्पेनिस समुदाय एकसाथ उभिएका छन् । कोस्टा ब्लांका क्षेत्रको पर्यटकीय सहर बेनीडर्मदेखि बार्सिलोनासम्म आयोजित श्रद्धाञ्जली कार्यक्रममा स्थानीय नागरिक र जनप्रतिनिधिसमेत सहभागी भएका छन् ।

बेनीडर्ममा बिहीबार साँझ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको प्रतिनिधित्वमा आयोजित मैनबत्ती प्रज्वलन कार्यक्रममा एक सयभन्दा बढी नेपाली तथा स्थानीय स्पेनिस नागरिक सहभागी भए ।

कार्यक्रममा बेनीडर्मका मेयर आन्तोनियो टोनी पेरेज, सामाजिक कल्याणसम्बन्धी काउन्सिलर आङ्गेला जरागोजी लगायत स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो ।

नेपालमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूको सम्झनामा सहभागीहरूले सयौँ मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरे ।

बेनीडर्म नगरपालिकाले ८ हजार युरो सहयोग गर्ने

नेपाली समुदायप्रति ऐक्यबद्धता जनाउँदै बेनीडर्म नगरपालिकाले विपद् प्रभावितका लागि ८ हजार युरो सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

बेनीडर्मको कार्यक्रमको भोलिपल्ट बार्सिलोनामा पनि नेपाली र स्पेनिस समुदायको सहभागितामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ।

बार्सिलोनाको कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरणमा नेपाली र स्पेनिस समुदायका सदस्यहरूले एकसाथ कीर्तन गरेका थिए । स्पेनिस नागरिकहरू पनि नेपाली समुदायसँगै कीर्तनमा सहभागी भएका थिए । कीर्तनपछि दोस्रो चरणमा दीप प्रज्वलन गरिएको थियो ।

२० लाख रुपैयाँभन्दा बढी रकम संकलन

नेपाली र स्पेनिस समुदायका सदस्यहरूले सामूहिक रूपमा दीप बाल्दै दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरे । सहभागीहरूले मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए ।

कार्यक्रममा एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालमा यस्ता विपद्का घटना बढिरहेको विषयमा ध्यानाकर्षण गराउन प्लेकार्डसहित बाहिर कार्यक्रम गर्ने योजना भए पनि स्थानीय तहबाट अनुमति प्राप्त गर्न ढिलाइ भएपछि कार्यक्रमभित्रै आयोजना गर्नुपरेको बताए ।

श्रेष्ठले एनआरएनए स्पेनले विपद् प्रभावितका लागि २० लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेको र उक्त रकम छिट्टै नेपाल पठाउने तयारी भइरहेको जानकारी दिए । स्पेनमा रहेका नेपाली तथा विभिन्न संघसंस्थाले पनि व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग रकम संकलन गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?