४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता जगदीश खरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सितारमणबीचको भेटमा नेपाली झन्डा नराखिएको विषयमा बचाउ गरेका छन् ।
आइतबार रास्वपा सचिवालय बैठकपछि पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता खरेलले त्यो द्विपक्षीय भेटवार्ताको तस्वीर नभएको दाबी गर्दै बचाउ गरेका हुन् ।
पत्रकारले उनीसँग ‘अर्थमन्त्रीज्यूको भारत भ्रमणका क्रममा समकक्षीसँगको भेटमा नेपालको झन्डा नराखिएको कुरा आएको छ, किन त्यसो भएको हो ?’ भन्दै प्रश्न गरेका थिए ।
त्यसको जवाफमा निकै घुमाउरो लामो शैलीमा उनले फेरिहिस्त सुनाए ।
सुरुमा उनले अर्थमन्त्रीको भारत भ्रमण निकै अर्थपूर्ण र उपलब्धिपूर्ण रहेको टिप्पणी गरे ।
‘अर्थमन्त्रीले गरेको भारत भ्रमण यति अर्थपूर्ण र यति उपलब्धिपूर्ण रह्यो कि तपाईँहरूलाई म के जानकारी गराउँछु भने भारत सरकारले नेपालको बाढीपीडितका लागि भारतको जनताबाट यति सहयोग गरेको छ कि त्यसका लागि उहाँले धन्यवाद दिनुभएको छ,’ उनले भने, ‘त्यसपछि अन्य कैयौं द्विपक्षीय कुरा भएका छन्, आर्थिक सहायता र साझेदारीको कुरा भएका छन् । दुई देशबीचको सम्बन्धको कुरा भएका छन् । यतिधेरै औपचारिक, अनौपचारिक, सरकारी, सरकारबाहेक निजी क्षेत्र पनि उहाँले एकदमै राम्रो महत्वपूर्ण छलफल गर्नुभएको छ ।’
सचिवालय बैठकमा स्वयं अर्थमन्त्री वाग्लेले भ्रमण एकदमै सफल भएको भनेको पनि प्रवक्ता खरेलले बताए ।
त्यसपछि उनी नेपाली झन्डा नराखिएको विषयमा प्रसंगमा प्रवेश गरे ।
‘जहाँसम्म भारतको अर्थमन्त्रीसँगको भेटमा राष्ट्रिय झन्डा भएन भन्नुभएको छ । त्यो त्यहाँको अर्थमन्त्रीको कार्यकक्षमा भएको भेटको फोटो हो,’ उनले अगाडि भने, ‘त्यो डेलिगेट्ससँगको होइन्, द्विपक्षीय होइन । द्विपक्षीय भेटघाट बाहिर थियो, अर्को कोठामा । त्यो कोठामा अर्थमन्त्रीको भारतीय वित्तमन्त्रीको कोठामा एकैछिन बस्दैगर्दा आएको फोटो हो ।’
अहिले नेपालकै अर्थमन्त्रीको कोठामा गयो भने नेपालको राष्ट्रिय झन्डा मात्रै देखिने उनले तर्क गरे । ‘अरु देशको झन्डा देखिदैन नि । जब दुई देशको द्विपक्षीय बैठक हुन्छन्, भेटघाट हुन्छन्, डेलिगेट्सबीचको कुरा हुन्छ, त्यहाँ दुई देशको झन्डा हुन्छ र हुनैपर्छ,’ उनले भने ।
‘त्यो भारतको वित्तमन्त्रीको कार्यकक्ष हो, त्यो कार्यकक्षमा केही समय उहाँहरू सामान्य कुराकानी त्यहाँ बस्नुभएको थियो,’ प्रवक्ता खरेलले भने ।
तर, दुवै पक्षको डेलिगेट्ससहितको बैठकमा डिजिटल डिस्प्लेमा, दुवै पक्षको टेबलमा प्रशस्त मात्रामा नेपाल–भारतको झन्डा राखिएको उनले दाबी गरे ।
प्रतिक्रिया 4