५ असोज, खोटाङ । मिर्गौला रोगबाट ग्रसित महिलालाई आर्थिक सहयोग जुटाइएको छ ।
खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले घर भइ हाल उदयपुरको बेलका नगरपालिका–३ मा बसोबास गरिरहेकी गंगाकुमारी मगरको उपचारका लागि ९ लाख ६ हजार ६३९ रुपैयाँ जुटाइएको हो ।
दुवै मिर्गौला फेल भएकी मगरको उपचारका लागि बाराहपोखरी सेवा समाज खोटाङ काठमाडौं र सामाजिक अभियान्ताहरुको सहकार्य र समन्वयमा उपचार खर्च संकलन गरिएको हो ।
विपन्न आर्थिक अवस्थाका गंगाकुमारीको हाल किष्ट अस्पतालमा डायलासिस भइरहेको छ । विगतदेखि नै मुटु, प्रेसर र सुगरको रोगी रहेकी मगरको बीर अस्पतालमा उपचार गरिएको थियो ।
स्वास्थ्यमा सुधार आएपछि घर फर्काइएको थियो तर दुई महिना नबित्दै गत बैसाख २३ गते अचानक ढलेको बिरामीका भाइ इन्द्र लिमेल मगरले बताए । बिरामीलाई बेलका नगर अस्पताल हुँदै विराट मेडिकल कलेज पुर्याएपछि दुवै मिर्गौला फेल भएको पत्ता लागेको हो ।
निम्न आर्थिक अवस्था भएका मगरको उपचारका लागि गत बैसाख २४ गतेबाट सुरु गरिएको अभियानका क्रममा स्वदेश तथा विदेशमा रहेका ३१९ जना दाताबाट सहयोग जुटाइएको बाराहपोखरी सेवा समाज खोटाङ काठमाडौंका पुर्वउपाध्यक्ष उमेश श्रेष्ठले बताए ।
संकलन भएको रकम समाजका उपाध्यक्ष दिपेन बस्नेतले बिरामीलाई हस्तान्तरण गरेका छन् ।
प्रतिक्रिया 4