+
+
Shares

हत्तेरिका ! होशप्रसाद हुँ म

‘होशप्रसाद हुँ म’ भन्दै टेलिभिजनमा हप्तैपिच्छे देखापर्ने उनी अचानक गायब भए । त्यसपछि कहाँ गए ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते ८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली हास्य अभिनेता मोहन मिश्र अहिले अमेरिकाको नर्थ क्यारोलाइनाको दुरम सहरमा रोजगारी गर्दै बसोबास गरिरहेका छन् ।
  • नेपाल टेलिभिजनको स्वर्णकालमा लोकप्रिय ‘होशप्रसाद’ र ‘मिस्टर फन्टुस’ शृंखला खेलेका मिश्रले पछि कलाकारिता छाडेर जग्गा कारोबार र अमेरिका बसाइ रोजे ।
  • धुर्मुस–सुन्तलीले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ सिरियलमार्फत मोहन मिश्र पुनः पर्दामा फर्किएका छन् ।

उनको नाम हो, होशप्रसाद । औसत जीवन बाँचेका छन् । काठमाडौंमा घर छ, परिवार छ, जागिर छ । सबैकुरा छ । तर एउटा कुरा छैन, होश ।

अर्थात् बेलाबखत उनको होश हराउँछ । त्यही भएर घरमा पाहुना बोलाएर मासु लिन गएका उनी त्यतैबाट साथीसँग घुम्न निस्कन्छन् । आफू मासु किन्न आएको कुराको होश उनलाई त्यसबेला मात्र हुन्छ, जब साँझ घरमा पुग्दा श्रीमतीको पारो तातेको देख्छन् ।

उनी जानेर नराम्रो गर्न खोज्दैनन् । तर सबैकुरा ठिकठाक चलिरहेकै बखत नराम्रो भइदिन्छ । किनभने उनको बिर्सने बानी छ ।

एउटा काममा निस्किएका उनी अर्कै काम गरेर फर्कन्छन् । त्यही भएर हरेक दिन उनको गडबड हुन्छ । गडबड भए पनि हडबड नगर्नु होला । यो केवल टेलिभिजन शृंखलाको कथा हो । यो कथा हो, होशप्रसादको ।

श्यामश्वेत टेलिभिजनको समय–रेखामा हुर्कनुभएको हो भने यतिबेला पक्कै तपाईंले आँखीभौं तन्काउनुभयो । अनि स्वादले टाउको हल्लाउनुभयो । यसरी हल्लाउनुभयो, ‘अँ, थाहा छ… थाहा छ’ शैलीमा ।

पक्कै थाहा छ तपाईंलाई, होशप्रसाद को हुन् ? किनभने हरेक साता तपाईंले यो शृंखला अधैर्यसाथ पर्खनुभयो । ब्याट्रीको जोरजाम गर्नुभयो, छानोमा ठडिएको एन्टिना मिलाउनुभयो । अनि भुइँमै बसेर मस्तले यो हास्य शृंखला हेर्नुभयो । होशप्रसादको अबोध हर्कत देखेर खित्का छाड्दै हाँस्नुभयो ।

‘होशप्रसाद हुँ म’ भन्दै टेलिभिजनमा हप्तैपिच्छे देखापर्ने उनी अचानक गायब भए । त्यसपछि कहाँ गए ?

श्यामश्वेत टेलिभिजनको युग सकियो । पेजरको युग सकियो । भिसिआर क्यासेटको युग सकियो । एन्टिनाको युग सकियो । सिडीको युग सकियो । तैपनि होशप्रसाद फर्किएनन् ।

खोज्दै जाँदा अमेरिकाको नर्थ क्यारोलाइनामा टुप्लुक्क भेटिए । रंगपत्रकार ऋषिराम कट्टेलसँग प्रेमिल भावमा फोटो खिचिरहेका । होशप्रसाद अर्थात् मोहन मिश्र ।

भनिहालौँ, दिग्गज हास्य अभिनेता हुन् उनी । नेपाल टेलिभिजनको स्वर्ण कालमा उनी ‘होशप्रसाद’ शृंखला लिएर पर्दापण गरेका थिए । त्यसपछि ‘मिस्टर फन्टुस’ मा देखापरे । यी दुवै उनका सर्वाधिक रुचाइएका हास्य शृंखला थिए ।

खासमा उनलाई टेलिभिजनमा तान्ने काम चाहिँ सन्तोष पन्तले गरेका रहेछन् । सन्तोष पन्तले त्यसबखत ‘हिजो आजका कुरा’ निर्माण गर्थे, जुन सर्वाधिक प्रिय शृंखलामा गनिन्थ्यो । मोहन मिश्रलाई सोही शृंखलाका लागि पटकथा लेख्न भनी सन्तोष पन्तले बोलाएका थिए ।

यसरी बोलाउनुको कारण थियो, रेडियो कार्यक्रम ‘दिनप्रतिदिन’ । नाटकीय ढंगले समसामयिक विषयमाथि कथा भन्ने यो रेडियो शृंखला त्यसबेला उखुमै चलेको थियो । अतः त्यसको संवाद लेखक थिए, मोहन मिश्र ।

मिश्रको यही खुबी देखेर पन्तले उनलाई ‘हिजो आजका कुरा’ लेख्न लगाए । उनले २०० एपिसोड लेखिदिए । त्यससँगै उनले राजेश हमाल स्टारर ‘तडप’ भन्ने फिल्म गरे । त्यसपछि भने उनको उपस्थिति क्रमशः पातलिँदै गयो ।

उनी फिल्म र कलाकारिता छाडेर जग्गा कारोबारतिर लागेछन् । जग्गाबाट ‘झ्याम झ्याम’ पैसा आउने भएपछि उनले कलाकारितामा समय दिन सकेनन् । यही उपक्रम चलिरहँदा उनी अमेरिका गए । यो १८ वर्षअघिको कुरा हो ।

अहिले उनी अमेरिकाको नर्थ क्यारोलाइनाको दुरम सहरमा बस्छन् । त्यहीँ रोजगारी गर्छन् । दुई छोरी हुर्काइसकेका छन् । एक छोरी अस्ट्रेलियामा छिन् । अर्की अमेरिकामै । जिन्दगी आफ्नै ढंगले चलिरहेको छ ।

तर, करियरको उत्तरार्द्धमा आइपुग्दा उनलाई एउटा अफर आयो, टेलिशृंखला खेल्ने । अन्ततः धुर्मुस–सुन्तलीले निर्माण गरिरहेको ‘म त मर्छु कि क्या हो’ मा उनी पनि सामेल भए ।

हास्य कलाकारितामा उनले पुरानै लय समातेका छन् वा छैनन् ? त्यो हेर्न चाहिँ ‘म त मर्छु कि क्या हो’ हेर्नुभए हुन्छ ।

यो सिरियल अमेरिकामा रहेका नेपालीको जीवनशैली, पारिवारिक सम्बन्ध, संघर्ष र सामाजिक परिवेशलाई हास्यव्यंग्यमार्फत प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको हो । लामो समयदेखि नेपाली हास्य कार्यक्रम, लेखन, निर्देशन र अभिनयमा योगदान दिँदै आएका मोहन मिश्र अहिले नयाँ पुस्ताका कलाकारसँग पुनः पर्दामा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?