News Summary
Generated by OK AI. Editorially reviewed.- रुपेश उप्रेतीले अमेरिकाको ओहायो राज्यको फेयरफिल्ड सहरमा ‘ग्लोबल डान्स स्टुडियो’ सञ्चालनमा ल्याएका छन्।
- स्टुडियो शुभारम्भसँगै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको ओहायो राज्य समिति गठन गरी रुपेश उप्रेती अध्यक्ष चयन भएका छन्।
- उद्घाटन कार्यक्रममा ‘बाबा छोरा’ म्युजिक भिडियो सार्वजनिक गर्दै नेपाली बालबालिकाले नृत्य र सांस्कृतिक प्रस्तुति दिएका छन्।
फेयरफिल्ड, ओहायो (अमेरिका) । नेपाली फिल्म र म्युजिक भिडियो नृत्य निर्देशनमा लामो समयदेखि सक्रिय रुपेश उप्रेतीले ओहायो राज्यको फेयरफिल्ड सहरमा ‘ग्लोबल डान्स स्टुडियो’ सञ्चालनमा ल्याएका छन् ।
उक्त स्टुडियो शुभारम्भसँगै नेपाली कलाकारको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को ओहायो राज्य समितिसमेत गठन गरिएको छ ।
फेयरफिल्ड सहरकी उपमेयर डेबी पेनिङटनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानीय नेपाली समुदायका अगुवा, कलाकार, सामाजिक व्यक्तित्व तथा कला–संस्कृतिप्रेमीको उपस्थिति थियो ।
कार्यक्रममा अमेरिकामै जन्मे-हुर्केका नेपाली बालबालिकाले विभिन्न नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए । नेपाली कला र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने तथा बालबालिका र युवालाई नृत्यका माध्यमबाट सिर्जनात्मक गतिविधिमा जोड्ने उद्देश्यले स्टुडियो सञ्चालनमा ल्याइएको आयोजकले जनाएको छ ।
सो अवसरमा इनास ओहायो राज्य समिति घोषणा गरियो । इनास उत्तर अमेरिका क्षेत्रीय संयोजक राहुल केसी, इनास अमेरिकाका उपाध्यक्ष गोपालचन्द्र लामिछाने, सदस्य एकनारायण सुवेदी र इनास केन्टकीका सल्लाहकार सुमन दाहालको उपस्थितिमा समिति गठन गरिएको थियो ।
गठित समितिको अध्यक्षमा रुपेश उप्रेती, उपाध्यक्षमा केशव पौडेल, महासचिवमा तुलराम अधिकारी र कोषाध्यक्षमा हेम फुयाल चयन भएका छन् ।
कार्यकारी सदस्यमा डेभिड ढकाल, प्रकाश घिमिरे, शारदा धिताल, दुर्गा बान्तवा राई तथा डिल्ली चम्लागाईं छन् । पुष्प लुइँटेललाई समितिको सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
नवनिर्वाचित समितिले ओहायोमा नेपाली कलाकार तथा कला क्षेत्रमा क्रियाशील व्यक्तिलाई संगठित गर्दै नेपाली कला, साहित्य, संगीत, नृत्य तथा संस्कृतिको प्रवद्र्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने जनाएको छ ।
उद्घाटन समारोहमा गर्जन ब्याण्डले सांगीतिक प्रस्तुति दिएको थियो । कार्यक्रममा नृत्य निर्देशक उप्रेतीको नृत्य निर्देशन तथा आरभ उप्रेतीको स्वर र अभिनय रहेको ‘बाबा छोरा’ म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो ।
नेपाली परिवार र पुस्ताबीचको सम्बन्धलाई केन्द्रमा राखिएको उक्त म्युजिक भिडियो कार्यक्रमका सहभागीमाझ सार्वजनिक गरिएको हो । कार्यक्रमको सञ्चालन तुला अधिकारीले गरेका थिए ।
नेपालमा चलचित्र तथा म्युजिक भिडियोमा नृत्य निर्देशन गर्दै आएका उप्रेतीले अमेरिकामा आफ्नो कला यात्रालाई निरन्तरता दिँदै ग्लोबल डान्स स्टुडियोमार्फत नृत्य प्रशिक्षण र सांस्कृतिक गतिविधिलाई अघि बढाउने योजना बनाएका छन् ।
स्टुडियोमा नेपालीसहित विभिन्न शैलीका नृत्य सिकाइने तथा स्थानीय बालबालिका र युवालाई कला क्षेत्रमा प्रोत्साहित गरिने जनाइएको छ । ओहायोमा इनास राज्य समितिको गठन र ग्लोबल डान्स स्टुडियोको सुरुवातले नेपाली कलाकार, कला तथा सांस्कृतिक गतिविधिलाई संगठित र संस्थागत रूपमा अघि बढाउने नयाँ आधार तयार गरेको आयोजकको भनाइ छ ।
प्रतिक्रिया 4