News Summary
Generated by OK AI. Editorially reviewed.- लेखक पूजा खड्काले सडकका सामुदायिक कुकुरमाथि हुने हिंसा र उपेक्षाबारे लेख्दै स्थानीय तह र राज्यलाई स्पष्ट कानुन र व्यवस्थापन गर्न आग्रह गरेकी छिन्।
ऊ निरीह छ, बोल्न सक्दैन, किनकि ऊ सडकको गल्लीमा जन्मिएको एउटा कुकुर हो । समाजले उसलाई हेपेर ‘भुस्याहा’ नाम भिराइदिएको छ । आफ्ना आधारभूत अधिकारका लागि ऊ न सडकमा जुलुस निकाल्न सक्छ, न त अदालतको ढोका नै ढक्ढक्याउन । उसले बुझ्ने कानुन केवल प्रकृतिको हो र उसले साट्ने भाषा केवल भावना, संवेदना र निःस्वार्थ प्रेमको हो।
उसले कुनै विद्यालयमा नैतिकताको पाठ पढेको छैन, न त कुनै औपचारिक तालिम नै लिएको छ । तैपनि उसमा मानवभन्दा गहिरो बफादारी र समर्पण छ । उसले छलछाम जान्दैन, बिनाकारण कसैमाथि आक्रमण गर्दैन । जाडोको कठ्याङ्ग्रिँदो रात होस् या बर्खाको झरी, ऊ हाम्रा टोल र गल्लीहरूको निःशुल्क पहरेदार बनेर खटिरहन्छ । समाजका अवाञ्छित गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै बस्तीलाई सुरक्षित बनाउन उसले दिने योगदानको कुनै मोल तोकिएको छैन ।
बदलामा उसले के पाउँछ ? केवल एक छाक जुठो गाँसको खोजी, अलिकति न्यानो ओत खोज्दा ढुङ्गा, लाठीको प्रहार । कुकुर तिहारको दिन मात्र उसको गलामा माला र निधारमा टीका लगाएर पूजा गर्ने हामी, बाँकी ३६४ दिन भने उसैलाई हिँड्ने बाटोबाट लखेट्न र लात हान्न पछि पर्दैनौँ । हाम्रो यो दोहोरो चरित्र र देखावटी संस्कार कति न्यायसङ्गत छ ?
कथित सभ्य समाजका मानिसहरूबाटै यी अबोध प्राणीमाथि हुने अमानवीय यातनाका दृश्यहरू सामाजिक सञ्जालमा दिनहुँ छरपस्ट भेटिन्छन् । कहिले विष खुवाएर त कहिले अमानवीय तरिकाले यातना र हत्या गरेर बस्ती सफा बनाएको ढोंग रचिन्छ ।
केही पशुप्रेमी मनहरूले लेखेर, बोलेर आवाज नउठाएका होइनन्, साथै केही संरक्षणकर्मीले आफ्ना बलबुताले भ्याएसम्म संरक्षण नगरेका पनि होइनन्। तर जबसम्म स्थानीय तह र राज्यले स्पष्ट कानुन, बन्ध्याकरण र उचित व्यवस्थापनमा ध्यान दिँदैन, तबसम्म यो क्रूरता रोकिने छैन । पशु कल्याण केवल दयाको विषय होइन, यो न्याय र सभ्यताको मानक पनि हो ।
प्रकृतिको सबैभन्दा चेतनशील प्राणी मानिने हामी मानव आज किन यति विवेकशून्य बनिरहेका छौँ ? आफ्नो सुविधा र स्वार्थका लागि अरूको जीवनमाथि निर्मम खेलबाड गर्ने अधिकार हामीलाई कसले दियो ? यो पृथ्वी केवल मानिसको मात्र होइन, यहाँ सास फेर्ने हरेक प्राणीको समान हक छ ।
बोल्न सक्नेहरूका लागि कानुन छ, मानव अधिकार छ, संयन्त्रहरू छन् तर ती आवाजविहीन सामुदायिक कुकुरहरूको बाँच्न पाउने न्यूनतम अधिकारका बारेमा कसले सुनिदिने र कसले बुझिदिने?
(लेखक पूजा खड्का, गोरखा मोडेल सेकेन्डरी स्कुल, लमही–६, दाङमा कार्यरत शिक्षिका हुन्।)
प्रतिक्रिया 4