७ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले महंगीको विषय उठाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले आज बिहान आफू तरकारी किन्न बजार गएको बताइन् । अनि बजार मूल्य के रहेछ भनेर संसद्मा सुनाइन् । ‘रायो साग प्रतिकेजी २७० पुगेछ । चिनी प्रतिकेजी १७०’ उनले भनिन्, ‘आलु, प्याज लगायत दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन आकासिएको छ ।’
कुखुराको मासु प्रतिकेजी झण्डै पाँच सय, खसीबोको मासु प्रतिकेजी १७ सय भन्दा माथि रहेको बताइन् ।
ग्यासको हाहाकार कायमै रहेको उल्लेख गर्दै उनले सरकारले अनुगमन गर्नुपर्ने र अस्वभाविक मूल्यबृद्धि कम गर्नुपर्ने आग्रह गरिन् ।
यसअघि अनय सांसदहरूले पनि यो विषय उठाएका छन् ।
३० भदौमा बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन कुमार भण्डारीले पनि महंगिएका खाद्य पदार्थहरूको भाउ नै सुनाएका थिए ।
पछिल्लो एक महिनामा २५ केजी जिरा मसिनो चामलको मूल्य २२ सयबाट २६ सय पुगेको, लंग ग्रेन २० केजीको ३२ सयबाट ३६ सय पुगेको बताएका थिए ।
उनका अनुसार मासको दाल एक केजीको १४० बाट २००, रहरको दाल एक केजीको १९० बाट २१० पुगेको छ । तेल स्वेनफ्लावर २८० बाट ३१०, भटमासको तेल २७० बाट ३०० पुगेको छ । अण्डा प्रतिक्रेट ६०० पुगेको छ ।
यी भाउ सुनाउँदै उनले प्रश्न गरेका थिए, ‘अनियन्त्रित ढंगबाट मूल्यवृद्धि भएको छ । यो मूल्यवृद्धि हुनुको कारण के हो ? मूल्यवृद्धि नियन्त्रणमा सरकार र सम्बन्धित मन्त्रालयको के योजना रहेको छ ?’
मूल्यवृद्धि नियन्त्रण गर्न संघ सरकार, प्रदेश र स्थानीय सरकार लगायत सम्बद्ध निकायले अनुगमन गर्नुपर्ने उनको आग्रह छ ।
प्रतिक्रिया 4