News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले तोकिएको पूँजी कोष कायम नगरेका फरवार्ड, धौलागिरी, मातृभूमि र एनआईसी लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरेको छ।
- विन नेपाल र सञ्जीवनी लघुवित्त वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात कायम नगरेपछि राष्ट्र बैंकले नगद जरिबाना गरेको छ।
- राष्ट्र बैंकका अनुसार फरवार्डको न्यूनतम पूँजीकोष ६.१२, धौलागिरीको ६.३८, मातृभूमिको ४.०८ र एनआईसीको ६.३९ प्रतिशत मात्र रहेको छ।
७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले चार लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । केन्द्रीय बैंकले तोकिएको पूँजी कोष कायम नगरेपछि ती लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही गरेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाले प्राथमिक पूँजी ४ प्रतिशत र कुल पूँजीकोष ८ प्रतिशत कायम गर्नुपर्छ । सो कायम नगरेपछि फरवार्ड लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, मातृभूमि लघुवित्त वित्तीय संस्था र एनआईसी लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारबाहीमा परेका हुन् ।
त्यसैगरी विन नेपाल लघुवित्त वित्तीय संस्था र सञ्जीवनी लघुवित्त वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात कायम नगरेको हुँदा नगद जरिबाना गरिएको केन्द्रीय बैंकले जनाएको छ । बैंकका अनुसार बचतको कारोबार गर्ने लघुवित्तले २ र अन्यले ०.५ प्रतिशत अनिवार्य नगद मौज्दाता राख्नुपर्छ ।
फरवार्ड लघुवित्त वित्तीय संस्था २०८२ असार मसान्तमा न्यूनतम पूँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको केन्द्रीय बैंकले जनाएको छ । उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमको शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
त्यसैगरी धौलागिरी लघुवित्त वित्तीय संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पूँजीकोष अनुपात ६.३८ प्रतिशत मात्र कायम गरेको केन्द्रीय बैंकले जनाएको छ । तोकिए भन्दा न्यून पूँजी कोष भए पनि केन्द्रीय बैंकले धौलागिरीलाई शीघ्र सुधारात्मक सम्बन्धी कारबाही गरेको हो ।
त्यसैगरी मातृभूमि लघुवित्त वित्तीय संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पूँजी कोष अनुपात ४.०८ प्रतिशत मात्र कायम गरेको हुँदा शीघ्र सुधारात्मक सम्बन्धी कारबाही गरिएको बैंकले जनाएको छ । एनआईसी लघुवित्त वित्तीय संस्थाले असार मसान्तमा न्यूनतम पूँजीकोष अनुपात ६.३९ प्रतिशत मात्र कायम गरेपछि शीघ्र सुधारात्मक कारबाहीमा परेको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्थाले २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम पटकका लागि ५८ रुपैयाँ नगद जरिबाना गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
सञ्जीवनी लघुवित्त वित्तीय संस्थाले २०८२ चैत, २०८३ बैशाख, जेठ र असार महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम, दोस्रो, तेस्रो र चौथो पटकका लागि क्रमशः ७ सय १३, १ हजार ६७, १ हजार ४ सय १२ र एक हजार ४ सय १० रुपैयाँ नगद जरिबाना गरेको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया 4