दक्षिण अफ्रिकाको डरबन सहरनजिकै एक घरभित्र भएको गोलीबारीमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मंगलबार राति बन्दुकधारीहरू क्वामाखुथा टाउनसिपस्थित एउटा घरमा प्रवेश गरी त्यहाँ रहेका १४ जनामाथि गोली चलाएका थिए ।
गोली लागेर घटनास्थलमै १० जनाको मृत्यु भएको थियो । चार जनालाई अस्पताल लगिएकोमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकमध्ये केही व्यक्ति अवैध गतिविधिसम्बन्धी घटनामा प्रहरीको निगरानीमा थिए । अनुसन्धान प्रभावित नहोस् भनेर यसबारे तत्काल थप जानकारी दिन नसकिने प्रहरीले जनाएको छ ।
गोलीकाण्डको कारण अहिलेसम्म स्पष्ट भएको छैन । यद्यपि, दुई प्रतिद्वन्द्वी समूहबीचको विवादका कारण घटना भएको हुन सक्ने सम्भावनालाई भने प्रहरीले अस्वीकार गरेको छैन ।
‘हालसम्म प्राप्त जानकारीअनुसार १३ जना पुरुष र एक महिला घरभित्र पार्टी गरिरहेका थिए । महिला गर्भवती रहेको अनुमान गरिएको छ,’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यही क्रममा तीन जना पुरुष त्यहाँ पुगे र उनीहरूमाथि गोली चलाए ।’ घटनामा ती महिलाको पनि मृत्यु भएको छ ।
प्रहरीले घटनामा संलग्न आक्रमणकारीहरूको खोजी सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया 4