+
+
Shares

एकैचोटि १० हजार टन धान किन्दै आरजु राइस मिल, लागत ३९ करोड  

सर्लाही र रौतहटबाट उक्त परिमाणमा धान खरिद गर्न लागेको कम्पनीले जनाएको छ । प्रस्तावित खरिदको कुल मूल्य करिब ३९ करोड रुपैयाँभन्दा बढी हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आरजु राइस मिलले मधेस प्रदेशका सर्लाही र रौतहटबाट १० हजार टन धान पूर्वघोषित न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने भएको छ ।
  • कम्पनीले करिब ३९ करोड रुपैयाँ बराबरको खरिदमार्फत किसानलाई सुनिश्चित बजार, उचित मूल्य र ढुवानी सहजीकरण दिने लक्ष्य राखेको छ ।
  • मिलले गुणस्तरअनुसार मूल्य निर्धारण, भुस र चिस्यानका आधारमा थप मूल्य, तथा प्रदेश सरकारसँग ढुवानी सहयोगको व्यवस्था गर्न आग्रह गरेको छ ।

७ असोज, काठमाडौं । देशकै सबैभन्दा बढी धान उत्पादन गर्ने मधेस प्रदेशका किसानलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउने उद्देश्य सहित आरजु राइस मिलले मधेस प्रदेशबाट १० हजार टन धान खरिद गर्ने भएको छ ।

सर्लाही र रौतहटबाट उक्त परिमाणमा धान खरिद गर्न लागेको कम्पनीले जनाएको छ । प्रस्तावित खरिदको कुल मूल्य करिब ३९ करोड रुपैयाँभन्दा बढी हुनेछ ।

आरजु राइस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले मधेस प्रदेशका मुख्यमन्त्रीलाई पत्र लेख्दै किसानले उत्पादन गरेको धानलाई पूर्वघोषित न्यूनतम समर्थन मूल्यका आधारमा खरिद गर्ने र किसानलाई बजारसँग प्रत्यक्ष जोड्ने पहल अघि सारेको कम्पनीले जनाएको छ ।

मिलको प्रस्ताव अनुसार किसानले न्यूनतम समर्थन मूल्यको वास्तविक लाभ लिन सकुन् भन्ने उद्देश्यले बजार, ढुवानी, संकलन तथा गुणस्तर व्यवस्थापन एकीकृत रूपमा अघि बढाइने जनाएको छ ।

मधेस प्रदेश नेपालको प्रमुख धान उत्पादन क्षेत्रमध्ये एक भए पनि किसानले उत्पादनपछि उचित बजार, मूल्य तथा ढुवानी समस्या भोग्दै आएका छन् । सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गरे पनि किसानले धान खरिद केन्द्र वा मिलसम्म पुर्‍याउँदा लाग्ने ढुवानी खर्चका कारण त्यसको पूर्ण लाभ लिन नसक्ने अवस्था देखिएको छ ।

आरजु राइस मिलले किसानबाट पूर्वघोषित न्यूनतम समर्थन मूल्यका आधारमा धान खरिद गरी किसानका लागि निश्चित बजार सिर्जना गर्ने लक्ष्य राखेको छ ।

मिलले तोकिएको गुणस्तर अनुसार धानको मूल्य निर्धारण गर्ने र गुणस्तर राम्रो भए थप मूल्य प्राप्त गर्न सकिने व्यवस्था प्रस्ताव गरेको छ । यसले किसानलाई उत्पादन बेच्न बजार खोज्दै हिँड्नुपर्ने बाध्यता कम गर्नुका साथै मूल्यमा हुने अनिश्चितता घटाउने अपेक्षा गरिएको छ ।

यस पहलबाट किसानलाई मुख्यरूपमा सुनिश्चित बजार, उचित मूल्य, बिचौलियामाथिको कम निर्भरता, कटानीपछिको नोक्सानी न्यूनीकरण तथा सामूहिक रूपमा धान बिक्री गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ ।

किसान समूह, किसान उत्पादक संस्था तथा सहकारी मार्फत धान संकलनलाई व्यवस्थित गर्न सकिए ढुवानी तथा अन्य लागत समेत घटाउन सकिने मिलको धारणा छ ।

मसिनो जातको धानलाई मिल गेटसम्म पुर्‍याउँदा, २० प्रतिशत चिस्यान र ५ प्रतिशतसम्म भुस (खकडी) भएकालाई प्रतिक्विन्टल ३ हजार ५ सय तोकिएको छ । त्यसैगरी चिस्यान कम भए एक प्रतिशत चिस्यान बराबर १ हजार २ सय ग्राम थपिने छ भने एक प्रतिशत भुस बराबर १ किलो थप हुनेछ ।

उदाहरणका लागि यदि धान राम्रो छ र चिस्यान १४ प्रतिशत र खकडीविनाको छ भने धानको मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ६२ रुपैयाँ कायम हुने प्रस्ताव गरेको छ ।

किसानले न्यूनतम समर्थन मूल्यको वास्तविक लाभ लिन धान मिल वा खरिद केन्द्रसम्म पुर्‍याउँदा लाग्ने ढुवानी खर्च महत्त्वपूर्ण हुने भएकाले आरजु राइस मिलले मधेस प्रदेश सरकारलाई ढुवानीमा आवश्यक सहयोग तथा सहजीकरणको नीतिगत व्यवस्था गर्न आग्रह गरेको छ ।

प्रदेश सरकार, स्थानीय तह, कृषि कार्यालय, किसान समूह, सहकारी तथा निजी क्षेत्रबीच समन्वय हुन सके किसानलाई धान संकलन, भण्डारण, गुणस्तर व्यवस्थापन तथा ढुवानीबारे आवश्यक सहजीकरण गर्न सकिने र यसबाट किसान–मिलबीच दीर्घकालीन व्यावसायिक सम्बन्ध विकास हुने अपेक्षा गरिएको छ ।

स्थानीय बजारमा पनि सकारात्मक प्रभाव

आरजु राइस मिलले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने स्पष्ट व्यवस्था कार्यान्वयन भए स्थानीय व्यापारीले समेत किसानबाट अत्यन्त कम मूल्यमा धान खरिद गर्ने प्रवृत्तिमा कमी आउन सक्ने विश्वास व्यक्त गरेको छ ।

यसले बजारमा न्यूनतम मूल्यको व्यावहारिक आधार निर्माण गर्दै किसानलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्ने सुरक्षा बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

किसानलाई आपूर्तिकर्ता होइन, दीर्घकालीन साझेदार बनाउने लक्ष्य

आरजु राइस मिलको प्रस्तावले तत्काल धान खरिदमा मात्र नभई मधेस प्रदेशमा दीर्घकालीन रूपमा धान प्रशोधन तथा चामल उद्योगसँग किसानको सहभागिता र स्वामित्व जोड्ने सम्भावना समेत औँल्याएको छ ।

किसानलाई बजार, ढुवानी तथा दीर्घकालीन बिक्रीको विश्वास दिलाउन सकिए भविष्यमा मधेस प्रदेशमा धान मिल स्थापना एवं विकासमा किसानको सहभागिता तथा लगानी बढ्न सक्ने आरजु राइस मिलको विश्वास छ ।

मिलले धान खरिद गर्दा गुणस्तर, तौल, मूल्य तथा भुक्तानी प्रक्रिया पारदर्शी राख्ने प्रतिबद्धता जनाएको छ । प्रदेश सरकारको नीतिगत सहकार्य र निजी क्षेत्रको बजार तथा व्यवस्थापन क्षमता किसानसँग प्रभावकारी रूपमा जोड्न सकिए मधेस प्रदेशको धान खेतीलाई थप व्यावसायिक, प्रतिस्पर्धी र लाभदायी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने आरजु राइस मिलको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?