८ असोज, काठमाडौं । डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ स्थित जोराघाट माध्यमिक विद्यालयका शिक्षक भागिराम चौधरीले आफूलाई ज्यान मार्ने धम्की आएको गुनासो गरेका छन् । उनले प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर आफूलाई केही व्यक्तिले ज्यान मार्ने धम्की दिएको बताउँदै न्यायका लागि हारगुहार गरिरहेका छन् ।
शिक्षक चौधरीले प्रहरी चौकी, गाउँपालिका कार्यालय, जिल्ला शिक्षा समन्वय इकाईलगायतका निकायमा दिएका उजुरीमा स्थानीय गणेश भुल, गोविन्द बिनाडी र नरबहादुर थापाले ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन् ।
‘खुकुरीले काट्दिन्छु भन्दै हातहतियार र काठको ठूलो मुडा लिएर भौतिक आक्रमण गर्न आएका थिए । काठको मुडाले हानेको थिए । तर, म छलेर बच्न सफल भएको हुँ,’ शिक्षक चौधरीले भने, ‘मदिरा सेवान गरेर आक्रमण गर्न आएका हुन् ।’
उनले आरोप लगाएकामध्येका थापा सोही विद्यालयमा निजी शिक्षकको रूपमा समेत कार्यतर थिए । तर, गाउँपालिकाका अनुसार अहिले उनी उक्त विद्यालयमा कार्यरत नरहेको बताएको छ । गोविन्द बिनाडी शिक्षक अभिभावक संघको अध्यक्ष र गणेश भुल स्थानीय हुन् ।
भौतिक आक्रमणको डर भएपछि शिक्षक चौधरी अहिले बर्दिया घर आइपुगेका छन् । बारबर्दिया नगरपालिका–११ बर्दियाका चौधरी २०८० पुसदेखि उक्त विद्यालयमा कार्यरत छन् ।
उक्त विद्यालयका प्रधानाध्यापक लोकराज बिनाडीले शिक्षा नियमावली–२०५९ को १० औं संशोधनका कारण राजीनामा दिएका थिए । सहायक प्रधानाध्यापकसमेत रहेका चौधरी प्रधानाध्यापक बन्नसक्ने भन्दै स्थानीयले आफूलाई रोक्न आक्रमण गरेको आरोप उनको छ ।
‘मैले प्रधानाध्यापक बन्छु भनेको पनि थिएन । तर, नियमअनुसार म बन्छु भनेर स्थानीयलाई लगाएर विद्यालयकै अन्य शिक्षकले स्थानीय लगाएका हुन्,’ उनले भने ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख चेतराज बिनाडीका अनुसार शिक्षक देवबहादुर कुँवरलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ । र, शिक्षक चौधरीमाथि दुर्व्यवहार भएको घटना गाउँपालिकामा पनि पुगेको छ ।
गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले दुवै पक्षलाई बोलाएर छलफल गर्ने बताए । ‘विद्यालय व्यवस्थापन समिति अध्यक्ष र वडाध्यक्षलाई भनेको छु । जे भयो त्यो शिक्षा क्षेत्रमा सुहाउने विषय होइन । सहमति वा कानुनी प्रक्रियामा जाने हो छलफलबाट टुंगो लगाउनुपर्छ,’ उनले भने ।
शिक्षा शाखा प्रमुख बिनाडीले पनि पालिकाले मिलाउने प्रयास गरिरहेको बताए । ‘शिक्षकमाथि स्थानीयले धम्कीको भाषा बोलेको रहेछ । वडामा मिलेन भने पालिकाले मिलाउछौं । शिक्षकको सुरक्षा गर्ने दायित्त्व हो । शिक्षकमाथि भएको घटानको घोर आपत्ति छ,’ उनले भने ।
तर शिक्षक चौधरीले आफ्नो सुरक्षा नभएकाले विद्यालय फर्किन नसकेको बताएका छन् । उनले सुरक्षाको माग गर्दै प्रहरी कार्यालय, शिक्षा मन्त्रालय, शिक्षक महासंघ, गाउँपालिका, शिक्षा विकास तथा समन्वय एकाईमा निवेदन दिएका छन् । आफूमाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने माग शिक्षक चौधरीको छ ।
प्रतिक्रिया 4