८ असोज, काठमाडौं । प्राडा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. राम लामाले यस्तो माग राखेका हुन् ।
‘देशले एक महान् शिक्षाविद् तथा नेपालको आधुनिक शिक्षा विकासका दूरदर्शी व्यक्तित्वलाई गुमाएको छ,’ उनले भने ।
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. शर्माको बुधबार निधन भएकोथियो । यसले नेपाली शैक्षिक जगत् र सिंगो राष्ट्रलाई नै स्तब्ध बनाएको सांसद लामाले बताए ।
प्राडा. शर्माले सन् १९८९ मा सीटीईभीटीका प्रथम कार्यकारी निर्देशकका रूपमा नेपालको प्राविधिक शिक्षाको जग बसालेका सांसद लामाले बताए । त्यसपछि, सन् १९९१ मा काठमाडौं विश्वविद्यालय स्थापना गरी करिब दुई दशकसम्म नेतृत्व गरेको स्मरण गरे ।
शर्माकै दूरदृष्टिअनुसार काठमाडौं विश्वविद्यालयलाई स्वायत्त विश्वविद्यालय तथा अनुसन्धानको प्रतिष्ठित केन्द्रका रूपमा स्थापित गरिएको भन्दै सांसद लामाले नेपालको उच्च शिक्षामा नयाँ सोच, नयाँ मानक र नयाँ सम्भावनाको आधारसमेत तयार गरेको भन्दै सम्झिए
‘उहाँजस्तो शिक्षाविद् जन्मिन देशले फेरि सयौँ वर्ष कुर्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘नेपालको प्राविधिक तथा उच्च शिक्षाको विकास र शैक्षिक नीति निर्माणमा उहाँले पुर्याउनुभएको ऐतिहासिक योगदानको उच्च सम्मान गर्दै, प्रा. डा. सुरेशराज शर्माज्यूलाई राष्ट्रिय विभूति घोषणा गरी राष्ट्रीय सम्मान प्रदान गर्न सम्माननीय सभामुखमार्फत नेपाल सरकारसमक्ष माग गर्दछु ।’
प्रतिक्रिया 4