+
+
Shares
स्थलगत :

५७ विद्यार्थी बचाउने ड्राइभर सुमन

बाढी आइसकेको थियो । ३५-४० जनासम्म अट्ने बसमा सुमनले दुई शिक्षिका समेत गरेर ५९ जना हुले । बस, बाइक सबै छोडेर मानिसहरू भागिरहेका थिए । मान्छेहरू चिच्याउँदै कुदिरहेका थिए ।

सइन्द्र राई आदित्य नेपाल सइन्द्र राई, आदित्य नेपाल
२०८३ असोज ८ गते २२:००
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बेत्रावतीमा भोटेकोशी बाढीले मोडर्न ट्रिनिटी पब्लिक स्कूल बगायो, तर चालक सुमन विश्वकर्माले ५९ विद्यार्थीलाई सुरक्षित निकाले।
  • सुमनले बाढीबारे तेस्रो सूचना पाएपछि बस फर्काएर विद्यालय अगाडि रोकेका थिए, जहाँ नजिकैको घरले बाढी छेक्दा विद्यार्थी भाग्न पाए।
  • विद्यालयका प्रिन्सिपल सुरज डंगोल विद्यार्थी खोज्न जाँदा बेपत्ता भएका छन्, र स्थानीयका अनुसार अरु १२ विद्यार्थी बाढीमा परेका छन्।

८ असोज, उत्तरगया (रसुवा) । भोटेकोशी बाढीपछि बगरमा परिणत भएको बेत्रावतीमा केही भौतिक संरचनाका भग्नावशेषहरू बाँकी छन् ।

धार फेरेको फलाखु खोला घरहरूका भग्नावेश हुँदै त्रिशुली नदीमा मिसिइरहेको छ । सुरक्षाकर्मी र स्थानीयले त्यही घरको भग्नावशेषमा अड्याएर फड्के (अस्थायी पुल) थापेका छन् । फड्के राखिएको स्थान नजिकै दुई वटा स्कूल बस ढल्किएको अवस्थामा देख्न सकिन्छ ।

३ असोजमा अनलाइनखबरको स्थलगत टोली त्यहाँ पुग्दा स्थानीय अनन्तप्रसाद न्यौपानेले यो स्कूल बससँग जोडिएको एक कथा सुनाए । ‘ट्रिनिटी स्कुलको बस हो यो। स्कूल चाहिँ बाढीले बगायो,’ उनले बगेको स्कूल रहेको स्थान देखाउँदै भने।

न्यौपानेका अनुसार विश्व सम्पदा सूचीमा सृचीकृत उत्तरगया धाम नजिकै मोडर्न ट्रिनिटी पब्लिक स्कूल थियो। यहाँ अढाइ सय बढी विद्यार्थी थिए।

‘केही पनि संरचना नरहनेगरी स्कूल बग्यो। तर विद्यार्थीहरू भने सकुशल छन्,’ उनले भने । थप बुझ्दा थाहा भयो, स्कूलका केही पात्रहरूका कारण त्रिशुली नदीको किनारमै रहेको यो स्कूलबाट लगभग सबै विद्यार्थी सकूशल रहन सकेका रहेछन् ।

ड्राइभर सुमनको साहस

अरु दिनजस्तै १० नबज्दै सबै विद्यार्थी स्कूल पर्‍याउनेगरी १० भदौको बिहान पनि सुमन विश्वकर्माले गाडी हाँकिरहेका थिए ।

शिक्षक, स्कूलका कर्मचारी र विद्यार्थीका अभिभावकहरू रहेको ह्वाटस्एप ग्रुपमा अचानक सूचना आयो- ठूलो बाढी आइरहेको छ, सबै घर फर्कनू ।

विद्यार्थीहरूलाई लिन सुमन दोस्रोपटक स्कूलबाट निस्किएका थिए । धारापानी क्षेत्रबाट एक खेप विद्यार्थी ल्याइसकेपछि नौबिसेतिर उनको गाडी जाँदै थियो ।

सुमनलाई जेठानको फोन आयो- ठूलो बाढी आयो रे, घर फर्किनू ।

‘यतिखेर बिहानको पोने नौ जति भएको थियो होला,’ सुमन सम्झन्छन् । तर जेठानको कुरालाई खासै वास्ता गरेनन् । ‘बाढी त पोहोर पनि आएको थियो । त्यस्तै होला जस्तो भयो,’ सुमन सुनाउँछन्, ‘बस रोकिनँ ।’

नौबिसेको पेट्रोल पम्प पुगेपछि केही स्थानीयले उनलाई रोके र भने- ‘खोलामा ठूलो बाढी आएको छ । तलतिर नजाँदा हुन्छ ।’

अब भने सुमन सोच्न बाध्य भए । बाढीबारे उनलाई यो तेस्रो सूचना थियो ।

मान्छेहरू आत्तिएको देखेर सुमनलाई पनि अगाडि बढ्न मन लागेन । उनले प्रिन्सिपललाई फोन गर्न खोजे । त्यसैबेला प्रिन्सिपलकै फोन आयो ।

‘तपाईं त्यहीँबाट फर्किनुस् र भुराहरूलाई सेभ गर्नुस् भन्नु भएपछि म फर्किएँ,’ सुमन भन्छन्, ‘मसँग एउटा वक्कीटक्की थियो। स्कूलका सबै जना बाहिर निस्केर बस्नुस् भनें ।’

सुमनले एकैपटक स्कुल अगाडि मात्र ब्रेक लगाउनेगरी बस हाँके । सबै विद्यार्थी बाहिर निस्किसकेका थिए ।

सुमन विश्वकर्मा, बस चालक ।

३५-४० जनासम्म अट्ने बसमा सुमनले दुई शिक्षिका समेत गरेर ५९ जना हुले । बाढी आइसकेको थियो ।

बस, बाइक सबै छोडेर मानिसहरू भागिरहेका थिए । मान्छेहरू चिच्याउँदै कुदिरहेका थिए ।

‘बाटो खुला थिएन । तर जबजर्स्ती बस अगाडि बढाएँ,’ सुमन सुनाउँछन्, ‘मनमा एउटै कुरा थियो- भुराहरूलाई जसरी पनि जोगाउछु ।’ बसमा उनका आफ्नै दुई नानीहरू पनि थिए । शिक्षिकाहरूकै बच्चा पनि थिए ।

‘आफ्नै छोराछोरी पनि थियो । उनीहरूका साथीहरू पनि मेरै छोराछोरी जस्ता थिए,’ उनले भने, ‘बाटोमा कहाँ-कहाँ ठोक्कियो, केही मतलब गरिनँ।’

त्रिशुली नदीको उल्टो बहाबतिर (माथिल्लो क्षेत्रतिर) बसलाई लगिरहेका थिए । तर बाढीको तेजले बसलाई भेटिहाल्यो । अगाडि बढ्न सकेनन् ।

घरको साथ

अवरुद्ध सडक र छेउमै आइसकेको बाढीका कारण बस रोकेर विद्यार्थी बाहिर निकाल्ने अन्तिम विकल्प थियो । दुई शिक्षिकाको साथ लिएर सुमनले त्यसै गरे ।

‘कुमार दाइको मोबाइल पसल (जुन घरको भग्नावशेष बाँकी छ) अगाडि बस रोके । बाढी घरमा ठोक्किएर गइरहेको थियो,’ उनी सम्झन्छन्, ‘घर नबगेकै कारण बाढी दुईतिर बाँडियो । र हामीलाई भाग्ने समय मिल्यो ।’

त्यो समय सम्झदा सुमनको शरीर अहिले पनि काप्छ । ‘नानीहरू रोएको रोयै छन्, उनीहरूको घरबाट मेरो मोबाइलमा फोन आइरहेको छ,’ उनी भन्छन्, ‘म भने बाढीलाई जित्नेगरी बस कुदाउनेमा छु ।’

सबै विद्यार्थी जोगाएकोमा उनका अभिभावकले सुमनलाई ‘भगवान’ नै भनिरहेका छन् । ‘हाम्रो छोराछोरीलाई बचाइदिनुभयो। तपाईं हाम्रो भगवान हो भन्नुहुन्छ,’ सनलाइनखबरसँग सुमनले भने, ‘मैले त जिम्मेवारी निभाएको हो नि ।’

सुमनसँगै बालबालिका जोगाउने भूमिका खेलेकी शिक्षिका अनुजा अधिकारीका अनुसार बसभित्र चार वर्षदेखि १३ वर्षसम्मका बालबालिका थिए । ‘बस एक मिनेट पनि स्कुल अगाडि आइपुग्न ढिला भएको भए र बाढीलाई त्यो घरले नछेकेको भए हामी सबै बग्ने रहेछौं,’ उनी सम्झन्छिन् ।

विद्यार्थी बचाउन हिंडेका प्रिन्सिपल हराए

सुमनका अनुसार मोडर्न ट्रिनिटी स्कुलका प्रिन्सिपल सुरज डंगोल अत्यन्तै मिलनसार स्वभावका थिए । विद्यार्थीका लागि उनी प्रिन्सिपल मात्र नभएर अभिभावक थिए ।

बाढी आएको सूचना लगत्तै उनी स्कुलतिर ‘कोही विद्यार्थी बाँकी त छैनन्’ भनेर हेर्न आइरहेका थिए । तर स्कूल नपुग्दै बाटोबाटै हराए ।

विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा पुर्‍याइसकेको सन्देश दिन सुमनले प्रिन्सिपल डंगोललाई फोन गरेका थिए । तर फोनै लागेन ।

‘शुरूमा नेटवर्कको समस्याले नलागेको हुन सक्छ जस्तो भयो। तर अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन,’ सुमन भन्छन्, ‘दाई जस्तै लाग्थ्यो। एउटै थालमा कतिपटक खाएका छौं। कहिले पनि ड्राइभर होस्, म प्रिन्सिपल हुँ भनेर भन्नुभएन।’

यति ठूलो काम गरेका सुमनलाई अहिले दुई कुराले पिरोलेको छ । एउटा प्रिन्सिपल छैन भन्ने कुराले र अर्को आफ्नो भाइ हराएकाले । भाइ सुरेश विश्वकर्मा (२९) बाढी गएको दिन टिमुरेमा थिए ।

त्यही क्षेत्रमा ईभी गाडी चलाइरहेका भाइ घट्टेखोला नजिकैबाट बेपत्ता भएका छन् । ‘बाढी गएको दिनदेखि मेरो दिमागले काम गर्न छोडिसकेछ । बेलाबेला झल्झली त्यही दिनको सम्झना आइरहन्छ,’ उनी भन्छन्, ‘त्यसलाई म महाप्रलय भन्छु । एक्कासी आयो, जो-जो जहाँ भेट्यो, सबैलाई लिएर गयो ।’

तर यति विनाशकारी बाढीबाट आफैले स्कूल पुर्‍याएका सबै विद्यार्थी जोगाएको घटनाले भने उनलाई थोरै राहत दिएको छ । स्थानीयका अनुसार स्कूल नपुगेका अरु १२ जना विद्यार्थी बाढीमा परेका छन् ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

आदित्य नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?