News Summary
Generated by OK AI. Editorially reviewed.- टोकियो बिग साइटमा बिहीबारदेखि चार दिने ‘जापान टुरिज्म एक्स्पो २०२६’ सुरु भएको छ, जसमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नौ नेपाली पर्यटन कम्पनी र होटल सहभागी छन् ।
- एक्स्पोमा ७४ देश र जापानका ४६ प्रान्तका १ हजार ४ सय २० कम्पनी तथा संस्थाका १ हजार ५ सय ५३ बुथ छन्, र करिब १ लाख ८० हजार सहभागी हुने अपेक्षा छ ।
- पहिलो दुई दिन ६ हजार ४ सय ५४ बीटुबी बैठक र सेप्टेम्बर २६ र २७ मा बीटुसी कार्यक्रम हुनेछन्, जहाँ नेपाली व्यवसायीले जापानी बजारका लागि पर्यटन प्याकेज र सेवा प्रवर्द्धन गरिरहेका छन् ।
८ असोज, काठमाडौं । जापानको टोकियोस्थित टोकियो बिग साइट अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बिहीबारदेखि चार दिने ‘जापान टुरिज्म एक्स्पो २०२६’ सुरु भएको छ ।
‘भ्रमणको बदलिँदो स्वरूप’ भन्ने मूल नारासाथ आयोजित एक्स्पोमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका नौ पर्यटन व्यवसायी कम्पनी तथा होटल सहभागी छन् ।
जापान ट्राभल एन्ड टुरिज्म एसोसिएसन, जापान एसोसिएसन अफ ट्राभल एजेन्ट्स (जाटा) र जापान नेसनल टुरिज्म अर्गनाइजेसन (जेएनटीओ) को संयुक्त आयोजनामा भएको एक्स्पोको १२औं संस्करण उद्घाटन समारोहमा जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले भिडियो सन्देश मार्फत शुभकामना व्यक्त गरेकी थिइन् ।
यस वर्ष एक्स्पोमा नेपाल सहित विश्वका ७४ देश र जापानका ४६ प्रान्तबाट १ हजार ४ सय २० कम्पनी तथा संस्थाका १ हजार ५ सय ५३ बुथ छन् ।
आयोजकका अनुसार चार दिनसम्म चल्ने एक्स्पोमा करिब १ लाख ८० हजार पर्यटन व्यवसायी तथा पर्यटक सहभागी हुने अपेक्षा छ । अन्तर्राष्ट्रियस्तरका ५ सय ९७ स्टल छन् ।
जापानी पर्यटकका लागि नेपालका हिमाली गन्तव्य, बुद्ध जन्मस्थल लुम्बिनी, सांस्कृतिक सम्पदा, पदयात्रा तथा जैविक विविधता प्रमुख आकर्षणका रूपमा रहँदै आएका छन् । यही बजार लक्षित गर्दै एक्स्पोमा सहभागी नेपाली व्यवसायीले जापानी पर्यटन व्यवसायी तथा उपभोक्तामाझ नेपालको पर्यटन उत्पादन र सेवाको प्रत्यक्ष बजारीकरण गरिरहेका छन् ।
एक्स्पोको पहिलो दुई दिन सेप्टेम्बर २४ र २५ मा व्यावसायिक सहकार्यका लागि पूर्वनिर्धारित ६ हजार ४ सय ५४ वटा बीटुबी बैठक आयोजना भइरहेका छन् । ती बैठकमा ८ सय ५५ क्रेता र १ हजार १९ विक्रेता सहभागी छन् । त्यस्तै सेप्टेम्बर २६ र २७ मा सर्वसाधारणलाई लक्षित बीटुसी कार्यक्रम सञ्चालन हुनेछ ।
पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रदीप गैरेका अनुसार एक्स्पोको पहिलो दिनदेखि नै सहभागी नेपाली पर्यटन कम्पनीहरूले जापानी ट्राभल एजेन्सी तथा व्यवसायीसँग व्यावसायिक भेटवार्ता गरिरहेका छन् ।
उनका अनुसार भेटवार्तामा नेपाली व्यवसायीले जापानी बजारका लागि पर्यटन प्याकेज, पदयात्रा तथा अन्य पर्यटकीय सेवाबारे छलफल गर्नुका साथै हालैको भोटेकोशी बाढीपछि नेपालको पर्यटन क्षेत्रको वास्तविक अवस्था, पर्यटकीय गन्तव्य तथा पदयात्रा मार्गहरूको अवस्था र पर्यटक सुरक्षाका विषयमा समेत जानकारी दिइरहेका छन् ।
एक्स्पो अवधिभरि नेपालको स्टलमा आउने जापानी तथा अन्तर्राष्ट्रिय आगन्तुकलाई श्रव्यदृश्य सामग्री, ब्रोसर तथा अन्य प्रवर्द्धनात्मक सामग्री मार्फत नेपालका प्रमुख पर्यटकीय गन्तव्य, पर्यटन गतिविधि र सेवाबारे जानकारी प्रदान गरिने छ ।
बीटुबी र बीटुसी दुवै माध्यमबाट जापानी बजारमा नेपालको पर्यटन उत्पादनको प्रत्यक्ष प्रवर्द्धन र व्यावसायिक सम्पर्क विस्तारलाई प्राथमिकतामा राखिएको छ ।
प्रतिक्रिया 4